• २० असोज २०८१, आइतबार

मङ्किपक्सको प्रकोप : विश्व आपत्काल घोषणा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ९ गते । विश्व स्वास्थ्य सङ्गठनले मङ्किपक्स भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । मङ्किपक्सको प्रकोप विश्वव्यापी हुँदै गएपछि सङ्गठनले विश्वव्यापी आपत्काल घोषणा गरेको हो । 

मङ्किपक्सको प्रकोप विश्वका ७५ देशमा फैलिइसकेको छ भने हालसम्म पाँच जनाको मृत्यु भएको छ । यस्तै १६ हजारभन्दा बढी मानिसलाई मङ्किपक्सको पुष्टि देखापरेको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ‘मङ्किपक्स भाइरस’ नेपालमा पुष्टि नभए पनि जोखिम भने रहेको बताउनुभयो । 

सरुवा रोग भएकोले मङ्किपक्सको जोखिम रहन सक्ने भन्दै विदेशबाट आउने मानिसलाई विशेष निगरानीमा राखिनुपर्ने उहाँले बताउनुभयो । भारतमा समेत मङ्किपक्सका बिरामी देखिन थालिसकेको अवस्थामा नेपाल त्यसबाट जोखिममा छैन भन्न नमिल्ने उहाँको भनाइ छ । 

मङ्किपक्स अफ्रिकी मुलुक तथा युरोप, अमेरिकालगायतका देशमा फैलिइरहेको छ । पछिल्लो समय भारतमा समेत मङ्किपक्स पुष्टि भइसकेको छ । मङ्किपक्स भाइरस पहिलो पटक सन् १९५८ मा अनुसन्धानमा राखिएका बाँदरमा देखिएको थियो । यही कारणले यो भाइरसको नाम मङ्किपक्स राखिएको हो ।