• २९ कात्तिक २०८१, बिहिबार

तिहार नजिकिएसँगै माटोको पाला बनाउन व्यस्त

blog

भक्तपुर, असोज २८ गते । भक्तपुरस्थित ‘कुमाले टोल’ । कोही माटोको पाला बनाउन माटो मिलाउँदै छन् भने कोही चक्का घुमाउँदै पालालाई आकार दिँदै छन्। कतिपय भने सुकाएर पोलेपछि तयार गरिएको पाला बजार पठाउन व्यस्त देखिन्छन्। 

तिहार नजिकिएसँगै माटाको पालामा दियो बाल्ने दिन पनि नजिकिँदा पाला बनाउन भ्याइनभ्या छ कुमालेलाई। वर्षमा यही सिजनमा पाला धेरै बिक्री हुने भएपछि बोल्नसम्म पनि फुर्सद नभएको देखिन्थे कतिपय कुमाले। तिहारमा घरआँगन झिलिमिली गर्न तथा लक्ष्मीको पूजाअर्चना गर्न माटोको पाला चोखो मानिँदै आएको छ। 


पाला बनाउन व्यस्त कृष्णलाल प्रजापतिले अहिले कुमाले समुदायको दिनचर्या नै पाला तयार गर्ने कार्यमा बित्ने गरेको जानकारी दिनुभयो। तिहारमा दियो (पाला)को उच्च माग हुने भएपछि यतिखेर अन्य माटाका भाँडा बनाउने काम थाती राखेको उहाँले बताउनुभयो। 

तिहारमा लक्ष्मीपूजाका लागि बाहिरी जिल्लाबाट समेत पालाको माग आउने भएकाले पाला बनाउने काममा व्यस्त भएको प्रजापतिले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “कोरोनाका कारण माग धेरै घटेको थियो। यो वर्ष माग बढेको छ।” 

पुर्ख्याैली पेसा माटोको भाँडा बनाउने जानकारी दिँदै उहाँले २५ वर्षदेखि यही काम गर्दै आउनुभएको बताउनुभयो। माटाको भाँडा बनाउने काम सजिलो छैन भन्दै प्रजापतिले थप्नुभयो, “बस्ती बाक्लिएका कारण माटोको पाला र भाँडा बनाउने कच्चा पदार्थ कालो माटो सजिलै पाइन्न। कमाउने बेला भनेको तिहार नै हो।” 

यस्तै बुद्धिराम प्रजापतिले विगत ४० वर्षदेखि यही काम गर्दै आउनुभएको छ। पाला बनाउँदै गर्नुभएका उहाँले भन्नुभयो, “यो बेला त परिवारका सबै खट्नुपर्छ। दिनमा दुई हजारदेखि पाँच हजार पाला बनाउनुपर्छ। माटोको काममा परिश्रम ज्यादा हुन्छ। पुख्र्यौली पेसा भएकाले त्यत्तिकै छोड्न सकिन्न।”

उहाँको परिवार सबैले यही काम गर्छन्। “परिवार नै नलागी पाला बनाउन सम्भव पनि छैन,” प्रजापतिले भन्नुभयो। उहाँले परिवारका सबै चार सदस्य यही काममा छौँ भन्नु्भयो। पालाका खुद्रा तथा होलसेल दुवै ग्राहक भएको प्रस्ट पार्दै उहाँले भन्नुभयो, “यहीँबाट आएको आम्दानीले घर चलाउने हो, तिहार मनाउने हो।” लक्ष्मी भित्र्याउन माटोको पाला नै बाल्नुपर्ने मान्यता रहेकाले पालाको माग बढ्दो रहेको उहाँले बताउनुभयो।

माटोको भाँडा बनाउन अहिले प्रविधिको सहयोगले धेरै सहज भएको उहाँको अनुभव छ। “पहिले–पहिले हामीले सुरुमा माटोलाई खुट्टाले फुटाउँथ्यौ, अहिले त्यसका लागि मेसिन प्रयोग गर्छौं। त्यसपछि भाँडा बनाउन चक्र हातले घुमाउनुपर्थ्याे , अहिले मोटर प्रयोग गर्छौं। पहिले सामान्य तरिकाले पोल्थ्यौँ भने अहिले आधुनिक भट्टी प्रयोग गर्छौं,” उहाँले भन्नुभयो।

अहिले भक्तपुर, तालक्वका कुमाले मात्र होइन सुजमारी, लिवाली, तुमुचो, च्याम्हासिंह र सूर्यविनायकका कुमालेसमेत अन्य भाँडा बनाउने कार्य थाती राख्दै पाला बनाउन तल्लीन छन्।

विशेषगरी धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलिमिली बत्ती बाल्ने गरिन्छ। धनकी देवी लक्ष्मीलाई घर भित्र्याउन तिहारमा झिलिमिली बत्ती बाल्ने परम्परा छ। लक्ष्मीपूजाका दिन दीपावली गर्दा घरको दैलो, झ्यालढोका, कौसी, बरन्डालगायत स्थानमा पालाको दियो बाल्ने परम्परा छ।

पछिल्लो समय तिहारमा विद्युतीय बत्तीको मागसमेत उच्च हुने गरेको छ। तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलिमिली पार्ने गरिए पनि अनिवार्य रूपमा दियो पनि बाल्नुपर्ने परम्परा छ।

केही वर्षअघि मैनबत्ती बाल्ने प्रचलन भए पनि दियोजस्तो सुरक्षित नभएपछि मैनबत्ती बिस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारी रामप्रसाद प्रजापतिले बताउनुभयो। 

जिल्लामा उत्पादित पाला उपत्यकालगायत काभ्रेको बनेपा, धुलिखेल, पनौती, धादिङको धादिङबेँसी, नुवाकोटको त्रिशूलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीले लैजाने गरेको जनाइएको छ।