• १३ वैशाख २०८१, बिहिबार

बाँके १ (ख) बाट एमालेका दुर्गा चौधरी निर्वाचित

blog

सिराज खान 

नेपालगन्ज, मङ्सिर १० गते । बाँके क्षेत्र नम्बर १ को प्रदेशसभा ख बाट नेकपा एमाले लुम्बिनी प्रदेशका उपसचिव दुर्गाप्रसाद चौधरी निर्वाचित हुनु भएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली का‌ंग्रेसका फुलाराम चौधरीलाई ८७७ मतको अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको हो । 

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ का अनुसार निर्वाचित हुनुभएका दुर्गा चौधरीले १५ हजार ६५७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी फुलाराम चौधरीले १४ हजार ७८० मत प्राप्त गर्नुभयो । 

मतगणनाको सुरुवातबाटै अग्रता लिनु भएका दुर्गाले अन्त सम्म नै अग्रतालाई कायम राख्दै विजयी हुनु भएको हो । यस्तै सो क्षेत्रबाट नागरिक उन्मुक्ति पार्टीका भुमबहादुर भण्डारीले ५ हजार २८५ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र उम्मेदवार अमर जङ्ग शाहले २ हजार ९६ मत प्राप्त गर्नुभयो । बाँके १ को प्रदेशसभा ख मा कुल ६५ हजार २५५ मतदाता रहेका छन् । 

बाँके १ ख को मतगणना सकिएसङै जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा गरेर प्रत्यक्षतर्फको सबै मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ । सो कार्यालयका अनुसार प्रत्यक्षको मतगणना सकिए लगत्तै समानुपातिकतर्फको मतगणना पनि सुरु गरिएको छ ।