• १३ वैशाख २०८१, बिहिबार

अमेरिकाका उपविदेशमन्त्री नुल्यान्ड आउँदै

blog

काठमाडौँ, माघ १४ गते । मित्रराष्ट्र  अमेरिकाको विदेश मन्त्रालयस्थित राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार नेपाल आउनुहुने भएको छ । 

आमनिर्वाचनपछि नयाँ सरकार गठन भएयता अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो । नेपालस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार भ्रमणका क्रममा उप(विदेशमन्त्री नुल्यान्डले नेपालका उच्च राजनीतिक नेतृत्वसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ । सोमबार दिउँसो उहाँले पत्रकार सम्मेलन गरेर आफ्नो भ्रमणबारे जानकारी दिनुहुने दूतावासले जनाएको छ । 

उहाँ सन् २०२१ मा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीमा नियुक्त हुनुभएको हो । अमेरिकाका विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति सम्बद्ध अल्ब्राइट स्टोनब्रिज समूहमा वरिष्ठ परामर्शदाताका रूपमा काम गरिसक्नुभएका उपविदेशमन्त्री नुल्यान्डको नेपाल भ्रमण अर्थपूर्ण मानिएको छ । उहाँको ३३ वर्ष लामो अमेरिकी कूटनीतिक यात्राका क्रममा पूर्वराष्ट्रपति बाराक ओबामा कार्यकालमा युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा कार्य गर्नुभएको छ । त्यस्तै हिलारी क्लिन्टन विदेशमन्त्री हुँदाका बखत अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको भूमिका निर्वाह गर्नुभएको थियो । 

त्यस्तै पूर्वराष्ट्रपति जर्ज डब्लू बुसको दोस्रो कार्यकालमा नेटोका लागि अमेरिकी राजदूत, त्यसअघि युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेष दूत तथा वार्ताकार र सन् २००३ ताका तत्कालीन अमेरिकाका उपराष्ट्रपति चेनीको सुरक्षा सल्लाहकारका रूपमा उहाँले काम गर्नुभएको थियो । 

रुस, चीन, मङ्गोलिया तथा अमेरिकाको विदेश मन्त्रालयभित्र पनि विभिन्न भूमिकाको कार्यानुभव उहाँको रहेको छ । उहाँको भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक जानकारी र कार्यसूची दिएको छैन ।