• १४ माघ २०७९, शनिबार

दुग्ध सहकारीको आफ्नै भवनबाट सेवा

blog

दुग्ध सहकारीको नवनिर्मित भवन । तस्बिर – रेखीराम राना

रेखीराम राना

पाल्पा, माघ १० गते । डुम्रे दुग्ध कृषि सहकारी संस्था लिमिटेडले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । लामो समयसम्म भाडामा बस्दै आएको सहकारीले अढाई तले भवन बनाएपछि नयाँ भवनबाट सेवा आरम्भ गरेको जनाएको हो । 

लुम्बिनी प्रदेश सरकारको ५५ लाख र सहकारीको ४० लाख गरी ९५ लाख लागतमा सहकारीको भवन बनेको हो । भवन निर्माण भएपछि दैनिक सहकारीमा सेवा लिन आउने ग्राहकका लागि सेवा प्रवाह गर्न सहज भएको छ । आफ्नै भवन बनेपछि सहकारीमा आबद्ध किसान उत्साहित बनेका छन् । 

दूध उत्पादन गर्ने पाँच सय किसान सहकारीमा आबद्ध भएर भवन निर्माण गरेको सहकारीका अध्यक्ष दुर्गा खाँड ठकुरीले जानकारी दिनुभयो । भवन निर्माण भएपछि दैनिक उत्पादन हुने दुई हजार ५०० लिटर दूध सङ्कलन, भण्डारण तथा वितरणमा सहजता आएको अध्यक्ष ठकुरीले बताउनुभयो । नयाँ भवन निर्माणपछि सहकारीले दूधलाई विविधीकरण गरेर अन्य बस्तु उत्पादन गर्ने तयारी गरेको सहकारीका व्यवस्थापक गोपाल जिसीले जानकारी दिनुभयो । 

सहकारीले दैनिक सङ्कलन गरिरहेको दूधमध्ये एक हजार ५०० लिटर पाल्पामै र अन्य एक हजार लिटर दूध पोखरा जाने गरेको छ । दूध उत्पादनमा प्रोत्साहन गर्न तिनाउ, रिव्दीकोट गाउँपालिकाले दुई देखि चार रुपियाँ प्रतिलिटर अनुदान रकम दिएका छन् भने लुम्बिनी प्रदेश सरकारले प्रतिलिटर दुई रुपियाँ उत्पादनका आधारमा सहयोग गर्दै आएको सहकारीले जनाएको छ ।