• २८ भदौ २०८१, शुक्रबार

पाँच वर्षपछि लिमीमा मोबाइल सेवा सुचारु

blog

लिमीमा नयाँ जडान भएर सञ्चालनमा आएको मोबाईलको टावर । तस्बिर – राजन रावत, हुम्ला

राजन रावत

हुुम्ला, भदौ ३० गते । नाम्ला गाउँपालिका – ६ को हिमालपारिको गाउँ लिमीमा मोबाइल सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमको मोबाइल टावर निर्माण कार्य पूरा हुँदा मोबाइल सेवा सञ्चालनमा आएको हो । 

लिमीका वडा अध्यक्ष पाल् जोर तामाङले नेपाल टेलिकमको मोबाइल सेवा लिमाकी तीन गाउँमा सुचारु भएको बताउनुभयो । उहाँले मोबाइल सेवा सञ्चालनमा आएपछि लिमीबासी पूर्ण रूपमा सञ्चारको पहुँचमा पुगेको बताउनुभयो ।

उहाँले लिमीवासीको मोबाइलमा कुरा गर्ने सपना बल्ल पूरा भएको बताउनुभयो । यसअघि लिमीमा सञ्चारको माध्यम भनेको टेलिकमकै एक लाइन भिस्याट ल्याण्ड लाइन टेलिफोन सेवा थियो । अब लिमीका तीन वटै गाउँ, तील, हल्जी र जाङ्ग गाउँमा मोबाइल सेवा सुचारु भएको छ । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले निक्कै प्रयासका बाबजुद लिमीमा टावर निर्माण कार्य पूरा भएर मोबाइल सेवा सञ्चालनमा आएको बताउनुभयो । लिमीमा हाल सञ्चालनमा आएको नेपाल टेलिकमको टुजी मोबाइल सेवा हो । यसअघि नाला लेकमा टेलिकमले टावर निर्माण गरेर यारी क्षेत्रमा मोबाइल सेवा सञ्चालनमा आएको थियो ।