• १ असोज २०८१, मङ्गलबार

सात करोड लिटर दूध उत्पादन

blog

काठमाडौँ, कात्तिक ३० गते । मुलुकभर रहेका छ हजार ४८६ व्यावसायिक पशुपालन फार्मबाट सात करोड लिटर दूध उत्पादन हुने गरेको सर्वेक्षणले देखाएको छ। 

खाद्य तथा कृषि सङ्गठनको आर्थिक तथा प्राविधिक सहयोगमा  कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालय (तत्कालीन केन्द्रीय तथ्याङ्क विभाग)ले गरेको व्यावसायिक पशुुपालन एकीकृत सर्वेक्षण, २०७८ अनुसार दूधको उत्पादन वार्षिक छ करोड ९० लाख ३४ हजार ५४८ लिटर हुने गरेको छ। ९१४ वटा व्यावसायिक भैँसीपालन फार्मबाट दुई करोड ३२ लाख ३१ हजार ९१ लिटर दूध उत्पादन हुने गरेको छ। सबैभन्दा धेरै  भैँसीको दूध उत्पादन गण्डकी प्रदेशबाट ८३ लाख  ८८ हजार १८३ लिटर उत्पादन भएको देखिएको छ। 

यस्तै एक हजार २३३ गाईपालन फार्मका १५ हजार ३८० गाईबाट चार करोड ५८ लाख तीन हजार ४५७ लिटर उत्पादन भएको सर्वेक्षणले देखाएको छ। गाईको दूध उत्पादनमा बागमती प्रदेश अग्र स्थानमा छ। मुलुकभर व्यावसायिक रूपमा सञ्चालनमा रहेका मध्यम तथा ठूला पशुपालन फार्मबाट नमुना सङ्कलन गरेर सर्वेक्षण गरिएको मन्त्रालयले जनाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशु सचिव डा. दीपककुमार खनालले व्यावसायिक पशुको तथ्याङ्क सङ्कलनले दीर्घकालीन रणनीति र कानुन बनाउन सहज हुने बताउनुभयो।  

निर्वाहमुखी पशुपालन प्रणालीले देशको विकास नहुने हुँदा राष्ट्रिय आम्दानी बढाउन व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ। सर्वेक्षणअनुसार नमुना लिइएका मुलुकभरका छ हजार ४८६ व्यावसायिक पशुपालन फार्मअन्तर्गत एक हजार २३३ गाईपालन फार्म, ९१४ वटा भैँसीपालन फार्म, ४३ वटा राँगापालन फार्म, दुई हजार २९५ वटा बाखा/च्याङ्ग्रापालन फार्म, ५७२ वटा भेडापालन फार्म, ११८ वटा मासु प्रयोजनका लागि र ३६४ वटा पाठापाठी उत्पादनका लागि सुँगुरपालन फार्म रहेका छन्। सर्वेक्षणबाट नेपालमा ४४ हजार ८७३ वटा गाई/गोरु व्यावसायिक रूपमा पालिएको देखाएको छ। तीमध्ये उन्नत जातका ३३ हजार  ७५७ रहेका छन्। दूध दिने गाईको सङ्ख्या १५ हजार ३८० र  नदिनेको सङ्ख्या नौ हजार १०४ रहेको  छ। 

सबैभन्दा बढी नौ हजार ३६४ वटा गाई/गोरु बागमती प्रदेशमा र सबैभन्दा  कम दुई हजार २७४ वटा सुदूरपश्चिममा रहेको सर्वेक्षणले देखाएको छ। 

यस्तै नेपालमा ३४ हजार ६५३ वटा राँग/भैँसी व्यावसायिक रूपमा पालिएको सर्वेक्षणले देखाएको छ। जसमध्ये उन्नत जातका राँगा÷भैँसीको सङ्ख्या २४ हजार ४४७ रहेकोमा दूध दिने १० हजार ८४१ र नदिने छ हजार ९३१ रहेको छ। सबैभन्दा बढी राँगाभैँसीको सङ्ख्या ११ हजार ४६९ वटा भैँसी गण्डकी प्रदेशमा र सबैभन्दा कम एक हजार ६३० वटा सुदूरपश्चिम प्रदेशमा रहेको सर्वेक्षणले देखाएको छ। यस्तै दुई हजार २९५ वटा बाख्रा/च्याङ्ग्रापालन फार्ममा एक लाख  ५० हजार  ५६८ वटा बाख्रा व्यावसायिक रूपमा पालिएको छ, जसमध्ये उन्नत जातका बाख्राको सङ्ख्या ६७ हजार रहेको छ। सर्वेक्षणले सबैभन्दा बढी बाख्रापालन प्रदेश १ मा र कम मधेश प्रदेशमा रहेको देखिएको छ। 

५७२ भेडा फार्ममा व्यावसायिक रूपमा पालिएका भेडाको सङ्ख्या ८८ हजार ४२१ रहेको पाइएको छ। सबैभन्दा बढी  भेडा कर्णाली प्रदेशमा र सबैभन्दा कम मधेश प्रदेशमा रहेका छन्। व्यावसायिक रूपमा पालिएका सुँगुरको सङ्ख्या ३८ हजार ३६० रहेको देखिएको छ। जसमा सबैभन्दा बढी प्रदेश १ र कम मधेश प्रदेशमा रहेको सर्वेक्षणले देखाएको छ। यस्तै दुई हजार ९६६ व्यावसायिक फर्मले बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएको र तीन हजार  ५२० फार्मले ऋण नलिएको देखिएको छ। यस्तै ती फार्ममध्ये दुई हजार २९ व्यवसायले  पशुपालनका लागि सरकारबाट अनुदान प्राप्त गरेको र चार हजार ४५७ वटाले नलिएको पाइएको छ। यस्तै तीन हजार ६८५ व्यवसायले पशु बीमा गरेको र दुई हजार ८०२ ले नगरेको सर्वेक्षणले देखाएको छ।