• ९ फागुन २०८०, बुधबार

प्राविधिक जनशक्तिलाई अवसर अभाव नहुने

blog

कास्की समाचारदाता

कास्की, माघ १४ गते  । पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहुप्राविधिक शिक्षालय पोखराको आयोजनामा प्रमुखसँग विद्यार्थी अन्तरसंवाद कार्यक्रम गरिएको छ । प्राविधिक शिक्षाको अवस्था, आवश्यकता अवसरलगायतमा केन्द्रित अन्तरसंवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित प्राविधिक शिक्षा सेवाप्रदायक संस्था र अध्ययन गरिरहेका विद्यार्थीले प्रत्यक्ष सहभागिता जनाएका थिए । 

कार्यक्रममा विद्यार्थीले प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा हुन सक्ने अवसरका विषयमा जिज्ञासा राखेका थिए । यी सबै जिज्ञासालाई समेट्दै जवाफमा प्रमुख आचार्यले प्राविधिक जनशक्तिलाई अवसरको अभाव नहुने भन्दै स्थानीय सरकारको हैसियतले दक्षताका आधारमा ती जनशक्तिको व्यवस्थापन गर्दै जाने बताउनुभयो । प्राविधिक शिक्षा हासिल गरेका कुनै पनि विद्यार्थी बेरोजगार हुन नपर्ने बताउँदै उहाँले व्यवसाय गर्न चाहनेका लागि ‘स्टार्ट अप’ अनुदान उपलब्ध गराउनेलगायतका कार्यक्रम महानगरपालिकाले गरिरहेको जनाउनुभयो ।

“प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने कुरा नकार्न सकिने अवस्था छैन, त्यस कारण पोखरामा हामीलाई कति जनशक्ति चाहिने हो भनेर अहिले सर्भे गरिरहेका छौँ,” प्रमुख आचार्यले भन्नुभयो, “महानगरले बेरोजगारहरूको तथ्याङ्क सङ्कलनका लागि आह्वान गरिरहेको छ, केही वडामा विभिन्न प्राविधिक पोस्टका लागि आवेदन माग गरेको छ तर निवेदन एकदमै कम परिरहेका छन् ।” प्राविधिक शिक्षाको महत्त्व बुझाउन आवश्यक रहेको बताउँदै उहाँले ज्ञान एकातिर काम अर्कोतिर हुने अवस्थाको अन्त्य जरुरी रहेको समेत बताउनुभयो । यसका लागि ‘राइट मेन राइट प्लेस’को अवधारणामा काम गर्ने तयारी महानगरसँग रहेको बताउनुभयो । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले प्राविधिक शिक्षाको महत्त्व सिकाइसँगै आर्जन र भविष्यका लागि थप परिस्कृत ज्ञान हासिल भएको उल्लेख गर्नुभयो । “हाम्रो प्राविधिक शिक्षाको महत्त्व के हो भने काम गर्दै अलिकति आयआर्जन गर्दै आफ्नो करिअरलाई अगाडि बढाउँदै लैजाने हो,” निर्देशक आचार्यले भन्नुभयो, “आफ्नो ज्ञानको स्तरलाई बढाउँदै लैजानुहोस्, प्राविधिक शिक्षा समयको वेगसँगै यसको महत्त्व बढिरहेको छ ।”

गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक शिक्षाको सम्बन्धमा केन्द्रीय शिक्षा नीतिमै सुधारको आवश्यकता रहेको बताउनुभयो । राष्ट्रिय शिक्षा प्रारूपमा यसको ढाँचा स्वीकृत भइसकेको जनाउँदै उहाँले अबको केही वर्षमा प्राविधिक शिक्षामा नीतिगत एकरूपता आउने बताउनुभयो ।  कार्यक्रममा सहभागी विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरेको भए पनि विभिन्न बहानामा आफूहरू विभेदपूर्ण व्यवहार भइरहेको गुनासो गरे । कैयौँ समयसम्म इन्टर्नसिपका नाममा पारिश्रमिक नदिई काममा लगाउने, दिए पनि असाध्यै कम पारिश्रमिक दिने, आफूहरूको क्षमताअनुसारको काम नपाउनेलगायतका समस्या आफूहरूले झेल्नु परेको सुनाए ।