• २४ कात्तिक २०८१, शनिबार

सन्दर्भ : विश्व जनसङ्ख्या दिवस

विश्व जनसङ्ख्या आठ अर्ब पुग्दै सफलताको कथा

blog

विश्व जनसङ्ख्या दिवसले हामी सबैलाई मानवीय उपलब्धिको स्मरण र सराहना गर्ने अवसर प्रदान गर्छ । चुनौती हुँदाहुँदै पनि हाम्रो विश्व इतिहास अहिलेसम्मकै एउटा यस्तो बिन्दुमा छ; जहाँ धेरै मानिस शिक्षित र स्वस्थ जीवन बाँच्ने अवस्थामा छन् । आफ्ना नागरिकको अधिकार र रोजाइमा लगानी गर्ने  समाजले पटकपटक प्रमाणित गरिदिएका छन् कि यही नै सबैले चाहेको र सबैले प्राप्त गर्नुपर्ने समृद्धि र शान्तिको बाटो हो ।

अबको केही महिनामा विश्वमा बसोवास गर्ने मानिसको सङ्ख्या आठ अर्ब पुग्दैछ भन्ने तथ्य मनन गरौँ । यसले धेरैको ध्यान आकर्षित गर्नेछ, बहस पनि हुनेछ । र, धेरै जनसङ्ख्या भयो भनेर मानिसहरू आतङ्कित हुने सम्भावना पनि छ तर त्यसो गर्नु गल्ती हुनेछ । जनसङ्ख्या र वृद्धिदरमा मात्र केन्द्रित गरिने ध्यानले प्रायः दबाबमूलक र प्रत्युत्पादक उपायतर्फ लैजान्छ र मानव अधिकारको क्षय निम्त्याउँछ । जस्तै– बच्चा जन्माउन वा नजन्माउनका लागि महिलाले सामना गर्नुपर्ने दवाब । जसले पहिले नै विद्यमान तीव्र असमानतालाई अझ गहिरो बनाउन सक्छ । जस्तो कि नीतिमार्फत प्रजनन स्वास्थ्य सेवा बन्द गरिदिने वा वृद्धका लागि पर्याप्त निवृत्तिभरण अस्वीकार गर्ने, पहिले नै सेवा र अधिकारबाट वञ्चित गराइएकाहरूलाई अझ सीमान्तीकरण गर्ने । 

जनसङ्ख्याको कथा सङ्ख्यामा मात्र व्यक्त गर्नेभन्दा धेरै गुणा मूल्यवान र अत्याधिक सूक्ष्म छ । आज यो विश्वमा धेरै मानिस हुन सक्लान् तर उत्तिकै महìवपूर्ण कुरा भनेको अभूतपूर्व जनसाङ्ख्यिक विविधता हो; जुन हामी आजको विश्व जनसङ्ख्यामा देख्न सक्छौँ । अहिले बढ्दो सङ्ख्यामा देशहरूले वृद्धावस्थाको जनसङ्ख्याको सामना गरिरहेका छन् र विश्वको कुल जनसङ्ख्याको लगभग दुईतिहाइ हिस्सा अहिले न्यून प्रतिस्थापन प्रजनन क्षमता वा प्रतिमहिला २.१ भन्दा कम जन्म भएको देश वा क्षेत्रमा बसोवास गर्छन् । अन्यमा युवामय र बढ्दो जनसङ्ख्या छ । धेरै मानिस या त आफ्नै रोजाइले वा द्वन्द्वदेखि जलवायु परिवर्तनसम्मका सङ्कटद्वारा प्रभावित भएर बसाइँ सरिरहेका छन् । अवसरहरूको उपयोग गर्न र सम्भावित नकारात्मक अवस्थालाई कम गर्न यी परिवर्तन बुझ्न निकै महìवपूर्ण छ । 

मानिसहरू समाधान हुन्, समस्या होइनन् । यूएनएफपीएमार्फत हामी जनसाङ्ख्यिक परिवर्तनको मापन र पूर्वानुमानका लागि वकालत गर्छौं । विविध जनसाङ्ख्यिक समूहको आवश्यकता पूरा गर्न र व्यक्तिहरूले आफ्नो पूर्ण क्षमता महसुस गर्न सक्ने कुरा सुनिश्चित गर्न प्रत्येक देशसँग आवश्यक सूचना र जानकारी हुनुपर्छ । 

यो जनसाङ्ख्यिक लचिलोपन (डेमोग्राफिक रिजिलियन्स)को प्राप्ति मानिसको सङ्ख्याको गणना मात्र होइन, बरु प्रगतिको अवसर तथा प्रगतिको बाटोमा उभिएका अवरोधको गणना गर्ने प्रतिबद्धतासँगै सुरु हुन्छ । यसले व्यक्ति र समाजलाई पछाडि धकेल्ने विभेदकारी मूल्य मान्यताको रूपान्तरणका लागि आह्वान गर्छ । यसले हामीलाई त्यस्तो अर्थतन्त्रतर्फ लैजान्छ; जसले सीमित मानिसका लागि मात्र नभएर सबैका लागि काम गर्छ । यसले स्रोतको उचित र स्वच्छ प्रयोगतर्फ लैजान्छ; जसका कारण हामी जोखिम कम गर्न सक्छौँ र वर्तमान र भविष्यका सन्ततिको आवश्यकता पूरा गर्न सक्छौँ । हामी प्रत्येक मानिस एउटा सङ्ख्याभन्दा निकै बढी हौँ, एउटा मानव परिवारजस्तै । सङ्ख्याहरू महìवपूर्ण छन् तर सावधानीपूर्वक गणना गरौँ । आठ अर्बको लचिलो संसार, एउटा त्यस्तो संसार जसले व्यक्तिगत अधिकार र रोजाइको प्रवद्र्धन गर्छ, जसले अनन्त सम्भावना प्रस्तुत गर्छ– मानिस, समाज र हाम्रो साझा विश्वको उन्नति र समृद्धिका सम्भावनाहरू ।

विश्व जनसङ्ख्या दिवस ११ जुलाई २०२२ को अवसरमा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)का कार्यकारी निर्देशक डा. नतालिया कनेमले दिनुभएको वक्तव्य । यूएनएफपीए संयुक्त राष्ट्रसङ्घको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी एजेन्सी हो ।

Author

डा. नतालिया कनेम