• १४ माघ २०७९, शनिबार

एकेडेमी साझा बनाइनुपर्छ

blog

खोटाङको खोटेहाङ गाउँपालिका स्थायी बसोबास भएका डा. विष्णु राई नेपाली साहित्यका चर्चित स्रष्टा हुनुहुन्छ। उहाँका दर्जनौँ कृति प्रकाशित भइसकेका छन्। भर्खरै उहाँको ‘खियामा ब्लु स्काई’ नामक अङ्ग्रेजी भाषामा लेखिएको कविता/गीत सार्वजनिक भएको छ। मानवशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गर्नुभएका डा. राई प्राध्यापन पेसामा रहनुभएको छ। साहित्य, लेखन, अध्ययनमा धेरै नै रुचि राख्नुहुने उहाँसँग साहित्यिक गतिविधिमा केन्द्रित रहेर गोरखापत्रका लागि सुकृत नेपालले गरेको कुराकानी : 

कति भयो साहित्यिक क्षेत्रमा लाग्नुभएको ? 

मैले २०२८ सालमा एसएलसी पास गरेको हुँ। साहित्यमा मेरो पहिलेदेखिकै रुचि हो। स्कुलमा शिक्षकहरूले मलाई तिमी धेरै राम्रो लेख्छौ भनेर लेख्न प्रोत्साहन गरिरहनुहुन्थ्यो। त्यही प्रोत्साहनले पनि आज मलाई यहाँसम्म ल्याएको छ। अझ पनि लेखिरहेकै छु। साहित्यमा कथा, कविता, गीतहरू मेरो रुचिका विषयहरू हुन्। मेरा पाँचवटा कथासङ्ग्रह, चारवटा गीत र कविता सङ्ग्रहहरू छन्। 

तपाईंको पहिलो कविता/पुस्तक कुन थियो ?

२०३१ सालमा मेरो पहिलो कविता ‘आलोक’ झापामा प्रकाशित हुने मासिक पत्रिकामा छापिएको थियो। त्यतिबेला त्यसरी पत्रिकामा स्थान पाउनु हामीलाई ठूलो कुरा लाग्थ्यो। ‘मेरो बिरानो’ शीर्षकको कविता प्रकाशन भएको थियो। त्यस्तै २०३५ सालमा रत्न पुस्तकबाट ‘माला’ कथासङ्ग्रह प्रकाशित भएको थियो।  

यतिका वर्ष साहित्यमा लाग्नुभयो र अझ पनि हुनुहुन्छ ? साहित्यले तपाईंलाई के दियो ?  

साहित्य भनेको पाउनका निम्ति होइन। साहित्य त आत्मसन्तुष्टिको एउटा पाटो हो। अर्को कुरा यसले बौद्धिक साहित्य र संसारका साहित्यहरूको स्तर कहाँ पुग्यो भन्ने कुराको पनि मापन गर्न सहज हुँदोरहेछ। यो मेरो रुचिको विषय हो र आफूलाई लेख्ने बानी परेपछि लेखिरहने प्रक्रिया मात्र हो। मलाई यसबाट पनि सबै कुरा मिलेको छ जस्तो लाग्छ। साहित्यले हाम्रो पढ्ने बानीको विकास गरेको छ भने अर्को यसमा लागेपछि अनावश्यक कुरातर्फ ध्यान जाँदैन। नेपाली साहित्य कुन स्तरमा छ भनिरहँदा आफैँले लेख्ने र पढ्ने गर्नाले बौद्धिक ज्ञान प्राप्त गरेको अनुभवचाहिँ पक्कै भएको छ। 

तपाईंको अहिलेसम्म कुनकुन पुस्तक/कविता सङ्ग्रह प्रकाशित भएका छन् ?  

मेरा कथासङ्ग्रह माला, परपर, अटोग्राफ प्रकाशित भए। त्यस्तै मान्छे, कारागारभित्रको जुन, खियामाको नीलो आकाश र सूर्यकी रफ्तार भन्ने कविता सङ्ग्रह प्रकाशित भए। म सानैदेखि गीतहरू गाउने र लेख्ने रुचि राख्थेँ । मेरो रेकर्ड भएका गीतहरूमा २०३८ सालमा ‘जिन्दगीका यात्राहरूमा हिँड्दै जाँदा जिन्दगी नै छुट्यो’ भन्ने गीत रेडियो नेपालमा रेकर्ड भएको थियो। २०५३ सालमा म्युजिक नेपालबाट ‘कलेक्सन भेट’ भन्ने एल्बम प्रकाशित भयो। २०७२ सालमा ‘मेमोरी’ र त्यसपछि यता म्युजिक नेपालबाट आधुनिक गीतहरू प्रकाशित भएका छन्। 

भर्खरै प्रकाशनमा आएको ‘खियामाको नीलो आकाश’ कस्तो कविता सङ्ग्रह हो  ? 

यो नेपाली कविता सङ्ग्रह हो। जुन अङ्ग्रेजी कविता सङ्ग्रह ‘खियामा ब्लु स्काई’ को अङ्ग्रेजी रूपान्तरण हो। यो यसको मिथक भन्दा पनि हुन्छ। किराँती युवतीको नाम हो खियामा। सृष्टिको पहिलो नारी खियामा भएको हुँदा सृष्टिका सारा किराँतहरू उनको आमा हो भन्ने मिथक छ। उनले नै समाजमा घर बनाउने, कपडा बुन्ने, कपडा उत्पादन गर्ने खियामा महिलाबाट प्रतिवाद हुँदै आएको हो। उनकै नामबाट खियामा ब्लु स्काई भन्ने नाम राखेको हो। अहिलेको समाजलाई खियामाको नजरमा हेर्दा कस्तो विम्ब र प्रतीक देखिन्छ भन्ने कुरा कवितामा पस्कन खोजेको छु।

तपाईं वरिष्ठ साहित्यकार हुनुहुन्छ, कुनै सङ्घसंस्थामा आबद्ध हौँ कि भन्ने कहिल्यै लागेन ? 

बडो जटिल प्रश्न सोध्नुभयो। सङ्घसंस्थामा आबद्ध भएर मात्र हुँदैन । त्यहाँ गए पनि हामीले राम्रो काम गरेर पनि देखाउनुपर्ने हुन्छ। मैले अवसर पाएँ भने अवश्य नै केही राम्रो काम गर्छु भन्ने हेक्का मभित्र छ। अहिले देशको राजनीतिक परिस्थिति बदलिरहेका बेला नेपाल प्रज्ञा–प्रतिष्ठानहरूको बनावटचाहिँ पुरानै ढर्राको छ। यसको कार्यशैली पुरानो छ। सङ्घीय प्रदेशका प्रज्ञा प्रतिष्ठानहरूलाई पनि स्थानीय तहतर्फ लैजानु आवश्यक छ। राम्रा राम्रा अनुसन्धानात्मक काम प्राज्ञले गर्न सक्नुपर्छ किनभने कविको जमातलाई केन्द्रमा मात्र सीमित गर्नु भनेको साहित्य, हाम्रो सभ्यता र पहिचानलाई अगाडि बढाउनुपर्ने प्रक्रियाहरू हुन सक्छ। यस कारण यसको संरचनालाई सातै प्रदेशमा पु-याउन सक्यो भने त्यहाँका अनुसन्धानकर्ता तथ्याङ्क र पहिचानकर्ताले राम्रोसँग साहित्यको जड खोज्न सक्नुहुन्थ्यो। भाषा साहित्य भनेको साझा सम्पत्ति हो। त्यसैले प्रज्ञा–प्रतिष्ठानमा पनि सबै क्षेत्र र पक्षको सहभागिता हुनुपर्छ भन्ने मेरो मान्यता हो।