• ९ फागुन २०८०, बुधबार

विप्रेषणबाट जीवनस्तर सुधार, दुई तिहाइको घरखर्च मात्रै

blog

काठमाडौँ, माघ १३ गते । चितवन स्थायी घर बताउने बिन्दु अर्याल छ वर्षीया छोरीसहित काठमाडौँमा भाडामा बस्नुहुन्छ । उहाँका पति दिनेश न्यौपाने भने विगत पाँच वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा हुनुहुन्छ । प्रत्येक वर्ष एक महिना घर बिदामा नेपाल आउने न्यौपानेले काठमाडौँमा कोठा भाडामा लिएर छोरीसहित बस्ने श्रीमती र छोरीको सबै खर्च धान्नुपर्छ । 

कास्की स्थायी घर भएकी रीता अधिकारी पनि काठमाडौँमै बस्नुहुन्छ । उहाँका श्रीमान् कैलाश थापा वैदेशिक रोजगारीका क्रममा दुई वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई)मा हुनुहुन्छ । थापासँग प्रेम विवाह गरेकी अधिकारीको काठमाडौँको कोठा भाडादेखि बस्ने, खानेलगायतका सबै खर्च थापाको कमाइबाट हुन्छ । 

वैदेशिक रोजगारी र त्यसबाट प्राप्त हुने विप्रेषणले परिवारको आर्थिक, सामाजिक, शैक्षिक रूपमा सकारात्मक परिवर्तन आएको विभिन्न अध्ययनले देखाएका छन् तर यसले केही परिवार र समाजमा नकारात्मक असर पनि पारेको छ । 

परिवार पालनपोषणमै धेरै खर्च

राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित वैदेशिक रोजगारीले गरिबी निवारण र सामाजिक सुरक्षामा पारेको प्रभावसम्बन्धी अध्ययन प्रतिवेदन, २०७९ ले वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको धेरै हिस्सा परिवारको पालनपोषणमै खर्च हुने गरेको छ । वैदेशिक रोजगारीमा गएका व्यक्तिको कमाइमध्ये ३५ प्रतिशत खाना र घर भाडामा, कपडा÷शृङ्गारमा २० प्रतिशत, बालबच्चाको शिक्षामा १५ प्रतिशत, घुमफिरमा २० प्रतिशत र १० प्रतिशत स्वास्थ्य उपचारमा खर्च हुने गरेको सो अध्ययनमा उल्लेख छ । 

परामर्शदाता डा. चन्द्रप्रसाद ढकाल नेतृत्वको समूहले काठमाडौँ जिल्लाका काठमाडौँ महानगरपालिका–१४, कीर्तिपुर नगरपालिका–२, तारकेश्वर नगरपालिका–५ र चन्द्रागिरि नगरपालिका–९ बाट २५/२५ जना गरी एक सय जना वैदेशिक रोजगारीमा गएका परिवारसँग गरिएको विश्लेषणात्मक अध्ययनमा यस्तो पाइएको हो । 

सो प्रतिवेदनअनुसार विप्रेषणका कारण वैदेशिक रोजगारीमा गएका ७० प्रतिशत व्यक्तिको घरपरिवारको आर्थिकस्तरमा परिवर्तन भएको छ भने ३० प्रतिशत परिवारको आयस्तरमा परिवर्तन हुन सकेको छैन । वैदेशिक रोगगारीमा गएकामध्ये ४० प्रतिशतले वार्षिक तीन लाखदेखि चार लाख रुपियाँसम्म कमाउने गरेका छन् भने २५ प्रतिशतले तीन लाख रुपियाँसम्म, २५ प्रतिशतले चार लाखदेखि पाँच लाख रुपियाँसम्म र १० प्रतिशतले पाँच लाख रुपियाँमाथि कमाउने गरेको अध्ययनमा उल्लेख छ । 

वैदेशिक रोजगारीमा गएका परिवारको वार्षिक खर्च हेर्दा ३५ प्रतिशतले दुई लाखदेखि तीन लाख रुपियाँसम्म खर्च गर्ने गरेका छन् भने २५ प्रतिशतले दुई लाखसम्म, ३० प्रतिशतले तीन लाखदेखि चार लाख रुपियाँसम्म र १० प्रतिशतले चार लाखभन्दा बढी खर्च गर्ने गरेको अध्ययनले देखाएको छ । 

त्यसैगरी अध्ययनमा वैदेशिक रोजगारीमा गएका व्यक्तिको पारिवारिक बचतको अवस्था हेर्दा २५ प्रतिशतको विदेशमा कमाएको भन्दा बढी खर्च भएको पाइएको छ भने ७५ प्रतिशतले भने केही अंश बचत गर्न सकेको उल्लेख छ । सो अध्ययनअनुसार वैदेशिक रोजगारीमा जानेको देशगत रूपमा हेर्दा खाडी मुलुकमा ६० प्रतिशत गएको देखिन्छ भने भारतमा २० प्रतिशत, दक्षिण कोरिया ७ प्रतिशत, युरोप/अमेरिका, जापानमा ५/५ प्रतिशत र अन्यमा ३ प्रतिशत गएका छन् । 

सो अध्ययनमा वैदेशिक रोजगारीमा जाने क्रममा तिरेको लागत हेर्दा ५० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म तिर्ने ३५ प्रतिशत, एक लाखदेखि दुई लाख रुपियाँसम्म तिर्ने ४० प्रतिशत र दुई लाखभन्दा माथि तिर्ने २५ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा जाने रकमको स्रोतको अवस्था हेर्दा ३५ प्रतिशत साहुबाट, २५ प्रतिशत बैङ्कमा धितो राखेर घरका पशुचौपाया बेचेर र अन्य विकल्पबाट २५/२५ प्रतिशत रहेको अध्ययनमा उल्लेख छ । वैदेशिक रोजगारीमा गएकामध्ये ४५ प्रतिशत पाँच वर्षभन्दा बढी बस्ने गरेको पाइएको छ भने दुई वर्षदेखि पाँच वर्षसम्म बस्ने ३५ प्रतिशत र दुई वर्षभन्दा कम बस्ने २० प्रतिशत रहेको पनि सोही अध्ययनमा उल्लेख गरिएको छ । 

सो अध्ययनले वैदेशिक रोजगारीमा गएका परिवारमध्ये ६० प्रतिशतलाई आर्थिक रूपमा राम्रो भएको पाइएको छ भने ४० प्रतिशतको विदेशमा कोरोनाका कारण विदेशमा उद्योग बन्द हुनु, वैदेशिक रोजगारीमा जाँदा लागेको ऋणको ब्याज नेपालमा महँगी बढ्नुलगायतका कारणले आर्थिक रूपमा झन् असहज भएको देखाएको छ । 

एक तिहाइले प्रयोग गर्छन् अनौपचारिक माध्यम

अध्ययनअनुसार वैदेशिक रोजगारी गएकामध्ये अधिकांशले स्वदेशमा परिवारलाई पैसा पठाउँदा औपचारिक माध्यम प्रयोग गर्ने गरेका छन् । रेमिट्यान्स कम्पनीबाट ५० प्रतिशतले पठाउने गरेका छन् भने बैङ्कमार्फत २० प्रतिशत, साथीभाइमार्फत १५ प्रतिशत र अन्य माध्यमबाट १५ प्रतिशतले स्वदेशमा पैसा पठाउने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

अध्ययनअनुसार वैदेशिक रोजगारीमा गएका व्यक्तिमध्ये ३० प्रतिशतले विप्रेषणबाट चलअचल सम्पत्ति जोड्ने गरेका छन् भने ७० प्रतिशतको परिवारको खर्च चलाउन सहज मात्रै भएको छ । वैदेशिक रोजगारीमा गएकाले पठाएको विप्रेषणमध्ये ५० प्रतिशत सहकारीमा, बैङ्क तथा वित्तीय संस्था ३३ प्रतिशत र व्यक्तिगत सापटी १७ प्रतिशत रकम दिएको पाइएको छ । 

घरायसी सामान खरिद ४३ प्रतिशतले वृद्धि

अध्ययनमा वैदेशिक रोजगारीले परिवारका सदस्यमा घरायसी सामान खरिदमा खर्च ४३ प्रतिशतले बढेको छ भने शिक्षामा २९ प्रतिशत, विलासिताका वस्तुको खर्चमा १४ प्रतिशत र स्वास्थ्य उपचारमा १४ प्रतिशत खर्च भएको छ । 

अध्ययनमा वैदेशिक रोजगारीमा गएकामध्ये १५ प्रतिशतको पारिवारिक विचलन, ५० प्रतिशतको घरपरिवारमा वृद्धवृद्धा हेरचाहमा नकारात्मक असर परेको छ भने ३५ प्रतिशत अन्य समस्यालाई जस्तै, स्वास्थ्यमा आएको समस्या रहेको पाइएको छ ।

जीवनस्तरमा आएको परिवर्तन सकारात्मक

पूर्वश्रम सचिव पूर्णचन्द्र भट्टराईले वैदेशिक रोजगारीबाट आएको विप्रेषणको ठूलो हिस्सा जीविकोपार्जनमै खर्च भएको र यसलाई आफूले सकारात्मक लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकको जीवन विकासमा भएको लगानीलाई उत्पादनमूलक नै भन्नुपर्छ, यो नागरिक जीवनस्तरमा आएको परिवर्तनलाई सकारात्मक रूपमा हेर्नुपर्छ ।”

वैदेशिक रोजगारीबाट भित्रिएको विप्रेषणले नेपालको गरिबी न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान रहेको भन्दै भट्टराईले आर्थिक, सामाजिक, शैक्षिक स्तर र स्वास्थ्यमा राम्रो प्रगति भएको बताउनुभयो । 

वैदेशिक रोजगारीले खेतीपाती बाँझो हुने, बुढा बुवाआमामा एक्लोपन, बालबच्चामा बाबुआमाको साथको अभावले मनोसामाजिक रूपमा समस्या पर्ने क्रम बढेको चर्चा गर्दै उहाँले यसलाई सक्दो कम गर्ने विषयमा राज्य, समाज र स्वयं व्यक्ति पनि सचेत हुनुपर्छ भन्नुभयो । 

वैदेशिक रोजगारीका अध्ययनकर्ता रामेश्वर नेपालले वैदेशिक रोजगारीबाट आएको विप्रेषणले परिवारका सदस्यको जीवनस्तरदेखि बसाइँसराइसम्म उत्प्रेरणा गरेको बताउनुभयो । हाल सहरी क्षेत्रमा जमिनको मूल्य बढाउनमा पनि वैदेशिक रोजगारीको प्रभाव रहेको धारणा व्यक्त गर्दै उहाँले भन्नुुभयो, “श्रीमान् वैदेशिक रोजगारीमा गए भने श्रीमती बच्चासहित सहरमा बस्छन् । सकेसम्म त्यही ठाउँमा जग्गाजमिन किन्ने प्रवृत्ति बढेको छ, जसले गर्दा जग्गाको भाउ बढेको हो ।”