• १४ माघ २०७९, शनिबार

सीमा नदीको बिजोग

blog

नदी सभ्यतालाई जोगाइ राख्नु नै प्रकृतिलाई जोगाइ राख्नु हो । सफा तथा स्वच्छ खानेपानी आपूर्ति सफा नदीबाट सम्भव हुन्छ । सफा नदीबिना वातावरणीय सन्तुलन कायम राख्न सकिन्न । वातावरणीय सन्तुलन कायम गर्न पनि नदी सफा तथा स्वच्छ हुनु अनिवार्य छ । यसको ठीक विपरीत नेपाल र भारतको सिमाना भएर बग्ने पवित्र महाकाली नदी दुवैतिरबाट फोहोरले भरिन थालेको छ । पवित्र हुनुपर्ने नदीको यो दुर्दशा ज्यादै दुःखद विषय हो । अहिले यो नदी दुवै देशको डम्पिङ साइटका रूपमा परिणत हुँदै गएको छ । दुवै देशको सीमा भएर बग्ने महाकाली नदी नामबाट समेत पवित्र छ । तर दुवै देशका नागरिकको अज्ञानता, लापरबाही तथा चेतनाको अभावमा दिनानुदिन प्रदूषित बन्दै गएको अवस्था निकै नै चिन्ताजनक अवस्था मान्न सकिन्छ । 

विडम्बना नै भन्नुपर्छ, महाकाली नदी हिजोआज दुवै देशका नागरिकका फोहोर विसर्जन गर्ने डम्पिङ साइटझँै बन्न पुगेको छ । नेपालतर्फको बैतडी जिल्लाको दशरथ चन्द नगरपालिकाको झुलाघाट क्षेत्रको ढल मलमूत्र सिधै महाकालीमा विसर्जन गरिन्छ । यसैगरी दार्चुला जिल्लाको महाकाली नगरपालिकाको डम्पिङ साइट क्षेत्र महाकाली नदी छेउमै अवस्थित छ । यति मात्र होइन, भारततिरको झुलाघाट तथा धार्चुला बजारको फोहोर पनि यसै नदीमा मिसाइन्छ । यी सबै फोहोरका स्रोतले महाकाली नदीलाई प्रदूषित बनाइरहेको छ । अचम्म त के छ भने स्वच्छ सफा नगरको नारासहित नगरपालिका नगरका सडक किनारामा फूल रोपेर बजार क्षेत्रलाई सुन्दर बनाउने अभियानमा छन् अनि त्यससँगै मलमूत्र ढल निकास, मदिराका खाली सिसी तथा प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न नसकेर नदीमा फोहोर मिसाउँदै छन् । यो विडम्बना कहिलेसम्म ?

दशरथचन्द नगरपालिका फोहोर नदीमा पठाउने विकल्पबाट टाढा छैन । महाकाली नदी दुवै सीमावर्ती देशका स्थानीय निकायबाट पीडित रहेको यथार्थ हो । नेपालमा महाकाली नदी तथा भारतका केही सीमावर्ती स्थानमा धौलीगङ्गाबाट पुकारिने यो पवित्र नदी विगतमा नदी किनारका दसौँ हजार मानिसका निम्ति स्वच्छ तथा सफा पानीको मूल स्रोत पनि थियो । तर दुवै देशबाट मानव मलमूत्रलगायत फोहोरको डुङ्गुर मिसाइन थालेपछि महाकाली नदीको पानीमा झाडा पखाला तथा हैजाको जीवाणु कोलिफर्मका जीवाणुलगायत अन्य हानिकारक जीवाणु भेटिन थालेका छन् । महाकालीको पानीमा विगतभन्दा पीएचपी तत्त्वजस्ता हानिकारक तत्त्व पनि बढ्दै गएको परीक्षणबाट पत्ता लागेको छ । 

खानेपानीको अन्य स्रोत नभएका कारण बैतडी, दार्चुलालगायत नदी तटका झन्डै बीसौँ हजार व्यक्ति महाकालीकै प्रदूषित पानी पिउन बाध्य हुनु पक्कै पनि विडम्बना हो । महाकाली नदीका पानी प्रदूषित भएकै कारण ‘गोल्डेन महाशिर’ नामक दुर्लभ माछा पनि लोपोन्मुख हुँदै गएको वातावरणविद्को भनाइ छ । यो माछा फुल पार्न तथा भुरा हुर्काउन सफा पानी खोज्दै बङ्गालको खाडीबाट महाकाली नदीमा आउने गर्छ तर प्रदूषण बढ्दै गएका कारण अहिले निकै कम मात्र पाइने गरेका तथ्य वास्तवमै सोचनीय पाटो हो । महाकाली नदीलाई प्रदूषणमुक्त बनाउन नेपालले नै पनि आफ्नातर्फबाट सक्दो प्रयास गर्नु वाञ्छनीय छ । मानव मलमूत्रलाई नदीमा विर्सजन गर्नुको साटो यसबाट कृषि उब्जनीमा प्रयोग हुने मल तयार गर्न सकिने प्रशस्त सम्भावना हुन्छ ।

प्लास्टिक तथा खाली सिसीको विसर्जनका निम्ति अन्य वैकल्पिक उपाय अपनाएर नदीलाई स्वच्छ पार्न स्थानीय निकाय तथा नागरिकको महत्त्वपूर्ण भूमिका हुन सक्छ । नदी सफा राख्ने जिम्मेवारी तथा दायित्व सबैको हो, यो तथ्यलाई सबैले मनन गर्नु अति आवश्यक छ । महाकाली नदीलाई स्वच्छ, सफा तथा पिउन योग्य जलको स्रोत बनाइराख्नु सबैको जिम्मेवारी तथा दायित्व हो । सीमाबाट बग्ने भएकाले कुनै एक देशको प्रयासबाट मात्र महाकालीलाई प्रदूषणमुक्त बनाउन असम्भव प्रायः तथ्य हो । महाकाली सीमा नदी सफा हुनुपर्छ । 

नेपाल र भारतका स्थानीय सरकारको सहकार्य तथा समन्वयमा जनचेतना अभिवृद्धि गरी दुवै देशका बासिन्दालाई प्रदूषणरहित नदीको महत्त्व बुझाएर मात्र यो कार्य सम्भव छ । अन्यथा दुवै देशका बासिन्दाले प्रदूषित नदीका कारण विभिन्न प्राकृतिक तथा वातावरणीय अप्ठ्यारा भोग्नुपर्नेमा कुनै शङ्का देखिँदैन । दुवै देशका सरकार र जिम्मेवार स्थानीय तहको प्रयासले सीमा नदी सफा बनाउन सकिन्छ । त्यसैले त्यतातिर तत्कालै कदम चाल्नु वाञ्छनीय छ ।