• २४ कात्तिक २०८१, शनिबार

गिरिधारी र भानुभक्तबीचको झगडा

blog

भानुभक्तका जीवनीका विभिन्न घटना र तिथिमितिमध्ये गिरिधारीसँग भएको झगडालाई महìवपूर्ण घटनाका रूपमा लिइन्छ । गिरिधारीले भानुभक्तसँग पहिलो बगर खेत र दोस्रो बाँधकुलोसम्बन्धी दुई पटक झगडा गरेका छन् । पहिलो झगडाको तिथिमितिमा जीवनी लेखकबीच मतान्तर देखिए पनि दोस्रो झगडाका बारेमा मतान्तर देखिँदैन । यो लेख मतान्तर विश्लेषणतिरभन्दा गिरिधारीले भानुभक्तसँग किन झगडा गरे भन्ने विषयमा केन्द्रित छ । 

प्रथमतः बगर मुद्दासम्बन्धी पहिलो झगडालाई हेरौँ । वि.सं. १९४८ मा भानुभक्तको जीवनीमार्फत बगर मुद्दा प्रकाशमा ल्याउने मोतीराम भट्ट हुन् । यिनले दोस्रो झगडालाई प्रकाशमा ल्याएका छैनन् । गिरिधारी र भानुभक्तबीच यो मुद्दा वि.सं. १९०६ मा भएको बताइएको छ । बगर मुद्दाका विषयमा मतान्तर नदेखिए पनि मुद्दा भएको विक्रम संवत्का बारेमा मतान्तर देखिएको छ । बाबुराम आचार्यले अन्दाजी वि.सं. १९११/१९१२ तिर र नरनाथ आचार्यले वि.सं. १९१४/१९१५ तिर यो मुद्दा भएको हो भन्ने मतान्तर प्रकट गरेका छन् । एक जना खोजकर्ताले वि.सं. १९०६ मा बगर मुद्दामा नभई आफन्तसँग चिनजान गराउन पिता धनञ्जय आचार्यले पुत्र भानुभक्तलाई काठमाडौँ पठाएको र वि.सं. १९२० पछि यी दुई जनाबीच बाँधकुलो र साँध सिमानासम्बन्धी दुईवटा झगडा भएको बताएका छन् तर वि.सं. १९०४ को पुसतिर काशीको मणिकर्णिका घाटमा धनञ्जय आचार्यको देहान्त भएकाले वि.संं. १९०६ तिर भानुभक्त पितृहीन देखिन्छन् ।

भानु लिखित कविताका आधारमा पनि बगर मुद्दा हेर्न सकिन्छ । मोतीरामको अनुसरण नगरी लेखिएका भानु जीवनीले आनुवंशिक अनुश्रुतिका आधारमा पहिलो मुद्दाको श्लोकलाई दोस्रो मुद्दासँग गाँसेका छन् । प्रथम प्रकाशित कविताकै आधारमा यो मुद्दा हेर्दा भानुभक्तले आफ्ना पक्षमा प्रमाणस्वरूप तत्कालीन ऐन सवाल, स्रेस्ता, सदन, जग्गाभोग चलनका दसी र साछी छन् भनेका छन् । उनले यी प्रमाण साबित नठहरे तत्कालीन ऐनले तोकेअनुसार एक दाम नराखी तोकेजति दण्ड (गुनागहार) तिर्नेछु भनी निजामती विभागका प्रमुख कम्यान्डिङ जनरल कृष्णबहादुर राणालाई बिन्तीपत्र चढाएका छन् । कविको कवितात्मक बिन्तीपत्रले बगर मुद्दामा उनका प्रमाण बलिया छन् भन्ने देखाउँछ । यसमा गिरिधारीले भानुभक्तसँग बगर मुद्दा गर्नुपर्ने कारण र प्रामाणिक जिकिर उल्लेख गरिएको छैन । कवितालाई आधार मान्दा के भन्न सकिन्छ भने गिरिधारीले कमजोर प्रमाण लिएर भानुभक्तसँग बगर मुद्दा गरेको देखिन्छ । 

अर्को तत्कालीन ऐन सवालको कोणबाट समेत यस मुद्दालाई हेर्न सकिन्छ । वि.सं. १९१० पुस २२ गते लागू भएको मुलुकी ऐन जङ्गबहादुरको बेलायत यात्रापूर्व नै अभिलेखीकरण गर्न सुरु भएको हो । त्यस ऐनमा खोलो साँध भएको बगरको भोग चलनसम्बन्धी व्यवस्था छ । पहिले खोलाले मिचेर बेहिसाबसँग भानुभक्तको जग्गा खायो र गिरिधारीको खेतपट्टि बगर बनायो । गिरिधारीले बगर बिराएर खेत बनाए, उब्जनी खाए । पछि गिरिधारीको पट्टि खोलाले मिचेर बेहिसाबसँग खेत खायो र भानुभक्तको खेतपट्टि बगर बन्यो । अनि भानुभक्तले बगर बिराएर खेत बनाए, उब्जनी खाए । तत्कालीन ऐनले यसरी खोलो साँधको खेतको बगर बिराएर उब्जनी खानुलाई कानुनी मान्यता दिएको देखिन्छ । यो प्रचलित कानुनी मान्यताविपरीत गिरिधारीले भानुभक्तसँग बगर मुद्दा गरेका छन् । 

तिनताका खोलाले मिचेर जति बेहिसाबसँग जसको खेत खाए पनि सँधियारले बगर बनाउने र उब्जनी खाने चलन रहेछ । बेहिसाबसँग खोलाले खेत मिच्नु भनेको धेरै नै खेत खाइदिनु हो । यहाँ ऐनअनुसार भानुभक्तको हकदैया पुग्दापुग्दै पनि गिरिधारीले तत्कालीन ऐनले आफूप्रति अन्याय गरेको ठानेछन् । नत्र बगर मुद्दा उछाल्नुपर्ने र भानुभक्तसँग झगडा गर्नुपर्ने अर्को कारण देखिँदैन । खोलो साँध भएका खेतमा गिरिधारीलाई झैँ खोलाले बेहिसाबसँग खेत मिचेर कतिलाई अन्याय भएको हुँदो हो । गिरिधारी प्रचलित ऐनको व्यवस्थाले गरेको अन्यायका विरोधमा उठे भने भानुभक्त प्रचलित ऐनअनुसार चले । 

प्रचलित ऐनको अन्यायका विरुद्ध उठेका कारण भानुभक्तसँग गिरिधारीको झगडा भएको देखिन्छ । अचेलको कानुनी व्यवस्थाअनुसार कसैलाई पनि वि.सं. १९०६ तिरका गिरिधारी वा भानुभक्त बन्नु पर्दैन । किनभने खोलाले साँध मिच्यो र बगर बनायो भन्दै अर्काको नापनक्साभित्रको बगर गिरिधारी वा भानुभक्तले झैँ बिराएर उब्जनी खान पाइँदैन । 

बगर मुद्दासम्बन्धी झगडालाई अर्को ऐतिहासिक कोणबाट पनि हेर्न सकिन्छ । जुन समयमा यो मुद्दा भएको थियो, त्यस समयमा जङ्गबहादुर राणा आफ्नो बेलायत यात्राका निम्ति पूर्वतयारी गर्दै थिए । त्यसैले वि.संं. १९०६ को शरद ऋतुमा जङ्गबहादुरले पाल्पाका प्रशासक भाइ कृष्णबहादुरलाई काठमाडौँ झिकाई नेपालको निजामती विभागको प्रमुख बनाए । गिरिधारीले झगडा गरिदिएकाले भानुभक्तले निजामती विभागका प्रमुखको चाकडी गर्न पाए । हुन त भानुभक्तको ‘जीवनीका मतान्तरको तुलनात्मक विश्लेषण’ (२०७९ः८८–९०) अनुसार भानुभक्त र कृष्णबहादुरबीच पाल्पादेखि नै चिनजान भएको देखिन्छ तर यस बगर मुद्दामा भानुभक्तले कृष्णबहादुरको विशेष चाकडी गर्ने मौका पाए ।

मुद्दा नछिनिँदै वि.सं. १९०६ को पुस–माघतिर जङ्गबहादुर बेलायत यात्रामा निस्के । गिरिधारीको खेत बेहिसाबसँग खोलाले खाए पनि तत्कालीन ऐनअनुसार न्यायको तराजु भानुभक्ततिरै ढल्क्यो । झगडामा गिरिधारीको हार र भानुभक्तको जित भयो । झगडा जितेपछि वि.संं. १९०७ को वैशाखमा कृष्णबहादुरबाट भानुभक्तले तराईतिरको जागिरसमेत पाए । भानुभक्तलाई जागिर खुवाउन गिरिधारीले झगडा गरेका होइनन् तर परिणामले भानुभक्तलाई जागिरे बनाइदियो । 

गिरिधारीले भानुभक्तसँग गरेको बाँधकुलाको मुद्दासम्बन्धीे दोस्रो झगडा हेरौँ । यस मुद्दामा व्रतराज आचार्य लिखित ‘आदिकवि भानुभक्त’ (२०७० ः १२२–१२३) मा भानुभक्त आचार्यको हस्तलिखित इजाहारको एउटा खेस्रा तथ्यछवि (फ्यासिमिली) इजहार र अर्को ईश्वर बराल सम्पादित ‘सयपत्री’ (२०१३) नामक कृतिमा साफी बेहोराको मुद्रित इजहार भेटिन्छ । यो दोस्रो मुद्दामा भानुभक्तले लेखेको कविता र इजहारबाहेक अन्य प्रमाण फेला पर्दैनन् । 

भानुभक्त लिखित कविताले के बताउँछ भने वि.सं. २०२० सम्म पुरानो बाँधकुलाबाट जेनतेन खेत रोपिएको थियो तर वि.सं. १९२१ मा बाढी आयो, बाँध खोलियो, बगायो, पानीले बाँधका ढुङ्गा छोपिए, त्यस ठाउँमा पस्दा बगिने डरले बाँध लगाउन सकिएन । अनि गिरिधारीसहित भाट, अचार्ज, ढकाल र अज्र्याल गरी चार थरका सबै मोहीको मतो मिल्यो र पुरानो बाँधभन्दा केही माथि बाँध लगाइयो, नयाँ कुलो खनी पानी चलाइयो, खेत रोपियो । पहिले अन्य मोहीसरह बाँध लगाउन र खेत खनेर कुलो बनाउन गिरिधारी सहमत थिए तर पछि असहमत भई यो बाँधकुलोसम्बन्धी झगडा गरे । यिनी भर विश्वास नभएका मानिस हुन् । 

भानुभक्तका निम्ति गिरिधारी अविश्वासी र भर नभएका मानिस बने भन्ने कुरा खेस्रा वा तथ्यछविको इजहारमा भेटिन्छ । अर्को साफी र मुिद्रत इजहारमा भेटिन्न । खेस्रा र साफी बेहोराका दुवै इजहारले पुरानो बाँधकुलाले भन्दा नयाँ बाँधकुलाले मोहीलाई फाइदा पुग्ने बताएका छन् । बर्सात नहुँदा पुरानो बाँधकुलाबाट पानी नचल्ने, छिटो बीउ राख्न नपाइने र धान पसाउने बेलातिर कुलामा पानी चल्न नसक्ने रहेछ भने ठीक यसको उल्टो बर्सात नहुँदा पनि नयाँ बाँधकुलाबाट पानी चल्ने, छिटो बीउ राख्न पाइने र धान पसाउने बेलामा पनि कुलामा पानी चल्ने र खेतमा पानी लगाउन पाइने रहेछ । यहाँ भानुभक्तले पुरानो बाँधकुलाबाट भन्दा नयाँ बाँधकुलाबाट खेतका चार थरका मोहीलाई सामूहिक फाइदा पुग्ने देखे, गिरिधारीले यो सामूहिक लाभहानितर्फ ध्यान दिएको देखिएन । उनले पुरानै बाँधकुलाबाट पहिले चलाएजस्तै गरी पानी चलाऔँ भन्ने आग्रह राखी भानुभक्तसँग झगडा गरे । 

गिरिधारीमा यो आग्रह किन देखियो ? भन्ने कुरा भानुभक्त लिखित खेस्रा इजहारमा फेला पार्न सकिन्छ । बर्सात नभएकाले पुराना बाँधबाट वि.सं. १९२१ असार ८ गतेसम्म कुलामा पानी चलेको थिएन । असार ९ गते ठूलो बर्सात भई चुँदी खोलामा बाढी आयो र बाँध बगायो । अनि गिरिधारीसहित उल्लिखित चार थरका मोही मिलेर नयाँ बाँध लगाए, नयाँ कुलो खने । खेस्रा इजहारले थप के बताउँछ भने भानुभक्तका कान्छा बाबु इन्द्रविलासका छोरा चतुर्भुज, ठाहिँला बाबु गङ्गादत्तका छोरा वेद शर्मा र साहिँला बाबुका जेठा छोरा गौरीदत्तसहित तीन जना मिलेर भानुभक्तसँगको रिसले वि.संं. १९२१ मै पुरानो बाँध बनाएर कुलामा पानी चलाए । पुरानो ठाउँको बाँधकुलो सिद्ध भएकाले गिरिधारीका दृष्टिमा नयाँ बाँध र कुलाको आवश्यकता देखिएन ।

यहाँ भानुभक्तका बाबुका छोराहरूले समेत नयाँ बाँधकुलो अनावश्यक ठाने तर भानुभक्तसँग झगडा गरेनन् । गिरिधारीले भानुभक्तका बाबुका छोराहरूसँग मिली पुरानो बाँध बाँधेर कुलामा पानी चलाएको देखिन्न । उस मौका (नयाँ बाँध र कुलो बनाउने समय)मा गिरिधारी सल्लाहबमोजिम भानुभक्तसँग सहमत थिए ।

नयाँ बाँधकुलो मात्र हुँदो हो त गिरिधारीको मत परिवर्तन नहुने देखिन्छ । अरूले पुरानो बाँधकुलो सिद्ध गराई पानी चलाइदिएका कारण नयाँ बाँधकुलो बनाउन दिएको गिरिधारीको पूर्वसहमतिमा परिवर्तन आएको छ । यसरी उल्लिखित पहिलो बगर मुद्दामा प्रचलित ऐनमा भएको व्यवस्थाविरुद्ध र दोस्रो बाँधकुलो मुद्दामा पछि खनिएको नयाँ बाँधकुलो अनावश्यक छ भनी गिरिधारीले भानुभक्तसँग झगडा गरेको देखिन्छ ।

Author

प्रा.डा. शर्वराज आचार्य