• १४ माघ २०७९, शनिबार

समुद्री किनारको देशबाट (कविता)

blog

अभावको अत्यासलाग्दो गुँडबाट

बचेराको ममताले अभिभूत

चारोको खोजीमा हुत्तिएको चरीझैँ

म आइपुगेँ यो समुद्री किनारको देशमा ।


संसारको उँचो टाकुरोमा

कलिलो घामले चुम्ने बेला

साइतको टीका लगाएर,

जूनजस्ती सहेलीको काखमा

नवजात शिशु छोडेर

उत्साहका पाइलाले नाघेको थिएँ सँघार ।


मैले त हृदय उतै थुम्काहरूमा छाडेर

ज्यान मात्र बोकी हिँडेछु—

उभाएर सौन्दर्य आँखाले 

कहिल्यै नसिद्धिने लेकबेँसी,

सारेर ओठमा हाँसो

कहिल्यै नरित्तिने हिमगिरि,

बयेली खेल्दै जीवन–गीत गाउने धानखेत,

नाचेर कहिल्यै नथाक्ने झरनाहरू...

बाटोमा कतै छुटेछन् जीवनका ती अवयवहरू ।


डाँडाको घामजस्ता ‘भगवान्’को मुहारमा 

सुखको आभा पोत्ने

गुलावी सिउँदोका रहरहरू पूरा गर्ने

एक उज्यालो शिशु–पृथ्वी सुखले हुर्काउने

र, नचुहिने एउटा छानो हाल्ने 

अभिलाषाका गुराँस फुलाएर मनभरि

म बेच्न आइपुगेँ मोतीजस्तो पसिना ।


चरा पनि ठोक्किएर लडिमर्ने

अजङ्गका भवनमा हाडछाला घोट्न

कुन बाध्यताले आइपुगेँ यो बिरानो भूमिमा ?


उता झुपडीमा

म नहुँदाको घामजून पक्कै फरक उदाउँदो हो

सिरु उम्रिँदो हो बारी र कान्लाहरूमा

चैतमा न्याउली–कोइलीले डाक्दा हुन्

चाँडबाडमा डाँफे–मुजुरले खोज्दा हुन्

झ्याउँकिरीले साँझमा विरहको सङ्गीत हाल्दो हो,

यता म पनि बजाएर ‘नोस्टाल्जिक’ धुन 

जूनमा उनको अनुहार खोज्दै टोलाउँछु ।


पसिना जहाँ रहेर बगाए पनि 

मैले त छर्नु छ खुसीको किरण 

हुर्काउनु छ शिशु–पृथ्वी 

माटोको चित्र मुटुमा खोपेर

फर्किनु छ डाँडाको घाम अस्ताउनुअगावै । 


अछाम, हाल : काठमाडौँ