• १ साउन २०८१, मङ्गलबार

मानुङ्गकोटको मोहनी

blog

एकाबिहानै उजाड डाँडाको टुप्पोमा मान्छेको भीड देखेपछि पहिलो पटक पुग्ने धेरैलाई लाग्नसक्छ, “त्यहाँ जात्रा वा पर्व लागिरहेको छ ।” तर त्यतिखेर त्यहाँ कुनै पर्व वा जात्रा लागेको भने होइन । हरेक दिन बिहान झिसमिसेमै मान्छेको भीड भने लाग्ने गर्छ । झट्ट हेर्दा आममानिसले गाउँघरतिर देख्दै भोग्दै आएका उजाड पहाडजस्तो देखिने यो ठाउँको नाम हो– मानुङ्गकोट । 

तनहुँको ब्यास नगरपालिका–५ मा पर्ने मानुङ्गकोट अहिले युवा, वृद्धा तथा साना उमेरका नागरिकका लागिसमेत आकर्षक गन्तव्य बनेको छ । अर्थात् ‘भाइरल डाँडो’को नामले मुलुकभर चर्चित छ । भाइरल हुनुको कारण पनि खासै ठूलो छैन । दमौली बजारका शिरैमा पर्ने यो डाँडोबाट तलतिर हेर्दा उक्त बजार देखिँदैन, न त कुनै गाउँ नै देखिन्छ । देखिन्छ त केवल बादल र टलक्क टल्केका हिमालको मधुरो दृश्य । बजारभन्दा माथि ढकमक्क बसेको बादल नै यहाँको मुख्य आकर्षण हो । बादललाई पृष्ठभूमिमा पारेर तस्बिर लिने, भिडियो बनाउने र टिकटक बनाउनेहरूको हिजोआज भीड लाग्ने गरेको छ । चुचुरोको तलतिर रहेको भीरको अवलोकन पनि यो ठाउँमा आकर्षण बढ्नुको अर्को कारण रहेको छ ।

फोटो तथा भिडियो खिचेर फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालमा राख्नेहरू बढेपछि झन् यो ठाउँको चर्चा निकै चुलिएको छ । साथीमार्फत राम्रो ठाउँ हो भन्ने जानकारी पाएको र आफूले पनि टिकटकमा देखेपछि मानुङ्गकोट घुम्न आएको बताउँदै गोरखा बजारका रविन श्रेष्ठले भन्नुभयो, “ठाउँ राम्रो छ तर यसलाई अझै व्यवस्थित गर्ने हो भने घुम्ने बानी परेका नेपालीलाई आकर्षण गर्न सकिन्छ ।” 

दमौली बजारबाट ७ किलोमिटरको दूरीमा रहेको यो ठाउँमा सवारीसाधनमा जाँदा आधा घण्टामा पुगिन्छ । बाटोको अधिकांश ठाउँमा कालोपत्रे गरिएको भए पनि केही भाग कच्ची छ । कच्ची बाटो कतै धुलाम्मे छ भने कतै डल्ला ढुङ्गा । हिउँदमा जान खासै समस्या छैन तर बर्खाको समयमा भने अलि कठिन हुन्छ किनकि त्यो समयमा बाटो हिलो हुन्छ, सवारीसाधन चिप्लने वा फस्ने जोखिम पनि रहन्छ । त्यही भएर वर्षाको समयमा स्थानीय बासिन्दाबाहेक अन्य पाहुनाको आउजाउ खासै धेरै हुन्न । “दशैँ सकिएपछि वर्षा नलागुञ्जेलसम्म भने आगन्तुकको भीड निकै हुन्छ,” नजिकै होटल सञ्चालन गरेर बस्नुभएका सुरेन्द्र परियारले भन्नुभयो । 

उहाँका अनुसार हिजोआज पर्यटक आउने क्रम सुरु भएको छ । शुक्रबार र शनिबार अन्य दिनको तुलनामा भीड हुन्छ । जन्मदिन मनाउन, विवाहको वार्षिकोत्सव मनाउन तथा अन्य प्रकारका ‘सेलेब्रेसन’ गर्न शुक्रबार र शनिबार धेरै युवा आउने गर्छन् । परियार भन्नुहुन्छ, “शुक्रबार त रातभरि सुत्न पाइँदैन । पार्टी गर्नेहरूले नाचगान गरेर रात नै बिताउने गर्छन् । उहाँहरूले अर्डर गर्नुभएको खानेकुरा बनाउँदा बनाउँदै हामी पनि रातभर सुत्न पाउँदैनौँ ।”

कतिपय पर्यटक भने बिहान गएर दिनभर त्यतै घुमेर बेलुका दमौली बजारतिर फर्कने गर्छन् । यो डाँडोमा पर्यटक आउन थालेको दुई वर्षजति मात्रै भयो । त्यसैले स्तरीय र व्यवस्थित होटल सञ्चालन भइसकेका छैनन् । साना लगानीका होटल मात्रै छन् अहिले । बास बस्न होटलमा पर्याप्त ठाउँ नभएपछि व्यवसायीले बारीमा टेन्ट राखेर पर्यटकको बसोबासको व्यवस्था गर्ने गरेका छन् । व्यवसायीहरूले पाहुनासँग होटलमा बसेको एक रातको दुई हजार तथा टेन्टको एक हजार रुपियाँ लिने गरेका छन् । 

टेन्टमै सुतेर रात बिताउनुभएका राजन गैरे मानुङ्गकोटबाट दर्शन गर्नकै लागि काठमाडौँबाट त्यता जानुभएको हो । बिहानको समयमा बादलको दृश्य अवलोकन गर्दा स्पष्ट देखिने भएकाले टेन्टमै सुतेर रात बिताउनुभएका गैरेले भन्नुभयो, “राति ११ बजेसम्म नाचगान गरेर बिताउँदा निकै रमाइलो भयो । बिहानै बादलको दृश्यावलोकन गर्दा झन् आनन्द आयो ।” तर यस ठाउँको प्रवद्र्वनमा स्थानीय सरकारले पर्याप्त लगानी गर्न नसकेको उहाँको भनाइ छ । 

ठूला लगानीका होटल नभए पनि आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेपछि स्थानीयस्तरमा उत्पादन हुने सामग्रीको बिक्री बढेको छ । स्थानीयले फलाएको सुन्तला तथा अन्य फलफूलको व्यापार पनि बढेको सोही गाउँका सीताराम भुजेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “धेरथोर आम्दानी पनि बढेको छ । नगरपालिकाले लगानी गरेर यस क्षेत्रको प्रचारप्रसारमा चासो दिने हो भने यहाँका अन्य मानिसको जीवनस्तर पनि उकासिन्थ्यो ।”

बाटोको स्तरोन्नति, खानेपानी तथा सार्वजनिक शौचालयको व्यवस्थापन राम्रो हुन नसकेको उहाँको भनाइ छ । बस्न पर्याप्त ठाउँ नभएका कारण पर्यटक राति दमौलीको होटलमा बसेर बिहान उठेर मात्रै त्यता जाने गरेका छन् । सिजनमा मात्रै धेरै पर्यटक आउने भएका कारण पनि तत्काल ठूला लगानीका होटल बन्न नसकेको स्थानीय बताउँछन् । दमौलीको स्थायी बासिन्दा प्रदीप न्यौपानेले भन्नुभयो, “उजाड डाँडा एकाएक भाइरल भएपछि काठमाडौँ, पोखरालगायतका सहरबाट समेत पर्यटक आउने गरेका छन् । यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि सहयोग पु¥याएको छ । यो ठाउँको संरक्षण तथा संवद्र्धन गर्ने हो भने सिङ्गो तनहुँकै आर्थिक समृद्विका लागि फलदायी हुनसक्छ ।”

पर्यटक आउन थालेपछि विगतमा बाँझो रहेका ती ठाउँका जग्गासमेत अहिले महँगो मूल्यमा किनबेच हुन थालेका छन् । केहीले भने होटल सञ्चालक तथा अन्य प्रकारका पसल सञ्चालन गर्नेहरूलाई भाडामा लगाउने गरेका छन् । यो चुचुरोबाट दृश्यावलोकनका लागि बिहानको समय उपयुक्त हुने भएकाले मानिस बिहान ५ बजदेखि नै आउने गर्छन् । दमौली बजारबाट झिसमिसेमै गए पनि उक्त चुचुरोमा पुग्दा घाम लागिसकेको हुन्छ । न्यौपानेले भन्नुभयो, “बिहान जति छिटो गयो । दृश्य पनि उति नै राम्रो देखिन्छ । तसर्थ बिहान जाडो मान्दै शीत र कुहिरोलाई छल्दै जानेहरूले चुचुरोमा पुगेपछि सबै कष्ट बिर्सन्छन् ।”

पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेपछि ब्यास नगरपालिकाले पनि त्यस ठाउँको प्रचारप्रसारका लागि योजना बनाइरहेको बताएको छ तर त्यसले मूर्त रूप लिन सकेको छैन । स्थानीय संस्कृति, रहनसहन, जातीय संस्कारलगायतका पक्षलाई प्रचार गर्न सकिएमा समग्र ब्यास क्षेत्रलाई नै पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने नगरपालिकाको आकलन छ । 

ब्यास नगरपालिकामा मुख्य रूपमा ब्राह्मण, मगर, क्षेत्री, दराई, नेवार, गुरुङ, कामी आदि जाति रहेका छन् । मुलुकभर नै दुर्लभ ठानिने दराई जातिको मूल थलोका रूपमा यसलाई लिइन्छ । चुड्का, घाटु र कौरा यहाँका लोकनृत्य हुन् । नगरवासी आंशिक रूपमा जागिर, व्यापार, व्यवसाय र वैदेशिक रोजगारीमा संलग्न रहे पनि कृषि नै जनजीवनको मुख्य आर्थिक स्रोत रहेको छ । सागे, बुल्दी, बोर्धन, रिस्ती, कलेस्ती र छाब्दी खोलाका काखमा रहेका फाँट उर्वर र सदावहार छन् भने कुमालटारी, बैरेनी र भादगाउँजस्ता सानाठूला टार यही नगरपालिका क्षेत्रमा पर्छन् । 

नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने भन्नुहुन्छ, “ब्यास क्षेत्रका सबै धार्मिक तथा पर्यटकीय स्थलको पहिचान गरेर विस्तारका लागि काम गरिरहेका छौँ ।” ब्यास क्षेत्रमा मानुङ्गकोटसहित बुद्ध पार्क, शीतल गुफा, आनन्द गुफा, पराशर क्षेत्र, व्यास गुफा, छाब्दी बराह, भानु घाँसी पार्कलगायत धार्मिक तथा पर्यटकीय क्षेत्र छन् ।   

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।