• १४ माघ २०७९, शनिबार

शालीनदी मेलाको महँगी

blog

नेपाली संस्कृतिमा वर्षका विभिन्न महिनामा विभिन्न देवीदेवताको विशेष पूजा आराधना गरिनु विशेषता नै हो । यसैगरी विशेषतः पुस महिनाको शुक्ल पूर्णिमादेखि माघ पूर्णिमासम्म एक महिना श्रीस्वस्थानी अर्थात् आफ्नै स्थानकी देवीको एक महिने व्रत, पूजा आराधना गरिन्छ । कथा सुनिन्छ । सुनाइन्छ । यो ऐतिहासिक परम्परा लामो समयदेखि चल्दै आएको छ । त्यसक्रममा काठमाडौंँको मुख्य सहरदेखि १६ किलोमिटर उत्तरपूर्वी दिशामा रहेको शङ्खरापुर नगरपालिकाको साँखुमा पर्ने शालीनदीको विशेष महिमा छ । स्वस्थानीकै कारण त्यस क्षेत्रको महिमा बढेको हो । त्यस क्षेत्रमा हिजोआज स्वस्थानी माता तथा माधवनारायणको मेला चलिरहेको छ । 

शालीनदी क्षेत्रलाई स्वस्थानी माताको विशेष पावन क्षेत्रका रूपमा लिइन्छ । स्वस्थानी व्रत कथामा उल्लेख गरिएको शालीनदी, लावण्य देश, गोमा ब्राह्मणी तथा नवराज राजालगायत केही घटना तथा पात्र सोही स्थानसँग सम्बन्धित भएकाले पनि धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट श्रद्धालुको आस्थाको केन्द्र बनेको छ शालीनदी क्षेत्र । बर्सेनि पुस शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म त्यहाँ स्वस्थानीको मेला लाग्ने गर्छ र दिनहुँ हजारौँ भक्तजन आफ्नो आस्था अनि विश्वाससहित स्वस्थानी देवीको यो दिव्य थलोमा पुग्ने गर्छन् । एक महिनासम्म दर्शनार्थीको भीडभाडले यस क्षेत्रमा फूल पूजाका सामग्रीलगायत खाजा नास्ता बिक्री गर्ने साना पसलको व्यावसायिक गतिविधि बढ्नु स्वाभाविक नै हो ।

मेलापर्वका अवसरमा व्यापार व्यवसाय बढ्नु राम्रो पक्ष हो तर यसै सन्दर्भमा उपभोक्तालाई महँगीको जालमा पार्नै पर्छ भन्ने मनस्थिति भने उचित होइन । विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा समेत यहाँका व्यापारी तथा व्यवसायीले दर्शनार्थीसँग असुल्ने चर्को मूल्य निकै चर्चाको विषय बन्दै आएको छ । स्वस्थानीको माताको यो पावन थलोमा केही व्यक्ति तथा व्यापारीले श्रद्धासहित पुगेका श्रद्धालुसँग सामान्य वस्तु तथा सेवामा समेत चर्को मोल असुल्ने गरेका छन् । टाढाटाढाबाट पुगेका श्रद्धालु भक्तजनलाई सुविधा उपलब्ध गराउनु पर्ने हुन्छ । मठमन्दिर र धार्मिक आस्थालाई पैसासँग कारोबार गर्ने व्यवहार उचित हुँदैन । कतिपय वस्तु तथा सेवा सामान्य मूल्यमा उपलब्ध गराउने सेवामूलक भावनाले काम गर्दा धार्मिक तथा सांस्कृतिक उत्थानमा सहयोग पुग्छ । चर्को मूल्य असुल्ने कार्य अनुचित मात्र होइन, निन्दनीयसमेत मान्न सकिन्छ । 

पूजा सामग्रीका रूपमा अलिकति बेलपत्र, फूलको थुँगा, सानो जटा नरिवल, थोरै जौ तिलको मूल्य तीन सय रुपियाँसम्म शालीनदीमा असुल्ने गरिएको आमभक्तजनको गुनासो छ । यस भाउलाई कुन तरिका वा पद्धतिबाट उपयुक्त मान्न सकिएला ? यसैगरी सामान्य पुरी, तरकारी, जेरीसहितको खाजा मूल्य तीन चार सय असुलिनु कुन दृष्टिबाट उपयुक्त ठान्न मिल्ला ? तीन चार घण्टा सवारीसाधन पार्किङ गरेको सात आठ सय रुपियाँ शुल्क तिर्न लगाउनु कतिसम्म जायज पक्ष हो ? शौचालयका निम्ति तीस रुपियाँसम्म शुल्क लिनुले शालीनदीको मेलाका नाममा अनियमितताको पर्याय नै हो । यसमा स्थानीय सरकार, प्रदेश तथा सङ्घीय प्रशासनले के हेरेर बसेका छन् ? मौका पाउनसाथ जति पनि असल्नु पर्छ भन्ने मान्यता उचित हुन सक्ला ?  

साँखु शालीनदीमा श्रद्धालु भक्तजनमाथि भइरहेको यो आर्थिक शोषणको पक्षमा स्थानीय सरकार तथा स्थानीय प्रशासनको ध्यान जानुपर्ने देखिएको छ । कतिपय भक्तजन तथा स्थानीयकै भनाइमा स्थानीय सरकार अप्रत्यक्ष रूपमा यसको पृष्ठपोषणमा सहभागी रहेको आशङ्का छ । नगरपालिकाको उपमेयरले विशेष मेलामा तुलनात्मक रूपमा सबै कुरो महँगो हुने अभिव्यक्ति दिएर यो आर्थिक शोषणलाई आधिकारिता प्रदान गर्ने कार्य गर्नुभएको समेत देखिएको छ । यसबाट यो चर्को मूल्य असुल्ने कार्यमा नगरपालिका जस्तो स्थानीय सरकारको पनि अप्रत्यक्ष भूमिका रहेको आशङ्कासमेत उब्जाएको छ । खाजा नास्तालगायत अन्य विषयवस्तुको मोलबारे अनुगमन गरिएको बताउने नगरपालिकाले तीनचार घण्टा सवारी पार्किङको सात आठ सय, सामान्य पूजा सामग्रीको तीनचार सय तथा सामान्य खाजा नास्ताको चार सय रुपियाँलाई कुन पक्षबाट सहज तथा नियमित ठान्यो, अचम्मकै विषय बनेको छ । शालीनदीजस्तो पवित्र स्थलमा यसरी भक्तजनमाथिको आर्थिक शोषण वास्तवमै निन्दनीय छ । यसमा सरोकार निकायको तत्कालै ध्यान जानुपर्छ । अनुगमन हुनुपर्छ । भक्तजन र कतिपय स्थानीयका आक्रोश बढ्न थालेको देखिनु राम्रो होइन ।