• ९ वैशाख २०८१, आइतबार

जलविद्युत् आयोजनाद्वारा विद्यालय निर्माण

blog

तनहुँ समाचारदाता 

तनहुँ, माघ १४ गते । तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारस्थित तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण सुरु गरिएको छ। 

व्यास नगरपालिका–५, बेनीपाटनमा रहेको पराशर माध्यमिक विद्यालयमा आठकोठा भएको दुईतले भवन आयोजनाले आफ्नो खर्चमा निर्माण कार्य सुरु गरेको छ। व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयले भवन बनाउन सुरु गरेको हो। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले बिहीबार श्रीपञ्चमीका दिन भवनको शिलान्यास गर्नुभएको छ। 

सो अवसरमा न्यौपानेले पठनपाठनलाई भौतिक पूर्वाधार विकासले सकारात्मक सहयोग गर्ने बताउनुभयो। उहाँले नयाँ भवन निर्माणले पाटन क्षेत्रको पिछडिएका आदिवासी वर्ग तथा जनजातिका बालबालिकालाई गुणस्तरीय शिक्षाबाट लाभान्वित हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। 

 भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच एक करोड ३८ लाख २४ हजार रुपियाँमा ठेक्का सम्झौता भएको थियो। उक्त ठेक्का सम्झौता गत पुस २५ गतेबाट कार्यान्वयनमा आएको छ। विद्यालय भवनको निर्माण १८ महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक रामदक्त पौडेलले जानकारी दिनुभयो।