• ९ वैशाख २०८१, आइतबार

छालाको क्यान्सर

blog

मानव शरीरको सबैभन्दा ठूलो अङ्ग हो छाला । छालाले शरीरको तापक्रम सन्तुलनमा राख्न, पानी, भिटामिन डी एवं चिल्लो पदार्थको भण्डारण गर्न सघाउँछ । यसका साथै छालाले ताप, सूर्यको प्रकाश, चोट एवं सङ्क्रमणबाट समेत बचाउँछ । छालाको क्यान्सर खासमा छालाको तन्तु अर्थात् कोषहरूको समूहमा सुरु हुन्छ । मानव शरीरको सबै अङ्गमा छालाको क्यान्सर हुनसक्ने भए पनि सूर्यको प्रकाशबाट सजिलै असर गर्न सक्ने भागहरू अनुहार, घाँटी, हात, पाखुरा र खुट्टामा छालाको क्यान्सर हुने सम्भावना बढी रहन्छ । 

सन् २०४० सम्म विश्वमा करिब तीन करोड मानिसमा छालाको क्यान्सर हुने अनुमान छ । सन् २०२० मा विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा करिब चार सय जनाको छालाको क्यान्सरबाट मृत्यु हुने गरेको छ, जुन कुल मृत्यु सङ्ख्याको करिब ०.२५ प्रतिशत हुन आउँछ । छालाको क्यान्सर प्रभावित हुने कुल मानिसका आधारमा नेपाल विश्वको ७३औँ स्थानमा पर्दछ ।

छालामा विभिन्न तह हुन्छन्, त्यसमध्ये इपिडर्मिस (बाह्य तह) र डर्मिस (भित्री तह)चाहिँ मुख्य हुन् । खासमा छालाको क्यान्सर इपिडर्मिसबाट सुरु हुन्छ । इपिडर्मिस तह स्क्वामस, बेसल एवं मेलानोसाइट नामका तीन प्रकारका कोषबाट बन्छ । त्यसैले स्क्वामस कोष इपिडर्मिसको सबैभन्दा माथिल्लो तहमा पातलो प्रकारले फैलिएको हुन्छ भने बेसल कोषचाहिँ गोलाकारको हुन्छ । इपिडर्मिसको तल्लो तहमा मेलानोसाइट कोष रहन्छ । 

सौर्य प्रकाशको सामीप्यताको मात्राको आधारमा मेलानोसाइटले मेलानिनको उत्पादन गर्दछ । त्यसैले पनि सूर्यको प्रकाशबाट अधिक पर्ने ठाउँका बासिन्दाको छालामा मेलानिनको बढेको मात्राले गर्दा छाला पनि श्याम वर्णको हुन्छ ।

गहुँ गोरो वा श्याम वर्णका मानिसको छालामा मेलानिन भन्ने तìव धेरै हुन्छ । यो मेलानिन तìव (पिगमेन्ट)ले सूर्यको प्रकाशमा हुने अल्ट्राभ्वाइलेट किरण अर्थात् पराबैजनी किरणबाट बचाउँछ । त्यही भएर गोरो एवं सेतो छाला भएका मानिसमा छालाको क्यान्सर हुने सम्भावना बढी हुन्छ । 

छालाको क्यान्सरको मामिलामा स्क्वामस सेल कार्सिनोमा, बेसल सेल कार्सिनोमा एवं मेलानोमा खालको क्यान्सर देखिन्छ । यी तीनथरीका अतिरिक्त एक्निटिक केराटोसिस भनिने छालाको समस्या पनि कहिलेकाहीँ स्क्वामस सल कार्सिनोमा परिणत हुनसक्छ ।

छालाको क्यान्सरका प्रकार

सारांशमा स्क्वामस सेल कार्सिनोमा, बेसल सेल कार्सिनोमा र मेलोनोमा गरी छालाको क्यान्सर तीन प्रकारको हुन्छ । स्क्वामस सेल कार्सिनोमा– यस्तो खालको क्यान्सर छालाको माथिल्लो तहको कोषमा हुन्छ । बढीजसो स्क्वामस सेल कार्सिनोमा मुखभित्र एवं जननेन्द्रीय वरिपरि हुनसक्छ । 


बेसल सेल कार्सिनोमा– छालाका क्यान्सरमध्ये सबैभन्दा सामान्य प्रकारमा यो क्यान्सर पर्दछ । यो क्यान्सर छालाको सबैभन्दा तल्लो तहको मुख्य कोषमा विकसित हुन्छ । यो क्यान्सर विस्तारै शरीरको अन्य भागमा फैलिन्छ । त्यसैले यस खालको क्यान्सर अन्यत्र फैलिनबाट रोक्न र पूर्ण उपचारका लागि समयमै जाँच आवश्यक हुन्छ । यस खालको क्यान्सर विशेषतः अनुहार, कान, टाउको लगायत घामको प्रभाव बढी हुने भागमा हुने गर्छ । यस्तो क्यान्सर हुँदा छालामा मोतीजस्तो दाना वा मासुको डल्लो देखा पर्ने, छालामा रातो वा गुलाबी रङको दाग देखिने, घाउ निको भइसकेपछि पनि आलो देखिने हुन्छ ।

मेलोनोमा– छालाको रङ निर्धारण गर्ने कोषबाट मेलोनोमा खालको क्यान्सर विकसित हुन्छ । यो क्यान्सर अन्य तन्तु वा अङ्गमा छिटो फैलिन सक्छ । यद्यपि समयमै उपचार गरेको खण्डमा यो क्यान्सर ठीक हुनसक्छ ।

प्राकृतिक (घाम)का साथै कृत्रिम खालको प्रकाशमा धेरै समय बिताएमा, परिवारमा कसैलाई छालाको क्यान्सर भएमा, गोरो छाला भएमा, शरीर तथा छालामा अत्यधिक कोठी भएमा, छाला संवेदनशील भएमा (घामले सजिलै डढ्ने भएमा), आँखा नीलो वा खैरो तथा कपालको रङ रातो वा हल्का खैरो भएका व्यक्तिलाई छालाको क्यान्सर हुने सम्भावना बढी देखिएको छ । 

यसका साथै छालाको सुजन लामो समय रहिरहेमा, निको नहुने खालको कुनै घाउ भएमा, विकिरण उपचार लिएमा, प्रतिरोधात्मक क्षमतामा कमी आएमा पनि छालाको क्यान्सर हुने जोखिम हुन्छ । छालाको क्यान्सर हुँदा छालाको सतह अन्यत्र भन्दा अलि उठ्ने, मोतीजस्तै देखिने, कडा खालको गाँठागुँठी आउने, कत्ला उठ्ने, सजिलै रगत बग्ने, पाप्रा उठ्ने हुनसक्छ । छालामा यी परिवर्तन देखा पर्दैमा छालाको क्यान्सर नै भयो भन्ने होइन । एक्निटिक केराटोसिसमा भने छाला खस्रो हुने, रातो वा गुलाफी रङको हुने, तल्लो ओँठ चिरा पर्ने वा ताछिएको जस्तो हुने गर्छ ।

त्यसो भएर छालामा कुनै परिवर्तन आएमा, छालामा नयाँ दाग वा गिर्खा देखा परेमा चनाखो हुनुपर्छ । आशङ्कित व्यक्तिलाई विस्तृतमा सोधपुछ एवं शारीरिक परीक्षण गर्नुका साथै प्रभावित ठाउँ (असामान्य गाँठागुँठी वा छालाको दाग)को बायोप्सी (मासु जाँच)बाट क्यान्सरको निक्र्याेल गर्न सकिन्छ । 

छालाको क्यान्सर रगत, तन्तु एवं लिम्फको माध्यमबाट शरीरको अन्य भागमा फैलिन सक्छ । छालाको क्यान्सर अन्यत्र पैmलिएको छ, छैन थाहा पाउन सीटी स्क्यान, पेट स्क्यान, छातीको एक्सरे, अल्ट्रासाउन्ड, आँखाको जाँच, प्रभावित भागको नजिकैको आँख्ला (लिम्फनोड)को बायोप्सीबाट थाहा हुन्छ ।

उपचार एवं रोकथाम

छालाको क्यान्सरको प्रकार, छालाको अवस्था, प्रभावित व्यक्तिको स्वास्थ्यस्थितिको आधारमा शल्यक्रिया, विकिरण थेरापी, फोटो डाइनामिक थेरापी, इम्युन थेरापी एवं टार्गेट थेरापीलगायतका विकल्पबाट उपचार गरिन्छ । 

दिउँसोको पारिलो घामबाट बच्ने, सूर्यको हानिकारक विकिरणबाट बच्न शरीर ढाक्ने लुगा लगाउने, सनब्लक क्रिमको प्रयोग गर्ने, नियमित अन्तरालमा छालाको जाँच गराउने तथा बिटाक्यारोटिन, आइसोट्रेटिनोइन, सेलेनियम, निकोटिनामाइड जस्ता छालाको क्यान्सरबाट बचाउने तत्त्वहरू प्रयोग गर्नुपर्दछ ।