• १४ माघ २०७९, शनिबार

प्रभावकारी भूमिकाको अपेक्षा

blog

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछि मुलुकको राजनीतिक यात्रा स्वाभाविक रूपमा अगाडि बढिरहेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकारको गठन भएलगतै प्रतिनिधि सभाले नयाँ सभामुख निर्वाचित गरेको छ । नयाँ उपसभामुखसमेत पाएको छ । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेपछि प्रतिनिधि सभाले पाँचौँ सभामुखका रूपमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को राजनीतिमा लामो समयदेखि सक्रिय रहनुभएका देवराज घिमिरेलाई पाएको छ । विहीबार सम्पन्न सभामुखको निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेलाई पराजित गरेपछि घिमिरे सभामुखको गरिमामय जिम्मेवारीमा पुग्नुभएको हो । राजनीतिमा लामो अनुभव भएका घिमिरे सभामुखमा भएसँगै प्रतिनिधि सभाले आफ्ना गतिविधिलाई अब नियमित रूपमा अगाडि बढाउन मार्ग प्रशस्त भएको छ । 


प्रतिनिधि सभाको सभामुख पद सम्मान तथा मर्यादाक्रमको दृष्टिकोणबाट निकै सम्मानित एवं उच्च पद हो । झन् संसदीय व्यवस्थाको लामो अभ्यास र इतिहास कोर्दै गरेको नेपालमा यसको अलगै गरिमा र प्रतिष्ठासमेत छ । यद्यपि विगतमा यो पद कतिपय अवस्थामा विवादमा नतानिएको समेत छ । सरकार तथा सभामुखबीचको सम्बन्ध अनावश्यक सुमधुर हुन नसकेको विगतको अवस्था हाम्राबीच विद्यमान छँदैछ । संसद् जनताको जल्दाबल्दा समस्याका विषयमा छलफल गर्ने गरिमामय संस्था हो । संसद्ले सरकार निर्माण मात्र होइन, सरकारलाई नजिकबाट निगरानीसमेत राख्छ र संसद्प्रति सरकारलाई जवाफदेही पनि बनाउँछ । यो जनताप्रति जवाफदेहीको प्रक्रियासमेत हो ।


यस्तो गहन भूमिका रहेको संसद् सञ्चालन गर्नुपर्ने हुनाले सभामुख पद गरिमामय छ । कुनै एक पार्टीप्रति निकट भएर सभामुखको भूमिका प्रभावकारी हुन सक्दैन । सबै राजनीतिक दलसितको समदूरीमा रहेर मर्यादित कार्य गर्नुपर्ने संसदीय कार्यकारी पद भएकामा कुनै शङ्का छैन । यसर्थ संसद्मा सभामुखको भूमिका सदैव निष्पक्ष तथा तटस्थ हुनुपर्ने अनिवार्य तत्व हो । नेपालको पहिलो सभामुख कृष्णप्रसाद भट्टराई, प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो सभामुख दमननाथ ढुङ्गानाले सभामुख पदलाई पार्टीको जिम्मेवारीभन्दा माथि उठेर सञ्चालन गरेको कुरालाई धेरै कोणबाट स्मरण गर्ने गरिन्छ । यसपछिका सभामुखले पनि यो परम्परालाई स्थापित गर्ने प्रयास गरेकै देखिन्छ । 


यही परम्परालाई आत्मसात् गर्दै सभामुख घिमिरे निर्वाचित भएलगत्तै आबद्ध रहेको एमालेका सम्पूर्ण जिम्मेवारी तथा पदबाट अलग भएको घोषणा गर्नुभएको छ । घिमिरे पार्टीको स्थायी समिति सदस्यका साथै प्रदेश १ इन्चार्ज हुनुहुन्थ्यो । उहाँ झापा २ बाट निर्वाचित हुनुभएको हो । पार्टीका सबै पदबाट अलग भएसँगै घिमिरेले सभामुखमा आफ्नो तटस्थ तथा निष्पक्ष भूमिका रहने सकारात्मक सन्देश दिनुभएको छ । यो अवस्थामा सभामुखले निष्पक्ष र स्वतन्त्र रूपमा पदीय जिम्मेवारी पूरा गर्नेमा विश्वस्त हुन सकिन्छ । संसद्मा धेरै राजनीतिक दल र स्वतन्त्र हैसियतमा समेत सांसद्हरूको उपस्थिति रहेको हुन्छ र ती सबैलाई मिलाएर लैजाने जिम्मेवारीसमेत सभामुखको रहेको हुन्छ । 


निर्वाचित भएपछिको एक कार्यक्रममा सभामुख घिमिरेले पदीय भूमिका र सदनको गरिमा अभिवृद्धि गर्न विगतका अभ्यासबाट पाठ सिकेर अगाडि बढ्ने विचार व्यक्त गर्नुभएबाट पनि संसद्मा उहाँले अभिभावकीय भूमिका निष्पक्ष रूपमा खेल्ने अपेक्षा गर्न सकिन्छ । यसलाई व्यवहारमा परिणत गर्न सकिए सभामुख पदको जिम्मेवारी र भूमिका अझ वृद्धि हुनेछ । संसद्को प्रमुख पद सभामुखको प्रजातान्त्रिक तवरले निर्वाचन भइसकेको अवस्थामा अब संसद्ले राष्ट्रका जल्दाबल्दा मुद्दामा समय दिनुपर्नेछ । व्यवस्थापकीय भूमिकासँगै संसद्लाई निष्पक्ष रूपमा सञ्चालन लोकतन्त्रको मर्मसमेत हो । सरकारलाई संसद्प्रति जवाफदेही बनाएर जनताको समस्यामा केन्द्रित गराउनमा पनि सभामुखको विशेष जिम्मेवारी भूमिका हुन्छ । मुलुकले आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा छिट्टै फड्को मान्नुपर्नेछ, संसद्मा जनताका पक्षमा थुप्रै बहस पैरवी हुने अवस्था छँदैछ । यो अवस्थामा संसद्का गतिविधिलाई जनताले नजिकबाट नियालिरहेका समेत हुन्छन् । झन् अहिलेको जस्तो सूचना र प्रविधिको युगमा त आफ्ना जनप्रतिनिधिले जनताको सर्वोच्च थलो संसद्मा के कस्तो आवाज उठाए र त्यसमा सरकारले के कस्तो प्रतिक्रिया जनाएको छ भन्ने कुरामा जनताले बडो नजिकबाट नियालिरहेका हुन्छन् । यो अवस्थामा संसद्लाई साँच्चिकै प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने जिम्मेवारी घिमिरेको काँधमा आइपरेको छ । यस कार्यमा नवनिर्वाचित सभामुखलाई सफलता मिल्ने विश्वास गर्न सकिन्छ ।