• १४ माघ २०७९, शनिबार

स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु : डा. तोसिमा कार्की

blog

काठमाडौँ,  पुस  गते । दैनिक बिरामीको उपचारमा खटिने डा. तोसिमा कार्कीको जिम्मेवारी अहिले फेरिएको छ । आजभन्दा दुई महिना अघि शल्य चिकित्सकका रूपमा रहनुभएका डा. कार्कीले अब प्रतिनिधि सभा सदस्यका रूपमा आफ्नो परिचय बनाउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ललितपुर क्षेत्र नं. ३ बाट निर्वाचित हुनुभएको हो । आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तर पारेर उहाँ जनताबाट अनुमोदन हुनुभएको छ ।

पेसाले चिकित्सक उहाँको ध्यान सरकारमा रहेर स्वास्थ्यसेवा सुधार्नेतर्फ  छ । त्यसैका लागि उहाँको पार्टी सरकारमा सहभागी भएको उहाँको धारणा छ । सरकारले पूर्णता पाउने तयारीमा रहेका बेला डा. कार्की आफ्नो विज्ञताअनुसार पार्टीले आफूलाई सरकारमा सहभागी गराए स्वास्थ्यमन्त्रीका रूपमा काम गर्ने अपेक्षा राख्नुभएको छ । उहाँले आफू सरकारमा गए नेपाली जनतालाई सर्वसुलभरूपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने पहिलो काम नै रहेको बताउनुहुन्छ ।

कति मानिसले गरिबीका कारण स्वास्थ्य सेवा पाउन नसकेको उहाँ आफैँले देख्नुभएको छ । ती गरिब र निमुखा पैसाको अभावले उपचार सेवाबाट वञ्चित हुन नपरोस् र सबै नेपालीले संविधानको व्यवस्थाअनुसार आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन उहाँ आफू लागिपर्ने बताउनुहुन्छ ।

यस्तै उहाँको ध्यान अहिले कोरोना भाइरस नियन्त्रणमा समेत छ । छिमेकी मुलुक भारत र चीनमा बीएफ–७ नामक नयाँ भेरियन्ट फैलिरहेको अवस्थामा नेपालमा पनि नआउला भन्न सकिन्न । त्यसैले उक्त नयाँ भाइरसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर पनि  आफ्नो कार्ययोजना बनाइरहनुभएको छ ।

डा.कार्की मुलुकका परम्परागत राजनीतिक दलको नेतृत्वले मुलुकलाई सही गन्तव्यमा लैजान नसकेको पनि टिप्पणी गर्नुहुन्छ । यस्तो अवस्था भएपछि आफू नै राजनीतिमा आएको उहाँ बताउनुहुन्छ ।

आफूभन्दा वरिष्ठ चिकित्सक भए पनि उहाँबाट राम्रो स्वास्थ्य सेवा दिन नसकिरहेको, गुणस्तरीय स्वास्थ्य सेवा जनतासमक्ष नपुगेकोले समग्र स्वास्थ्य सेवालाई सुधार्नका लागि चिकित्सक पेसा सम्भव नभएपछि आफूले राजनीति रोजेको उहाँको तर्क छ ।

“एउटा चिकित्सकले मात्र समग्र स्वास्थ्य सेवा सुधार गर्न नसक्ने अवस्था मैले देखेँ । समग्र स्वास्थ्यको विकृति, विसङ्गति सुधार गर्नका लागि त जनप्रतिनिधि हुनुपर्दछ भन्ने मलाई लाग्यो । अनि राजनीतिमा हामफालेको हुँ । मलाई लाग्छ म सफल पनि भएँ । अब जनताको सेवा गर्नु मेरो कर्तव्य हो”, उहाँ भन्नुहुन्छ ।

आफूले स्वास्थ्यक्षेत्रमा विद्यमान रहेका विकृति, विसङ्गति बुझेको र यो अवस्थाको अन्त्यका लागि देशको स्वास्थ्य क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर राजनीतिमा लागेको उहाँको भनाइ छ । प्रस्तुत छ सांसद कार्कीसँग राससका समाचारदाता शरद् शर्माले विशेषगरी स्वास्थ्य क्षेत्रमा केन्द्रित रहेर गरेको कुराकानीको केही अंश

संसद् बैठक यही पुस २५ गते बोलाइएको छ । संसद् बैठकअघि आजकाल बैठकको तयारीमा हुनुहुन्छ या के गरिरहनुभएको छ ?

अहिले म सामाजिक सञ्जालमार्फत जनताको गुनासो सुनिरहेको छु । फेसबुक, ट्वीट्र, ह्वाटस एप, इमेललगायतका सामाजिक सञ्जालमार्फत मैले जनताका गुनासो लिइरहेको छु ।

यस्तै निर्वाचन क्षेत्रमा विभिन्न भेला, युवा महिला समूहले आफ्नो गुनासो सुनाइरहनुभएको छ । अहिले ती गुनासोलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर मैले अध्ययन गरिरहेको छु । आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी, बाटोको अवस्था कस्तो छ भनेर हेरिरहेको छु । यस्तै प्रदेशसभा र दुई जना नगरप्रमुखसँग पनि विकास निर्माणबारे छलफल गरेको छु ।

एउटा चिकित्सक भएर नागरिकलाई सेवा दिइरहनुभएको थियो । किन एकाएक राजनीतिमा सक्रिय हुनुभयो ?

म मेडिकल विद्यार्थीदेखि नै भ्रष्टाचार, पैसाको चलखेल, मेडिकल शिक्षा या समग्र शिक्षा क्षेत्रमा देखिएको लुटतन्त्र, मेडिकल शिक्षामा भर्नामा देखिएको विकृति, मेरिट भर्नाको सङ्ख्या मिचेर अरूलाई भर्ना गर्नेजस्ता कुरा थाहा पाएको थिएँ । त्यसका विरुद्ध म त्यतिबेलादेखि नै आफूलाई अलिअलि राजनीतिमा सक्रिय गराएको थिएँ । 

डा. गोविन्द केसीले उठाएका समग्र स्वास्थ्यकाे सुधारका मागलाई मैले पनि अभियान चलाएको थिएँ । सेवामात्र गरेर हुँदैन कुनै पदमा पनि पुग्नुपर्दछ भनेर मैले नेपाल मेडिकल काउन्सिलको सदस्य निर्वाचित भएँ । काउन्सिलको सदस्य हुँदा चिकित्सक कसरी काम गर्दछन्, चिकित्सक नीति–नियम बनाउने काम गरेँ । त्यहाँबाट पनि मैले प्रेरणा पाएँ ।

अर्को कुरा पैसाको अभावले उपचार गर्न नपाएर मर्नुपर्ने अवस्था, आकस्मिक स्वास्थ्य सेवाबाट बिरामीले उपचार गर्न नपाइरहेको मैले आफ्नो आँखाले देखेँ । तर मलाई कताकता नराम्रो लाग्यो । तर म त्यतिबेला काउन्सिलमा रहेको थिएँ । त्यहाँबाट समग्र स्वास्थ्य सेवा सुधार गर्ने अवस्था थिएन । अनि अब मेडिकल काउन्सिलमा मात्र सीमित हुनुहुँदैन । गरिबी र पैसाको अभावले उपचार गर्न नपाएका मानिसको सेवा गर्नुपर्दछ भन्ने सोच आयो र त्यो सोचलाई एउटा चिकित्सकबाट सम्भव थिएन । नीति, निर्माण तहमा पुगेर मात्र स्वास्थ्य सुधार गर्न सकिन्छ भन्ने मलाई लाग्यो ।

आफूले गरेका स्वास्थ्यका कामलाई जनताले पनि साथ दिएकाले र समयको आवश्यकता पनि बुझ्दै गएपछि अब राजनीतिबाट नै समाजलाई परिवर्तन गर्नुपर्दछ भनेर राजनीतिमा सक्रिय गराएको हुँ । अरूले गर्न सकेनन् भनेर कति आलोचना मात्र गर्ने ? अनि आफैँ स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्नुपर्दछ भन्ने मलाई लाग्यो । 

आफूमा स्वास्थ्य क्षेत्रको नेतृत्व गर्ने क्षमता देख्नुभएको छ ?

हो, म एउटा चिकित्सक हुँ । म नेतृत्व गर्ने क्षमता भएको, स्वास्थ्य समस्या बुझेको र युवा नेतृत्वले नै मुलुकलाई अगाडि बढाउन सक्दछन् भन्ने देखाउन म यस क्षेत्रमा लागेको हो । मैले आफूलाई एक सक्षम नेतृत्वकर्ताका रूपमा उभ्याउन पनि चाहन्छु ।  

मुलुकको स्वास्थ्य क्षेत्रमा के–कस्ता विकृति देख्नुभयो ? 

अरू क्षेत्रभन्दा बढी स्वास्थ्यमा विकृति छन् । कति बिरामीसँग पैसा नहुँदा अस्पतालबाट फिर्ता पठाउने गरेको हामी आफैँले भोगेका छौँ । हामीसँग सामान छ, चिकित्सक छन् तर बिरामीसँग पैसा नभएका कारणले उपचार गर्न पाएका छैनन् । के पैसा नहुँदामा मानिसलाई स्वास्थ्य सेवा उपचार गर्न नपाउने भन्ने छ र रु राज्यको यो भन्दा ठूलो अन्याय के हुन सक्दछ र ? संविधानमा स्वास्थ्य सेवा निःशुल्क भनेको छ तर जनताले कहिल्यै गुणस्तरीय स्वास्थ्य सेवा पाएका छैनन् ।

निजी अस्पतालले आफूखुसी बिरामीबाट पैसा लिइरहेका छन् । तर यसको कुनै मापदण्ड छैन । कुन उपचारको कति दर भन्ने तोकिनु आवश्यक रहेको छ । निजी अस्पताल मात्र गुणस्तर हुँदै जाने महँगा र सरकारी अस्पतालको गुणस्तर खस्कँदो अवस्थामा जाने गरेको छ । यसलाई सुधार गर्नुपर्दछ । 

उपचार गर्न घण्टौँ लाइनमा बस्नुपरेको छ । जनताले भनेको उपचार पाएका छैनन् । निःशुल्क औषधि उपलब्ध भएको छैन । बिरामीले भनेको समयमा आवश्यक रगत पाएको छैन । एम्बुलेन्स भनेको बेला पाइँदैन । स्वास्थ्यको कुनै पनि एकीकृत योजना रहेको छैन । यस्तै स्वास्थ्यका विकृति रहेका छन् । 

देशमा अरू पुराना राजनीतिक पार्टीहरू पनि थिए, भर्खरै खुलेको पार्टीमा किन लाग्नुभयो ?

हिजो पनि नेतृत्व र पार्टी थिए । तर तिनले गरेनन् । पुराना  नेताबाट सम्भावना नदेखेपछि म नयाँ पार्टीमा प्रवेश गरेको हुँ । ती पार्टीमा प्रवेश गर्ने हो भने धेरै वर्ष झण्डा बोकेर हिँडेको हुनुपर्दछ । 

ती पार्टीका नेताले भनेजस्तो गरिदिनुपर्ने हुन्छ । वर्षौँदेखि झण्डा बोकेका कतिपयले अहिले निर्वाचनमा टिकट पाएनन् । उनीहरूबाट मैले अपेक्षा गर्न सकिन । कुहिएको फलको कुनै अर्थ भएन । तर भर्खर बीजारोपण गरेको वृक्षमा आफैँ माली बनेर गोडमेल गर्न सकिन्छ भन्ने लागेर नयाँ पार्टीमा लागेँ ।

संविधानमा आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क भनेको छ तर नागरिकले पाएका छैनन् । यस विषयलाई कसरी संसदमा उठाउनुहुन्छ ?

संविधानको धारा ३५ अनुसार कुनै पनि मानिस आधारभूत स्वास्थ्य शिक्षाबाट वञ्चित हुनु पर्दैन भनिएको छ तर यो सुनिश्चित भएको छैन । प्रत्येक नागरिकलाई अनिवार्य स्वास्थ्य बीमा प्रभावकारी ढङ्गले लागू गर्नुपर्दछ । यो आवाज उठाउने हो । स्वास्थ्यमा एकीकृत योजना ल्याउनुपर्दछ । बनेको नीतिको नियमन गर्नुपर्दछ ।

स्वास्थ्य सेवा अस्पतालमा नागरिक घण्टौँ लाइन लाग्नुपर्दछ  यसको अन्त्य तपाईँ कसरी गर्नुहुन्छ ?

नेपालमा अहिले ठूला–ठूला अस्पताल औँलामा गन्न सकिने अवस्था छ । निजी अस्पतालमा आम नागरिकले खर्च धान्न सक्दैनन् । त्यसैले आधारभूत स्वास्थ्य सेवा वडा कार्यालयबाट नै उपलब्ध गराउनुपर्दछ । वडावडामा वडा क्लिनिक, जिल्ला  अस्पतालमा सेवा थपेर त्यही नै विशेषज्ञ सेवा दिन सक्नुपर्दछ । त्यही नभएर मानिस उपचारका लागि घण्टौँ लाइन लाग्नुपरेको छ । त्यस्तै अस्पतालमा  स्वास्थ्यकर्मीको दरबन्दी थपिनुपर्दछ र औषधि निःशुल्क उपलब्ध गराउनुपर्दछ । 

यहाँलाई आफ्नो पार्टीले मन्त्रीका रूपमा सरकारमा पठाए जानुहुन्छ ?

आम मानिसले तपाईँले स्वास्थ्य बुझ्नुभएको छ, तपाईँले नै स्वास्थ्य मन्त्रालयले चलाउनु पर्दछ भनेर भनिरहेका छन् । मलाई जनताले त्यही अनुमोदन गरेर संसदमा पठाउनुभएको छ । मेरो स्वास्थ्यका नारा नै त्यही हो ।

अर्को कुरा हिजोका दिनमा हामीले कोभिड–१९, डेङ्गुको सङ्क्रमणको अवस्था देख्यौँ । हामीजस्तो व्यक्ति त्यस ठाउँमा भएको भए पक्कै पनि न्यूनीकरण गर्न सक्ने थियो जस्तो लाग्छ । अब बन्ने सरकारले स्वास्थ्य क्षेत्रमा के–के गर्नुपर्दछ भनेर खाका पनि तयार पार्न थालिसकेको छु ।

कोभिड–१९ महामारी भारत र चीनमा फैलिने अवस्था एकदम तीव्रदरमा भइरहेको छ । चीनमा अनियन्त्रित भइसकेको छ । अब बीएफ–७ नामकको भेरियन्ट नेपालमा भित्रिन नदिनका लागि हामीले योजना बनाउनुपर्दछ ।

अर्को महामारी झेल्नका लागि देशले धान्न सक्दैन । अर्थतन्त्रलाई पनि नबिगार्न र बन्दाबन्दी (लकडाउन)सम्म पुग्न नदिनका लागि पूर्वतयारी गरेर रोकथाम र नियन्त्रणका उपाय अपनाउनुपर्दछ । यो ढिलाइ गर्नुहुँदैन । यही हाम्रो पार्टीले स्वास्थ्य मन्त्रालय पाएको खण्डमा मैले स्वास्थ्य मन्त्रालय लिने मैले सोचिरहेको छु । तर मेरो क्षमताअनुसार कुनै पनि मन्त्रालय चलाउन सक्दछु । पार्टीमा छलफल भइरहेको छ ।

देशका अरू स्वास्थ्यमन्त्री र यहाँमा नेपाली नागरिकले के फरक पाउन सक्लान् त ?

म स्वास्थ्य क्षेत्रकै मानिस हुँ । नीति, निर्माण तहमा एकपटक काम गरिसकेको छु र चिकित्सक हुँदा चिकित्सा शिक्षाविरुद्धका बेथिति चलाएर सफल पनि भएको छु । 

म र अरूमा फरक भनेको एउटा कुरा त म चिकित्सक हुँ । स्वास्थ्यमन्त्री एउटा चिकित्सक हुँदा उसले समग्र स्वास्थ्यका हरेक प्रणाली, तह बुझेको हुन्छ । हामीले स्वास्थ्यलाई मिहिन तरिकाले बुझ्न सक्दछौँ । हामी युवा छौँ । इमान बेच्दैनौँ । त्यही कारण फरक छौँ । 

स्वास्थ्यमा १० प्रतिशत बजेट विश्व स्वास्थ्य सङ्गठनले भनेको छ । तर नेपालमा पुगनपुग सातदेखि आठ प्रतिशतमात्र छुट्याउने गरिएको छ । तर त्यसमा पनि आधाभन्दा बढी फ्रिज भएर जान्छ । छुट्याइएको बजेटमात्र खर्च गर्ने हो भने मुलुकमा स्वास्थ्यमा धेरै फड्को मार्न सक्ने देखिन्छ । अबको पाँच वर्षमा आम नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउँछु भन्ने एजेण्डालाई हामीले स्थापित गराउनुपर्दछ ।

यहाँले मन्त्री नभई अर्थात् देशको एक नीति निर्माताका रूपमा मात्र रहेर स्वास्थ्यका यी समग्र समस्या समाधानमा कसरी भूमिका निर्वाह गर्नुहुन्छ ?

हिजो म सांसद नहुँदा पनि आम नागरिकको मुद्दा उठाएको छु । स्वास्थ्यका हरेक मुद्दा बोलेको छु । अब सांसद हुँदा स्वास्थ्य क्षेत्रमा नीति, नियमन गर्ने, नबनेका नीति निर्माण गर्ने, स्वास्थ्य बीमालाई कसरी प्रभावकारी बनाउने भन्ने नीति निर्माण तहमा काम गर्न सक्छु । मन्त्रालयलाई सुझाव दिन्छु र जनताका पक्षमा सेवा प्रदान गर्ने वातावरण निर्माणमा सहयोग गर्न सक्छु ।

 मुलुकको स्वास्थ्य क्षेत्र सुधार गर्न यहाँसँग के छन् योजना ?

सबैभन्दा पहिले स्वास्थ्य क्षेत्रका विकृति हटाउने काममा म लाग्नेछु । स्वास्थ्य बीमा कसरी प्रभावकारी बनाउने भन्ने मैले खाका बनाइरहेको छु । अस्पताल सञ्चालन निर्देशिका हेरिरहेको छु । मापदण्डअनुसार हुनुपर्ने अस्पतालका पूर्वाधार रहेका छैनन् । दरबन्दी छैन । त्यसमा के गर्न सकिन्छ भन्ने अगाडि बढाएका छौँ ।

सरकारी स्वास्थ्य संस्थाको स्वास्थ्य गुणस्तर हुनुपर्ने र निःशुल्क उपलब्ध गराउने पहल गरिनेछ । निःशुल्क पाउने औषधि उपलब्ध गराउने, प्रदेशमा रहेका मेडिकल कलेजमा चिकित्सा शिक्षा सुरु गराउने र डा. गोविन्द केसीसँग पनि निरन्तर स्वास्थ्यका सुधारका मुद्दाका बारेमा छलफल गरिरहेका छौँ । उहाँका मुद्दा सम्झौता गर्ने र कार्यान्वयन नगर्ने गरिएको छ । हामीले उहाँसँग गरिएका सम्झौता कार्यान्वयन गराउन पहल गर्दछौँ ।

तर मलाई नेपाली जनताले स्वास्थ्य मन्त्रीको रूपमा देख्न चाहेका छन् । मसँग देशको जुनसुकै मन्त्रालय सम्हाल्न सक्ने क्षमता छ, तर मेरो क्षेत्र भने स्वास्थ्य नै हो । स्वास्थ्य मन्त्रालय हाम्रो पार्टीले पाउँछौँ भनेर स्वास्थ्यको विस्तृत अध्ययन गरेका पनि छौँ । यस क्षेत्रमा रहेका समस्या पहिल्याएका छौँ । समाधान के हो भनेर बुझेका छौँ । अबको पाँच वर्षमा जनताले चाहेको स्वास्थ्य सेवा हामीले दिन सक्छौँ ।

मन्त्री भएपछिको तपाईँको पहिलो काम के हुन्छ ?

मेरो पहिलो काम कोभिड महामारीको जोखिमलाई नियन्त्रण गर्ने हो । चौथो लहर आउन नदिने र महामारी हुन नदिने तथा भए पनि रोकथाम गर्ने भूमिका रहन्छ । त्यसका लागि गृह मन्त्रालयसँग समन्वय गर्नुपर्दछ । सार्वजनिक ठाउँमा अनिवार्य मास्क लगाउने । मास्क नलगाउने मानिसलाई अनिवार्य जरिवाना गर्नुपर्दछ । स्यानिटाइरस्थलमा सरकारले नै व्यवस्था गरिदिन्छौँ । मास्क र स्यानिटाइजरको हाहाकार हुन दिनेछैनौँ । अहिलेदेखि नै उत्पादक कम्पनीलाई मास्क र स्यानिटाइजर उत्पादन गर्न भन्छौँ । हिजो भएका अक्सिजन प्लान्ट कहाँ छ, तिनलाई सञ्चालन गर्नुपर्दछ । भेन्टिलेटर थन्किएका छन्, तिनलाई सञ्चालन गर्नुपर्दछ ।

हिजो होटललाई क्वारेनटिन बनाउन सकिएको थिएन । अहिले नै  साना, मझौला र ठूला होटलसँग क्यारेन्टिनका लागि कुरा गर्नुपर्दछ । विद्यालयमा रहेका छात्रावास, सार्वजनिक स्थलमा क्यारेन्टिन बनाउनका लागि तयारी गर्नुपर्दछ । भारतमा फैलिरहेको छ यसले विकराल रूप लिनसक्ने अवस्था मैले बुझेको छु । फेरि पनि लकडाउन हुनसक्ने अवस्था आउन सक्दछ । चीनमा अनियन्त्रित हुँदै गएको पनि देखिएको छ । त्यसैले मन्त्रालयले कोभिड नियन्त्रण गर्नका लागि चाँडै नै आफ्नो तयारी गर्नुपर्दछ । त्यसका लागि मन्त्रालयले जनचेतना फैलाइहाल्नु पर्दछ । भारत र चीनमा अत्यावश्यक कामबाहेक नजान आग्रह पनि गर्नुपर्दछ ।