• ९ फागुन २०८०, बुधबार

सञ्चार क्षेत्रमा राम्रा काम गर्छु: सञ्चारमन्त्री शर्मा

blog

प्रेस सेन्टर नेपालका उपाध्यक्ष त्रिभुवन पौडेल र पत्रकार अनिल शाहीप्रति श्रद्धाञ्जली कार्यक्रममा मन्तव्य व्यक्त गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौं, माघ १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार सञ्चारकर्मी, पत्रकारसँग मिलेर काम गर्न र यस क्षेत्रको समस्या समाधानका लागि दत्तचित्त भएर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । मन्त्री शर्माले सञ्चार क्षेत्रमा केही राम्रा काम गर्नुपर्छ भन्ने लागेको उल्लेख गर्नुभयो । 

शुक्रबार यहाँस्थित प्रेस सेन्टर, नेपालद्वारा माघ १ गते यती एयरलाइन्सको विमान दुर्घटनामा मुत्यु हुनुभएका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेल र पोखरा महानगरपालिका सदस्य अनिल शाहीको १३ औँ पुण्य तिथिमा आयोजित शाेक सभामा उहाँले साे धारणा राख्नुभएकाे हाे ।

कार्यक्रममा बोल्दै मन्त्री शर्माले पत्रकार पौडेल सबैको प्रिय र सार्वजनिक व्यक्तित्व भएकाले उहाँको सकारात्मक पक्षलाई अनुकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सरकार सञ्चार जगत र सञ्चारकर्मीको हितका खातिर लागिपरेको उल्लेख गर्नुभयो ।


मन्त्री शर्माले दिवगंत त्रिभुवन पौडेलले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदान अनुकरणीय रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘दिवगंत पौडेलले आम सञ्चारको क्षेत्रमा एक महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो, उहाँसँगको छोटो परिचयले आफूलाई पनि सञ्चार क्षेत्रमा केही राम्रा काम गर्नुपर्छ भन्ने लागेकाे छ ।’ 

नेकपा (माओवादी केन्द्र)की स्थायी सदस्य पनि रहनुभएकी मन्त्री शर्माले मन्त्रालयको काम कारबाहीलाई व्यवस्थित रुपमा कार्यान्वयन गर्न पत्रकारको सहयोग आवश्यक रहेको कुरामा जाेड दिनुभयाे ।

विगतमा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउँदा जसरी पत्रकारहरुको सहयोग पाएँ, त्योभन्दा बढी सहयोग गर्न उहाँले सम्बद्ध पक्षसँग आग्रह पनि गर्नुभयो । मन्त्री शर्माले विमान दुर्घटनामा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

यस्तै, प्रेस सेन्टर, नेपालका संस्थापक अध्यक्ष महेश्वर दाहाल, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, महासचिव सन्तोष पौडेललगायतले आफ्ना धारणा राख्नुभएको थियो ।

सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य उर्मिला माझी, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी, प्रेस सेन्टरका संस्थापक सदस्य गाेविन्द आचार्य, खिलाराज भण्डारी, मनऋषि धिताललगायतको उपस्थिति थियो ।

सेन्टरले ‘त्रिभुवन स्मृति कोष’ स्थापना गरेको जानकारी दिएको छ । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना हुँदा ७१ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ ।