• ६ वैशाख २०८१, बिहिबार

विद्यार्थीका निःशुल्क आँखा परीक्षण

blog

नवीन शिशिर विक

बागलुङ, माघ १५ गते । बागलुङको विद्या मन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ । प्रेस सेन्टर नेपाल बागलुङले १९ औँ स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क शिविर सञ्चालन गरेको हो । शिविरमा कक्षा १ देखि १२ सम्म अध्ययनरत १३६ जना विद्यार्थीको आँखा जाँच गरिएको छ । 

आँखा परीक्षण गरिएका विद्यार्थीमध्ये ११ जनामा कम देख्ने, टाढा र नजिकको नदेख्ने समस्या पहिचान भएको नेत्र सहायक गणेश महतोले जानकारी दिनुभयो । उनीहरूलाई समस्याअनुसार चस्मा तथा औषधी प्रयोग गर्न सुझाइएको छ । 

विद्यार्थीको उज्यालो भविष्यका लागि शिविर आयोजना गरेको प्रेस सेन्टर बागलुङका अध्यक्ष थामन थापाले बताउनुभयो । सो अवसरमा माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परी मृत्युवरण गर्नुभएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा ‘पत्रकार त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषण गरिएको छ । 

पौडेल पत्रकार महासङ्घ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष तथा हालको केन्द्रीय सदस्य र प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष हुनुन्थ्यो । हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्नेगरी पुरस्कार घोषण गरिएको सेन्टरले जनाएको छ ।