• ११ चैत २०७९, शनिबार
blog

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिङ्गरले भनेका थिए, “ती मानिस जसले फुटबललाई माया गर्छन्, एडिसन अरान्तेस डो नासिमेन्टो, जसलाई पेलेका नामले बुझिन्छ, उनीहरूका आदर्श हुन् ।”

‘पेले’ शब्द सानो छ तर यो धेरै नै समृद्ध छ । एडिसन अरान्तेस डो नासिमेन्टोले यसलाई उत्कृष्टता जनाउने पर्यायवाची शब्द नै बनाइदिए । पेले शब्द कहाँबाट आयो भन्ने सन्दर्भमा अनेक कथा छन् तर कसैले पनि यसलाई सटिक वर्णन गर्न सकेका छैनन् । 

ब्राजिलको एक सुदूर क्षेत्रमा यसको कथा सुरु हुन्छ । जहाँ एक बालक ‘डिको’ आफूलाई मन पर्ने खेल आफ्नो छिमेकका बच्चाभन्दा धेरै राम्रो खेल्दथे । एक दिन अन्य बालकले उनलाई ‘पेले’ भन्न थाले । उनले थाहा पाएनन्, यो नाम कहाँबाट आयो किनभने पोर्चुगेली भाषामा यो शब्द थिएन । पेलेको मातृभाषा पोर्चुगेली हो र ‘डिको’ ले त्यस शब्दको अर्थ बुझेनन् । पेले भनेर आफूलाई जिस्क्याउन थालिएको भनेर ‘डिको’ ले साथीहरूसँग झगडा पनि गरे । साथीहरूसँग कुटाकुट पनि भयो । ‘डिको’ ले जति विरोध गरे पनि पेले नाम उनीसँग जोडिएरै छाड्यो, फरक यति हो सुरुमा ‘डिको’ लाई कतै मन परेन तर पछि उनको पहिचान यही शब्द बन्यो । 

एक खेलाडी पेलेका रूपमा फुटबलमा उदाए । सन् १९५८ मानिसहरू पहिलो पटक विश्वकपका खेल प्रत्यक्ष हेर्न टेलिभिजनका अगाडि ओइरिए । टेलिभिजनको श्यामश्वेत पर्दामा १७ वर्षका एक फुच्चे खेलाडी फुर्तिलो खेल देखाउँदै गरेको दृश्य देखियो । नाम चलेका ठूला खेलाडीलाई नै छक्काएर खेलिरहेका ती ‘डिको’ विश्वकप समापनसम्म ‘पेले’ नामबाट विश्वव्यापी भइसकेका थिए । 

सन् १९६० र १९७० को दशकमा पेलेले आफ्नो क्लब सान्तोस र ब्राजिलको राष्ट्रिय टिमका साथमा विश्वको भ्रमण गरे, आफ्नो दर्शनीय खेलद्वारा दर्शकलाई मनोरञ्जन प्रदान गरे । आफ्नो २२ वर्षे फुटबल जीवनमा पेलेले १२ सय ८१ गोल गरेका थिए ।

तपाईंले पेलेको क्षमता विश्वास गर्न उनलाई नै भेट्नुपर्छ भन्ने छैन । उनको नाम नै मिथक बनिसक्यो, जो विश्वमा चौतर्फी पैmलियो । त्यस युगमा मानिसहरू पेलेलाई छुन मात्र पाए पनि अहोभाग्य ठान्दथे । बक्सिङका मोहम्मद अली पनि प्रसिद्धिको शिखिरमा थिए तर पेले जति उनको लोकप्रियता थिएन ।   

नाइजेरियाको बियाफ्रामा युद्धरत दुवै पक्षलाई पेलेको खेल हेर्न मिलोस् भनी दुईदिने युद्धविराम नै गरियो । इरानका साहले पेलेको एक नजर पाउन र कुरा गर्न मात्र तीन घण्टा विमानस्थलमा प्रतीक्षा गरेका थिए । युरोपमा लोकप्रिय ब्रान्डहरूका बारेमा सन् १९७० को दशकमा गरिएको एक सर्वेक्षणले पहिलोमा रहेको कोकाकोलापछि पेलेको नाम देखाएको थियो । 

मैदानमा पेलेले प्राप्त गरेका हरेक सफलताले नै उनको प्रसिद्धि बढाउँदै लग्यो । सन् १९६९ नोभेम्बर १९ मा पेलेले एक हजारौँ गोल गरे, जुन असाधारण उपलब्धिलाई ब्राजिलमा ठूलो उत्सवका रूपमा मनाइयो । पेलेको सफलताले अर्को दिनका पत्रपत्रिकामा अमेरिकी अन्तरिक्षयात्रीद्वय कोनार्ड र बिनले चन्द्रमामा पाइला टेकेको समाचार जत्तिकै महìव पाएको थियो ।  

एडिसन अरान्तेस डो नासिमेन्टोको जन्म सन् १९४० अक्टोबर २३ मा डोन्डिन्हो र डोना सेलेस्टीको छोराका रूपमा भएको थियो । उनी ब्राजिलको दक्षिणपूर्वमा अवस्थित मिनास गेराइस राज्यको ट्रेस कोराकोस नगरको गरिबहरूको बस्तीमा जन्मिएका थिए । पेलेका पिता स्थानीय स्तरका व्यावसायिक फुटबल खेलाडी थिए र एक खेलमा टाउकोले नै पाँच गोल गर्ने खेलाडीका रूपमा उनको नाम प्रसिद्ध थियो । 

बाउरु एथलेटिक क्लबबाट खेल्दै पेलेले एक फुटबल खेलाडीका रूपमा आफ्नो पहिचान बनाए । पूर्वविश्वकप खेलाडी भाल्डेमार डी ब्रिटोले सबैभन्दा पहिले पेलेको क्षमता पहिचान गरी उनलाई सान्तोस क्लब लिएर गएका थिए । सान्तोसमा पहिलो सत्र खेल्दै पेले लिगमा ३२ गोल गरेर सर्वाधिक गोलकर्ता भए । त्यसको लगत्तै उनलाई सन् १९५८ को विश्वकप खेल्ने ब्राजिलको टिममा चयन गरियो, पेले त्यतिबेला १७ वर्षका थिए । 


घुँडाको चोटका कारणले पेलेले स्विडेनमा भएको विश्वकपमा  सुरुका दुई खेल खेल्न सकेनन् । त्यसपछि क्वाटरफाइनलमा निर्णायक गोल र सेमिफाइनलमा ह्याट्रिक गरी सुरुका दुई खेल खेल्न नपाएको भर्पाई गरे । फाइनल खेलमा पेलेको दुई गोलपछि ब्राजिलका खेलाडीले फुच्चे पेलेलाई मात्र आफ्नो काँधमा उठाएनन् आफ्नो टिमको पहिलो जुलेस रिमेट ट्रफी पनि उठाएर भव्य उत्सव मनाए ।

फुटबलका नयाँ नायकलाई रातारात युरोपमा खेल्नका लागि लोभलाग्दा प्रस्ताव आउन थाले । इटालीको इन्टर मिलानले लाखौँ डलरको प्रस्ताव राख्यो । पेलेका लागि असाधारण प्रस्ताव आउन थालेपछि ब्राजिलका राष्ट्रपति जानियो क्वाड्रोसले पेलेलाई सन् १९६१ मा राष्ट्रिय सम्पत्ति घोषणा गरे । 

आफ्नो शीर्ष खेलाडी प्रसिद्धिको उचाइमा पुगेपछि सान्तोस क्लबसमेत अन्तर्राट्रिय फुटबलको एक ठूलो टिम बन्न पुग्यो । सान्तोसका प्रदर्शन खेलबाट पेलेले आकर्षक लाभ पाउन थाले । वार्षिक लगभग डेढ लाख अमेरिकी डलर कमाएर पेले टिम खेलमा विश्वका सर्वाधिक कमाउ खेलाडी बन्न पुगे । 

सान्तोसका साथमा आफ्नो बेजोड खेल प्रदर्शनसँगै पेलेले सन् १९६२ र १९६६ को विश्वकपमा सङ्घर्ष पनि गर्नुपर्यो । चिलीमा भएको विश्वकपमा पेलेको काछमा चोट लाग्यो । पहिलो खेलमा मेक्सिकोविरुद्ध खेलिरहँदा २–० ले ब्राजिल अगाडि रहेको अवस्थामा पेलेलाई चोट लाग्यो । पेलेले त्यस खेलमा एक गोल गरेका थिए । त्यसपछि चेकोस्लोभाकियाविरुद्धको खेलमा उनको चोट बल्झियो, अनि पेलेले प्रतियोगिताका अन्य खेल खेलेनन् । पेलेको स्थानमा खेलेका अमारिल्डोले उनको कमी महसुस हुन दिएनन् । अमारिल्डोले तीन गोल गरेर ब्राजिल उपाधि रक्षा गर्न सफल भयो । 

सन् १९६६ को विश्वकपमा पेले फर्किए । ब्राजिल लगातार तेस्रो पटक ट्रफी जित्ने दाउमा थियो तर पेलेको दुर्भाग्य पुनः उनलाई चोट लाग्यो, उनी फेरि दुई खेलमै सीमित हुन पुगे । खेलका तीनमध्ये दुई खेलमा ब्राजिल पराजित भयो र उसले पहिलो चरण पनि पार गर्न सकेन । 

सन् १९७० को विश्वकपमा जाँदा पेलेको विरासत प्रश्नको घेरामा थियो तर तीनहप्ते प्रतियोगितामा पेले पूर्ववत् उत्कृष्ट देखिए । उनले प्रतियोगितामा चार गोल गरे । फाइनल खेलमा ब्राजिलद्वारा इटाली ४–१ गोल अन्तरले पराजित भयो । त्यस खेलमा पेलेले गरेको पहिलो गोल विश्वकपमा ब्राजिलको सयौँ गोल हुन पुग्यो ।  मेक्सिकोमा पेले तीन विश्वकप जित्ने पहिलो खेलाडी भए र तेस्रो पटक विजेता बनेर ब्राजिलले जुलेस रमेट ट्रफी सदाका लागि कब्जा गर्यो । 

‘ब्ल्याक पर्ल’ अर्थात् कालो मोति उपनाम पाएका पेलेले सन् १९७४ मा सान्तोसका लागि आफ्नो अन्तिम खेल खेलेका थिए । उनले खेलबाट सन्न्यास लिने योजना बनाएका थिए तर व्यवसायमा घाटा हुँदा उनी दस लाख डलर ऋणमा डुबे । त्यही समयमा युरोपेका शीर्षस्थ क्लबहरू पेलेलाई आफ्नो टिममा आबद्ध गर्न जोरजुलुम गर्न थाले तर पेलेले उत्तर अमेरिकी क्लब न्युयोर्क कसमसले आकर्षित गरिरहेको थियो । 

कसमसका महाप्रबन्धक क्लाभ टोयले भनेका छन्, “विश्वका महान् खेलाडी पेले न्युयोर्क जस्तो सानो क्लबको टिमबाट खेलेर आफ्ना खेल जीवनको अन्त्य गर्न गइरहेको कुरा हास्यास्पद थियो तर मैले उनलाई भने इटाली नजानुस्, स्पेन नजाउनुस्, त्यहाँ तपाईंले पाउने भनेको एक प्रतियोगिता जित्ने मात्र हो । यहाँ अमेरिका आउनुस् र एउटा देश नै जित्नुस् ।”

सन् १९७५ मा पेलले कसमसबाट तीन वर्ष खेल्न २८ लाख डलरको सम्झौता गरे । उनी आउनु पहिले कसमसको खेल हेर्न आउने दर्शक १५ सयको हाराहारीमा हुन्थे । पेलेको उपस्थितिले दर्शक सङ्ख्यामा ठूलो वृद्धि भई औसतमा लगभग १४ हजार पुग्न गयो ।  

पेलेले सन् १९७७ मा कसमसलाई लिग विजेता बनाए र त्यहीँ उनले आफ्नो जीवनको अन्तिम खेल पनि खेले । पेलेले सन्न्यासपछि पनि फुटबल खेलाडी र खेलको विकासमा आफ्नो ऊर्जा प्रयोग गरिरहे ।