• १४ माघ २०७९, शनिबार

जीवनोपयोगी शिक्षा

blog

शिक्षा भनेको अरूलाई ज्ञान सिकाउने कार्य वा अरूबाट ज्ञान लिने दुवै कार्य हो। शिक्षा भनेको शिक्षण संस्थाबाट प्राप्त हुने ज्ञान हो भनिन्छ। वास्तविक जीवनका उदाहरण हेर्दा प्राथमिक विद्यालय, उच्च र कलेजहरू शिक्षामा केन्द्रित संस्था हुन्। मानिसलाई यी स्थानमा महत्वपूर्ण जानकारीहरू र जीवनका लागि आवश्यक सीप सिकाइन्छ। मेडिकल कलेज, कानुन स्कुलले थप विशेष प्रकारका शिक्षाहरू प्रदान गर्छन्।

बालबालिकाको उचित शिक्षा हरेक देशमा महत्वपूर्ण मानिन्छ। संस्कृति, अनुशासन सुधार, सूचनाको प्राप्ति, स्कुलको शिक्षाहरू जस्तैः विज्ञान अध्ययन, अध्यापन, मस्तिष्क धुने, प्रशिक्षण, प्रजनन स्वास्थ्य, सभ्यता, इतिहास, भूगोल, परामर्श र खेती प्रणालीको बारेमा जानकारी प्राप्त गर्ने कुराहरूलाई हामी शिक्षा भन्दै आएका छाैँ। युरोपेली विद्यालय प्रणालीमा दुई वर्षको प्रारम्भिक शिक्षा (नर्सरी चक्र) पाँच वर्षको प्राथमिक शिक्षा र सात वर्षको माध्यमिक शिक्षा समावेश छ। स्विट्जरल्यान्ड र यरोपेली सङ्घको शिक्षा प्रणाली विश्वमा उच्च मूल्यवान छ भनिन्छ। यी देशहरूको पाठ्यक्रम संसारमा उत्कृष्ट रहेको बताइन्छ।

स्विट्जरल्यान्डमा अनिवार्य शिक्षा नौदेखि एघार वर्षसम्म रहन्छ। धेरै बालबालिकाले छ वर्षको उमेरमा प्राथमिक विद्यालय सुरु गर्नुपर्छ। प्राथमिक शिक्षा आठ वर्षसम्म रहन्छ। यद्यपि तीमध्ये छवटा मात्र अनिवार्य छन्। अनिवार्य माध्यमिक शिक्षा तीन वर्षसम्म रहन्छ। अमेरिकी शिक्षा प्रणालीमा १२ वर्षको प्रारम्भिक र माध्यमिक शिक्षा समावेश छ, जुन विद्यार्थीले पोस्ट सेकेन्डरी शिक्षाका अगाडि बढ्नु अघि। अमेरिकामा स्कुल क्यालेन्डर अगस्ट वा सेप्टेम्बरमा सुरु हुन्छ र मे वा जुनसम्म जारी रहन्छ। अधिकांश विद्यार्थीले शरद् ऋतुमा विद्यालय सुरु गर्छन्। 

संसारभरका धेरै परिवार आफ्ना बालबालिकाका लागि अमेरिकी शिक्षाको आकाङ्क्षा र प्रयास गर्छन् किनभने अमेरिकी विद्यालय सन्तुलित प्रयास र परीक्षण पाठ्यक्रममार्पmत उच्च गुणस्तरको शिक्षा प्रदानका लागि परिचित छन्। अफ्रिकाको शिक्षा प्रणालीलाई सामान्य शिक्षा र प्रशिक्षण, थप शिक्षा र प्रशिक्षण, उच्च शिक्षा र प्रशिक्षण गरी तीन तहमा विभाजन गरिएको छ।

शिक्षाको आलोचनात्मक सिद्धान्त :

शिक्षाको आलोचनात्मक सिद्धान्त वास्तविक विश्व परिस्थितिमा दार्शनिक, राजनीतिक र शैक्षिक प्रतिक्रिया हुन्, जसले व्यक्तिको प्रगतिशील विकासको माध्यमबाट सांस्कृतिक र सामाजिक रूपान्तरण गर्न शिक्षाको उद्देश्य, दायरा र वितरणलाई परिवर्तन गर्ने प्रयास गर्छ। के यो जायज थियो ? त्यो मात्र थियो ? त्यहाँ समानता थियो ? ब्राजिलका शिक्षाविद् पाउलो फ्रेरेले यस्तो संसारको कल्पना गरे, जहाँ सबै विद्यार्थीहरूले आफ्नो आलोचनात्मक चेतनाको विकास गरेका थिए। अब तपाईं हामी पनि त्यो गर्न किन नसक्ने भन्ने प्रश्न र जिज्ञासाहरू उठाउँछन्। पाउलो फ्रेरे आज महत्वपूर्ण शिक्षाशास्त्रीको रूपमा चिनिने एक च्याम्पिएन थिए, शिक्षाले विद्यार्थीलाई यथास्थितिभित्र शक्ति संरचना र असमानताको ढाँचा जाँच्न चुनौती दिनुपर्छ भन्ने विश्वासको सिर्जना गरेका थिए।

बैङ्किङ शिक्षा र रूपान्तरणकारी शिक्षा

बैङ्किङ शिक्षाले विद्यार्थी तथा सहभागीहरूमा यस किसिमको प्रवृत्ति विकास गरिदिन्छ, जसले शिक्षक तथा अग्रजबाट प्राप्त ज्ञानलाई आफूमा नासोको रूपमा राख्दै आफू यथास्थितिभन्दा माथि उठ्न सक्दैनन्। त्यसैले शिक्षा शोषणमा परिणत हुन्छ। विद्यार्थी तथा सहभागीभित्रको सिर्जनशीलता विकास हुने वातावरण नदिनु र जहिले पनि पुरानै चिन्तनमा मस्त हुने अवस्था सिर्जना गर्नु नै बौद्धिक उर्वरशीलताको शोषण हो। यसले विद्यार्थीलाई अन्वेषणमूलक र रचनात्मक हुन दिँदैन र उनीहरूमा आलोचनात्मक चेतनाको विकास हुन दिँदैन। शैक्षणिक प्रणाली केवल शिक्षकमा आश्रित हुनुभन्दा पनि अन्तरनिर्भरतापूर्ण हुनुपर्छ। विद्यार्थी वा सहभागी शून्य तथा खाली भाँडो हो र शिक्षक सम्पूर्ण हो भन्ने सोचाइमा परिवर्तन आउनु पर्छ। पारस्परिक एवं अन्तरनिर्भरतापूर्ण शैक्षणिक प्रणालीलाई ‘समस्या केन्द्रित शिक्षा प्रणाली’ वा ‘रूपान्तरणकारी शिक्षा प्रणाली भनिन्छ।’ रूपान्तरणकारी शैक्षणिक प्रक्रियामा अन्तरनिहित क्षमता विकासको वातावरण दिइन्छ। यसरी प्राप्त शिक्षामा ज्ञान तथा सूचनाको हतान्तरण मात्र हुँदैन कि परिस्थिति अनुकूल त्यसको विश्लेषण गरिन्छ र विद्यार्थीले हु–बहु कण्ठ गर्नुको सट्टा निचोड बुझ्छ र यसरी लिइएको सारलाई उसले आफ्नो जीवन रूपान्तरणको बाटोमा प्रयोग गर्छ। जस्तो एक जना सहयोगी वा शिक्षकबाट शोषण गर्नु हुँदैन भन्ने सन्देश पाउनु मूल कुरा हुन सक्दैन, शोषण के हो ? शोषण कसरी र कुन–कुन क्षेत्रमा हुने गर्छ ? शोषण किन हुन्छ ? आफूले शोषण नगर्न के गर्ने र अरूका लागि आफ्नो भूमिका के हुने भन्ने विश्लेषण र चेतना पाउनु महत्वपूर्ण पक्ष हो। परम्परागत बैङ्किङ शैक्षणिक प्रक्रियामा शिक्षक/उपदेशकले आफ्नो मथिङ्गलको ज्ञानरूपी बोझ विद्यार्थी सहभागी माथि बिसाउने कोसिस गर्छ तर रूपान्तरणकारी शैक्षणिक प्रणालीमा विद्यार्थी/सहभागीहरू शिक्षकको साथमा आलोचनाकर्ता तथा सह–अन्वेषकको रूपमा क्रियाशील हुनुको साथै नयाँ चेतना तथा ज्ञान प्राप्तिमा सक्रिय रहन्छन्। आफूले निकालेको सिकाइको सारलाई व्यवहारमा उतार्न र त्यसलाई मात्रात्मक तथा गुणात्मक रूपमा अभिवृद्धि गर्न तयार हुन्छन्। 

उन्नत एंव समतामूलक समाजका लागि हामीले कस्तो किसिमको शैक्षणिक प्रणाली अपनाउने भन्ने कुरामा ध्यान दिनुपर्छ। व्यक्तिगत रूपान्तरणदेखि समग्र सामाजिक रूपान्तरण तथा राज्यकै पुर्नसंचना र रूपान्तरणको कुरा गर्दा त्यसको स्थायित्व तथा संस्थागत विकासका लागि शैक्षणिक प्रणालीले ठूलो भूमिका खेल्छ। शैक्षणिक प्रणाली लेख्ने र पढ्ने क्रियासँग मात्र सीमित छैन। यो त अवलोकन गर्ने, सुन्ने बुझ्ने र अन्तक्र्रिया गर्नेसँग सम्बन्धित छ। अर्को शब्दमा शैक्षणिक प्रक्रियाबाट ज्ञान, सीप, धारणा, संस्कृति र प्रवृत्तिको हस्तान्तरण तथा निर्माण हुन्छ। एउटा शिक्षकले विद्यार्थीलाई निश्चित विषयवस्तुमा रहेर सिक्न मद्दत गर्नु र एउटा आमाले छोरा छोरीलाई चलन–संंस्कार मूल्यमान्यता र प्रवृत्ति विकासका लागि सहयोग गर्नु दुवै क्रिया शैक्षणिक प्रक्रियाअन्तर्गत पर्छन्। 

हाम्रो शिक्षणलाई रचनात्मक, सिर्जनाशील बनाउनका लागि रूपान्तरणकारी शैक्षणिक प्रक्रिया अपनाउनु पर्छ। बैङ्किङ शैक्षणिक विधिले मानिसमा यथास्थिति एवं प्रभुत्ववादी चिन्तनको विकास गर्छ। हाम्रो परिवार, समाज, सङ्घ–संस्था, सहपाठी, शिक्षक आदिबाट हस्तारण हुने शिक्षा एवं प्रवृत्ति रूपान्तरणकारीभन्दा पनि बैङ्किङ किसिमको छ र यसले मानिसमा विश्लेषणात्मक प्रवृत्ति विकासको अवसर नै दिँदैन। 

शिक्षाले विद्यार्थी अर्थात् ग्रहणकर्तामा विकारयुक्त प्रवृत्ति भर्नु हुँदैन। बरु शैक्षणिक क्रियाले व्यक्तिभित्र मन्थन पैदा गर्नुपर्छ, जसले विकारयुक्त विचार निस्कासन गरोस् र सकारात्मक र वैज्ञानिक चेतना विकास गर्न सकोस्। अतः हरेक व्यक्ति कुनै न कुनै रूपमा शैक्षणिक प्रक्रियामा सहभागी हुने भएकोले प्रगतिशील र समतामूलक समाजका लागि रूपान्तरणकारी शैक्षणिक प्रणाली अपनाउनु अपरिहार्य देखिन्छ। रूपान्तरणकारी शैक्षणिक प्रणालीले व्यक्तिलाई बढी व्यावहारिक र रचनात्मक बनाउँछ।