• १४ माघ २०७९, शनिबार
blog

नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त बैङ्क तथा वित्तीय संस्थामा प्राकृतिक व्यक्तिका नाममा खोलिएका बचत तथा मुद्दती खातामा राखेको निश्चित सीमासम्मको रकम संस्था समस्याग्रस्त घोषणा भई फिर्ता गर्न नसकेमा उक्त सीमासम्मको निक्षेप रकम फिर्ता गर्ने गरी सुरक्षण गराउने काम नै निक्षेप सुरक्षण हो। बैङ्क तथा वित्तीय संस्था ग्राहकका निक्षेपको संरक्षक भएकाले ग्राहकको निक्षेप कुनै पनि बेला फिर्ता गर्ने अवस्थामा रहनुपर्छ। 

बैङ्किङ व्यवसायमा प्रशस्त जोखिम भइरहने हुँदा प्रणालीमा कमजोर वित्तीय संस्था विघटन हुने अवस्था आउन सक्ने सम्भावना उत्तिकै हुन्छ। वित्तीय संस्थाहरू प्रतिस्पर्धा, खराब वित्तीय अवस्था, जोखिम अथवा अन्य कारणले विघटनमा जानुपर्ने अवस्थामा दुःख गरेर ग्राहकले वित्तीय संस्थामा राखेको रकम डुब्नु हुँदैन भन्ने मान्यता नै ग्राहक संरक्षण हो। निक्षेप सुरक्षणले ग्राहकको संरक्षण पनि गरिरहेको हुन्छ। वित्तीय सेवा उपभोग गर्ने ग्राहकको संरक्षण गर्ने दायित्व सम्बन्धित वित्तीय संस्थाको हो भने नीति निर्माण तथा अनुगमन गर्ने कार्य नियामक निकाय र राज्यको पनि हो । 

२०७९ साउन १ गतेबाट प्राकृतिक व्यक्तिका नाममा बैङ्क तथा वित्तीय संस्थाको बचत, चल्ती, कल तथा मुद्दती खातामा रहेको तीन लाखसम्मको रकमको निक्षेप बीमाको सीमा पाँच लाख रुपियाँ पु¥याइएको छ । नेपालमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सुरक्षण हुने गरेको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा स्थापित निक्षेप तथा सुरक्षण कोषको कार्यालयले निक्षेप सुरक्षण गर्ने गरेको छ । यो कोषले बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गर्ने साना कर्जाको पनि केही प्रिमियम लिई सुरक्षण गरी उद्यमशीलताको विकासमा सहयोग पुगेको छ। कोषले वार्षिक ०.१६ प्रतिशत प्रिमियम लिई वित्तीय संस्थाबाट निक्षेपको सुरक्षण गरिरहेको छ। यो प्रिमियम वित्तीय संस्थाले त्रैमासिक रूपमा भुक्तानी गरिरहेका छन्।

आर्थिक वर्ष २०७८/०७९ मा निक्षेप तथा सुरक्षण कोषमा ‘क’ वर्गमा २६, ‘ख’ वर्गमा १७, ‘ग’ वर्गका १६ र ‘घ’ वर्गका दुई गरी जम्मा ६१ बैङ्क तथ वित्तीय संस्थाहरूले आफ्ना बचत, चल्ती, कल र मुद्दती खाताको तीन करोड ७० लाख ३० हजार खातावालाको ११ खर्ब २४ अर्ब ७६ करोड रुपियाँ बराबरको निक्षेपको सुरक्षण गरेका छन्, जसमध्ये ‘क’ वर्गका तीन करोड १९ लाख ५२ हजार खातावालाको नौ खर्ब ६८ अर्ब रुपियाँको निक्षेप सुरक्षण गरेको छ। ‘ख’ वर्गका ४५ लाख ४ हजार खातावालाको एक खर्ब २६ अर्ब रुपियाँको निक्षेप सुरक्षण गरेको छ। ‘ग’ वर्गका पाँच लाख १६ हजार खातावालाको १८ अर्ब ९५ करोड रुपियाँको निक्षेप सुरक्षण गरेको छ। ‘घ’ वर्गका ५८ हजार खातावालाको एक अर्ब १६ करोड रुपियाँको निक्षेप सुरक्षण गरेको छ। 

त्यस्तै आर्थिक वर्ष २०७९/०८० को असोजसम्ममा निक्षेप तथा सुरक्षण कोषमा ‘क’ वर्गमा २६, ‘ख’ वर्गमा १७, ‘ग’ वर्गका १६ र ‘घ’ वर्गका दुई गरी जम्मा ६१ बैङ्क तथा वित्तीय संस्थाले आफ्नो बचत, चल्ती, कल र मुद्दती खाताको तीन करोड ८० लाख २३ हजार खातावालाको ११ खर्ब ५२ अर्ब १३ करोड रुपियाँबराबरको निक्षेपको सुरक्षण गरेका छन्। जसमध्ये ‘क’ वर्गका तीन करोड २६ लाख खातावालाको नौ खर्ब ९० अर्ब रुपियाँको निक्षेप सुरक्षण गरेको छ। ‘ख’ वर्गका ४८ लाख २० हजार खातावालाको एक खर्ब ३० अर्ब रुपियाँको निक्षेप सुरक्षण गरेको छ। ‘ग’ वर्गका पाँच लाख ४३ हजार खातावालाको १९ अर्ब ७० करोड रुपियाँको निक्षेप सुरक्षण गरेको छ। ‘घ’ वर्गका ६० हजार खातावालाको एक अर्ब २३ करोड रुपियाँको निक्षेप सुरक्षण गरेको छ। 

आर्थिक वर्ष २०७८/०७९ मा ६१ बैङ्क तथा वित्तीय संस्थाले आफ्ना बचत, चल्ती, कल र मुद्दती खाताको ११ खर्ब २४ अर्ब ७६ करोड रुपियाँ बराबरको निक्षेप सुरक्षण गरेको मध्ये राष्ट्रिय वाणिज्य बैङ्कले आफ्नो बचत, चल्ती, कल र मुद्दती खातामा रहेको ७१ अर्ब ३६ करोड रुपियाँको निक्षेप सुरक्षण गरी बैङ्क तथा वित्तीय संस्थामा सर्वाधिक निक्षेप सुरक्षण गर्दै सबैभन्दा बढी सुरक्षण दस्तुुर भुक्तान गर्ने बैङ्कका रूपमा कोषको प्रमाणपत्र प्राप्त गरेको छ। यसले राष्ट्रिय वाणिज्य बैङ्क आफ्ना ग्राहक संरक्षण गर्ने कार्यमा प्राथमिकताका साथ कार्य गरिरहेको देखिन्छ। ग्राहक संरक्षणमा यथोचित भूमिकासहित वित्तीय प्रणालीको स्थायित्व कायम गर्नसमेत राष्ट्रिय वाणिज्य बैङ्कको भूमिका अग्रणी छ। 

त्यस्तै आर्थिक वर्ष २०७९/०८० को असोजसम्ममा ६१ बैङ्क तथा वित्तीय संस्थाले आफ्ना बचत, चल्ती, कुल र मुद्दती खाताकोे ११ खर्ब ५२ अर्ब १३ करोड रुपियाँ बराबरको निक्षेप सुरक्षण गरेकामा राष्ट्रिय वाणिज्य बैङ्कले आफ्नो बचत, चल्ती, कल र मुद्दती खातामा रहेको ९२ अर्ब ८४ करोड रुपियाँको निक्षेप सुरक्षण गरेको छ।

अन्तर्राष्ट्रिय अभ्यास

छिमेकी राष्ट्र भारतमा ६० को दशकमा निक्षेपको सुरक्षण गर्ने कार्य सुरुवात भएको हो। भारतीय रिजर्भ बैङ्कको पूर्ण स्वामित्वमा सञ्चालित डिपोजिट इन्सुरेन्स एन्ड क्रेडिट ग्यारेन्टी कर्पोरेसन (डीआईसीजीसी) ले पाँच लाख रुपियाँ रकमसम्मको निक्षेप सुरक्षण गर्ने व्यवस्था गरेको छ। क्षेत्रीय ग्रामीण बैङ्क तथा सहकारी 

बैङ्कहरू विघटनमा जाँदा डीआईसीजीसीले २०२१ डिसेम्बरदेखि २०२२ मार्चसम्ममा पाँच लाख रुपियाँसम्मका निक्षेपकर्ताको ७२४८ करोड रुपियाँ बराबरको निक्षेप बीमा रकम भुक्तानी गरेको जनाएको छ। डीआईसीजीसीमार्फत भारतमा ७६ लाख करोड रुपियाँ बराबरको निक्षेपको ९८ प्रतिशत रकम निक्षेप सुरक्षण कार्यक्रमद्वारा सुरक्षित भएको हालै एक कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ। अमेरिकामा फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेसनले सन् १९३३ देखि निक्षेप सुरक्षणसम्बन्धी कार्य गर्दै आइरहेको छ। कर्पोरेसनल हाल प्राकृतिक व्यक्तिका नाममा खोलिएको दुई लाख ५० हजार अमेरिकी डलर बराबर रकमको निक्षेप सुरक्षण गर्ने गरेको छ। सन् २००२ देखि विश्वभरि निक्षेप सुरक्षणसम्बन्धी कार्यको विशेषज्ञता साझा गरी प्रभावकारी बनाउन इन्टरनेसनल एसोसियसन अफ डिपोजिट इन्सुअर्स संस्था कार्यरत छ। यस संस्थामा विश्वका ९२ राष्ट्र सदस्य छन् भने नेपालले यसको सदस्यता लिएको छैन।

बैङ्कको वित्तीय स्थायित्व कायम गर्न निक्षेपकर्ता, ऋणी र सरोकारवालाको विश्वास जित्न आवश्यक छ। बचतकर्ताले आफूले गरेको बचत सहज र सुरक्षित तरिकाले उपयुक्त प्रतिफलको सुनिश्चित हुने गरी बैङ्कमा जम्मा गर्ने अपेक्षा गरेका हुन्छन्। त्यसैगरी 

बैङ्कबाट कर्जा लिने ऋणीहरूले आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न वा आर्थिक आवश्यकता पूरा गर्न उपयुक्त दरमा बैङ्कबाट सहज रूपमा कर्जाको अपेक्षा गरेका हुन्छन्। यो अपेक्षा पूरा गर्न बैङ्क तथा वित्तीय संस्थाले प्रविधिमैत्री गुणस्तरीय बैङ्किङ सेवा, सबै जनतामाझ सहज बैङ्किङ पहुँच, प्रभावकारी जोखिम व्यवस्थापन, मजबुत आन्तरिक नियन्त्रण प्रणाली, नियमन मापदण्डको पूर्ण पालना, विश्वासिलो एवं पारदर्शी संस्थागत सुशासन पद्धति, मितव्ययी कार्यसञ्चालन प्रणाली आदिका माध्यमबाट बचतकर्ता, ऋणी, लगानीकर्ता तथा अन्य जनताको मन जित्नेतर्फ बैङ्क व्यवस्थापकले ध्यान दिएमा ग्राहक संरक्षण सिद्धान्तको अनुपालना भई वित्तीय प्रणालीकोे स्थायित्व कायम गर्नमा सहयोग पुग्छ।

निक्षेप सुरक्षणबाट प्राकृतिक व्यक्तिका नाममा रहेको पाँच लाख रुपियाँसम्मको रकम सुरक्षण हुन्छ। यसले साना तथा मध्यम निक्षेपकर्ताको पैसा सुरक्षित त अवश्य भएकै छ, यसबापत ग्राहकले कुनै आर्थिक खर्च बेहोर्नु पर्दैन। यसले वित्तीय संस्थाप्रति आम नागरिकको भरोसा बढेकै पाइन्छ। निक्षेप सुरक्षणमा अहिले नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ६१ वटा बैङ्क तथा वित्तीय संस्थाहरू मात्र आबद्ध छन् तर प्रणालीमा सहकारी संस्थाहरूले पनि सर्वसाधारणसँग बचत सङ्कलन गरिरहेका हुन्छन्। सहकारी संस्थामा आर्थिक कारोबार बढ्दो छ। यदाकदा सहकारीका सञ्चालक संस्था बन्द गरेर भागेका समाचार सुन्न पाइन्छन्। यसले वित्तीय प्रणालीमा स्थायित्व कायम गर्न चुनौती थपेको छ। यस्तो अवस्थामा सहकारी संस्थाहरूमा रहेका ग्राहकको निक्षेपको सुरक्षण हुनु जरुरी छ। सर्वसाधारणको बचत सङ्कलन गर्ने सहकारी संस्थालाई निक्षेप सुरक्षण कार्यक्रममा जोड्न सकेमा ग्राहक संरक्षण बढ्न गई वित्तीय प्रणालीप्रति आमनागरिकको विश्वास बढ्ने छ। यसबाट निक्षेप सुरक्षणबापत वित्तीय संस्थाले निक्षेप तथा सुरक्षण कोषमा भुक्तान गरिरहेको लागत घट्न गई सोही प्रिमियमले पाँच लाख रकमको सुरक्षण सीमाभन्दा बढी रकमको निक्षेप सुरक्षण गर्न सक्छन्। फलस्वरूप वित्तीय संस्थाहरूले ठूलो रकमको निक्षेप सुरक्षण गर्ने गर्दा नागरिकले वित्तीय संस्थामा निर्धक्क रकम जम्मा गर्न सक्छन्। यसबाट औपचारिक अर्थतन्त्रप्रति जनता आकर्षित भई आर्थिक विकासमा सहयोग पुग्न जान्छ। 

वर्तमान समयमा वित्तीय ग्राहक संरक्षणलाई वित्तीय समावेशिताको अङ्गका रूपमा लिइन्छ। देशको वित्तीय प्रणालीको समृद्धिका लागि बैङ्क तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुन्छ भने बैङ्कको समृद्धिका लागि निक्षेपकर्ताको पैसा सुरक्षित हुनु उत्तिकै जरुरी छ। बैङ्क तथा वित्तीय संस्थालाई बचाउनु छ भने निक्षेपकर्तालाई सुरक्षा दिनुपर्छ। बैङ्क तथा वित्तीय संस्था अर्थव्यवस्थाको भरोसाका केन्द्रबिन्दु हुन्। निक्षेप सुरक्षण मुलुकको समग्र बैङ्किङ तथा वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न, निक्षेपकर्ताको हकहितको संरक्षण गर्न सहयोगसिद्ध हुन्छ। निक्षेप सुरक्षणले मात्र वित्तीय प्रणालीमा स्थायित्व हुने होइन, प्रणालीमा वित्तीय अनुशासन र अनुगमनको पनि उत्तिकै महत्व छ भन्ने बुझ्नु जरुरी छ।