• ३२ जेठ २०८१, शुक्रबार
blog

शुक्रकार संघीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । साथमा बैठकमा सहभागी प्रधानमन्त्रीसहितका शीर्ष नेता । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ २७ गते। शुक्रबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सम्बोधनलाई अन्तिम मानिएको छ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुगेर सङ्घीय संसद्को संयुक्त बैठकमा सम्बोधन गर्दै भन्नुभयो, ‘नेपालको राष्ट्रपतिको हैसियतले मेरो यो सम्बोधन सम्भवतः अन्तिम हुनेछ।’ राष्ट्रपति भण्डारी संसदबाट २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपति निर्वाचन हुनुभएको हो।

पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न भएपछि दोस्रो कार्यकालका लागि उहाँ २०७४ साल फागुन २९ गते निर्वाचित हुनुभयो। उहाँ लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो र नेपालको संविधान घोषणा पश्चात् निर्वाचित पहिलो राष्ट्रपति हुनुहुन्छ। भण्डारीको नाममा नेपालको पहिलो महिला राष्ट्रपतिको रेकर्ड छ। लगातार दुई कार्यकाल नेपालको  राष्ट्रपति बन्ने अवसरसमेत उहाँले पाउनुभएको छ।

 

संसद्को संयुक्त बैठकको सम्बोधनमा आफ्नो सात वर्षको अनुभवमा देखेका केही मूल विषय मात्र समेटेको राष्ट्रपति भण्डारीले बताउनुभएको छ। उहाँले वर्तमान सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयन हुने विश्वाससमेत व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले सरकारका कामकारबाहीमा सबै नागरिकबाट सकारात्मक सहयोग प्राप्त हुने अपेक्षासमेत गर्नुभएको छ। नेपाल र नेपालीप्रतिको सद्भाव कायम राख्दै सरकारलाई मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट सहयोग मिल्ने विश्वास उहाँको छ।  राष्ट्रपति सम्बोधनका ५६ बुँदामा समेटिएका २१ सवाल :

विकासमा चासो 

राष्ट्रपति भण्डारीले देशको राजनीतिले लय र गति समातेपछि अबको ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ। उहाँले नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा गर्न गरेको प्रयासले सार्थकता पाएको छ त ? भन्ने प्रश्नको जवाफलाई केन्द्रमा राखेर अब काम गर्नुपर्नेमा जोड दिनुभएको हो। अब मुलुक विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा उहाँको जोड रहेको छ। 

अर्थतन्त्रप्रति चिन्ता 

राष्ट्रपति भण्डारीले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्ने बताउनुभएको छ। देशको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै यस्तो बताउनुभएको हो। 

देशको अर्थतन्त्रको विषयमा सबै जानकार रहेको भन्नुहुँदै राष्ट्रपति भण्डारीले अर्थतन्त्रको सुधारका लागि अल्पकालीन र दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभयो। उहाँले तत्काल अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि भरपर्दो नभएको बताउनुभयो। 


उत्पादनमा गम्भीर बन्न सुझाव

राष्ट्रपति भण्डारीले  बढ्दै गएको व्यापार घाटा कम गर्न उत्पादन क्षेत्रमा गम्भीर बन्नुपर्नेमा जोड दिनुभएको छ। अर्थतन्त्र सुधारका लागि विश्वव्यापीकरणको युगमा हाम्रो प्रयास मात्र पर्याप्त नहुनेसमेत उहाँले बताउनुभयो। उहाँले वैश्वीकरणको युगमा आर्थिक विकासका लागि आफ्नै प्रयास मात्र प्रयाप्त नभएको बताउनुभयो। कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धले विश्वको अर्थतन्त्रमा पारेको प्रभावबाट नेपाल अछुतो नरहेको उल्लेख गर्नुभयो। नेपाल अर्थतन्त्रको संरचना आयातमुखी रहेका कारण यसमा परिवर्तन नगरी व्यापार घाटा तत्काल कम गर्न कठिन रहेको उहाँको भनाइ छ। निर्यात प्रवर्द्धनका लागि हालसम्म भएका प्रयासको गम्भीर छलफल गर्नु आवश्यक रहेको बताउनुभयो। सरकारले उत्पादन वृद्धिका लागि छिटोभन्दा छिटो समन्वात्मक रुपमा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। 

पुँजीगत बजेट र खर्च 

राष्ट्रपति भण्डारीले पुँजीगत बजेट कम हुने र त्यो सबै खर्च हुन नसक्दा पुँजी निर्माणमा समस्या भएको बताउनुभएको छ। उहाँले देशमा पुँजीगत बजेट कम मात्रामा विनियोजन हुनेगरेको र त्यही पनि पुरै खर्च हुन नसक्दा पुँजी निर्माणमा बाधा पुगेको बताउनुभएको हो। 

राजस्व संकलन 

पछिल्लो समय लक्ष्यअनुसारको राजस्व संकलन हुन नसकेकोप्रति राष्ट्रपतिले चासो व्यक्त गर्नुभएको छ। लक्ष्य अनुसार राजश्व संकलन हुन नसक्दा देशको आर्थिक वृद्धिमा असर परिरहेको उहाँको भनाइ छ।  राजस्व संकलनमा सरकारले आवश्यक कदम चाल्नुपर्ने उहाँले बताउनुभयो। राजश्व संकलन कम हुनु र वैदेशिक सहायता परिचालनमा कमी आउँदा आन्तरिक ऋणको चाप बढ्दै गएको उहाँको भनाइ छ।


मौद्रिक नीति र ब्याजदर

वित्त नीति र मौद्रिक नीति एकअर्काका परिपूरक हुनुपर्ने आवश्यकता रहेको राष्ट्रपति भण्डारीले बताउनुभयो। दुवै नीतिको कार्यन्वयनबाट आर्थिक क्रियाकलाप चलायमान हुने भएकाले दुवैबीचमा समाञ्जस्यता हुनुपर्ने बताउनुभयो।  बजारमा देखिएको मौद्रिक तरलता संकुचनका कारण बैंक तथा वित्त संस्थाको ब्याजदर बढेको उहाँको भनाइ छ। यो संकट हल गर्न तत्काल कदम चाल्नु आवश्यक रहेको उहाँले बताउनुभयो। ब्याजदर बढेको प्रति चासो राख्दै राष्ट्रपति भण्डारीले बजारमा मौद्रिक तरलताका कारण बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेको बताउनुभयो। संकट हल गर्न तत्काल कदम चाल्नु आवश्यक रहेको उहाँको भनाइ छ।  तरलता अभावको स्थितिमा ब्याजदर बढ्न गएर लागत अनुमान बढ्दा उद्योगी व्यावसायी र आम उपभोक्तालाई नै असर पर्ने उहाँको भनाइ छ। 

रासायनिक मलको आपूर्ति 

राष्ट्रपति भण्डारीले रासायनिक मलको नियमित आपूर्तिका लागि मल उत्पादक राष्ट्रसँग सोझै वार्ता गर्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले कम्तिमा तीनदेखि पाँच वर्षसम्म एकमुष्ट सम्झौता गर्न सके आपूर्ति दिगो हुने उल्लेख गर्नुभएको छ। उहाँले आपूर्ति सहज बनाउन गुणस्तर र मूल्यलाई ख्याल गर्दै निजी क्षेत्रलाई सहभागी गराउन सकिने बताउनुभयो। देशमै पाँच वर्षभित्र गुणस्तरीय रासायनिक मल उत्पादन गर्ने कारखाना सञ्चालन गर्ने गरी समयवद्ध सुरुवात गर्नुपर्ने उहाँको भनाइ छ। मल कारखान बनाउने कार्यक्रम बनाने तर सार्थकता नपाउने स्थितिको अन्त्य गर्नुपर्ने उहाँले बताउनुभयो।

‘एक गाउँ, एक उत्पादन’

राष्ट्रपति भण्डारीले ‘एक गाउँ, एक उत्पादन’ वा ‘एक पालिका, एक उत्पादन’ जस्ता कार्यक्रमलाई पुनःसंरचना वा पुनःपरिभाषित गर्दै उस्तै वस्तु उत्पादन हुने १० पालिकामा एकै किसिमको उत्पादन गर्न सके बजारीकरणसमेत सहज हुने बताउनुभयो। यसबाट आन्तरिक वितरण प्रणाली सुदृढ गर्दै मूल्य शृङ्खला कायम गर्न र किसानलाई उचित मूल्य प्राप्त गर्न सहयोग पुग्ने धारणा राख्नुभएको छ। 

सामूहिक  र करार खेतीको अवधारणा 

राष्ट्रपति भण्डारीले कृषियोग्य भूमि बाँझै रहने समस्या देखिएको भन्दै निराकरण गर्न सामूहिक खेती वा करार खेतीको अवधारणा व्यवहारमा लागू गर्न ढिला भइसकेको बताउनुभएको छ। यसले कृषि जमिनको उपयोग हुने र कृषि श्रमिकको आपूर्तिसमेत सहज हुने बताउनुभयो। वैदेशिक रोजगारीमा गएका नेपालीले प्राप्त गरेको ज्ञान, अनुभवलाई प्रोत्साहन, उत्पादनका साधन र लगानीको स्रोतमा पहुच वृद्धि गर्न सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ। यसरी कृषिमा पूर्णकालीन रोजगारी सिर्जना गर्ने कार्यक्रम तत्कालै सञ्चालन गर्नुपर्नेमा उहाँको जोड छ।

उद्योग क्षेत्रको विकास र रोजगारी

राष्ट्रपति भण्डारीले उद्योग क्षेत्रको विकासमा अपेक्षित सुधार नभएको भन्दै लगानीको वातावरण तयार गरेर सरकारले सुरक्षा र उत्पादनस्थलमा पूर्वाधारण निर्माण गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। यसका लागि स्वदेशी उत्पादनको उपभोग र निजी क्षेत्रमैत्री नीति तथा कार्यक्रम कार्यान्वयन गरे औद्योगिक उत्पादन बढ्ने उहाँको भनाइ छ।  उहाँले आम गरिबी न्यून गर्न उद्योग क्षेत्रको रोजगारीले सबैभन्दा बढी भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभएको छ। स्वादेशी उत्पादन र उपभोग बढाउन निजी क्षेत्रबाट अघि सारिएका ‘मेक इन नेपाल र मेड इन नेपाल’ जस्ता कार्यक्रमलाई सरकारले अपनत्व प्रदान गरेर सहकार्य गर्नु आवश्यक रहेको बताउनुभयो। उत्पादनका नयाँ क्षेत्र खोज्नुपर्ने उहाँको भनाइ छ। 

पर्यटन 

नेपालमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या र बस्ने अवधि बढ्न नसकेको भन्दै राष्ट्रपतिले चासो राख्नुभएको छ। बुँदागत रुपमै राष्ट्रपतिले पर्यटनस्थलको पूर्वाधार निर्माण, सेवाको गुणस्तर र नियमन, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण र सहज पहुँचको व्यवस्था हुनुपर्नेमा जोड दिनुभएको छ। यसबाहेकका काम निजी क्षेत्रलाई छाडिदिनुपर्ने उहाँको भनाइ छ। पर्यटकको संख्या बढाउन प्राकृतिक र सांस्कृतिक सम्पदाको व्यापक प्रचारप्रसारमा उहाँको जोड छ। उहाँले भैरहवा र पोखरामा क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमास्थल सञ्चालनमा आउनु पर्यटकीय क्षेत्रका लागि महत्त्वपूर्ण सन्देश भएको उल्लेख गर्नुभएको छ। 

रोजगारी 

राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष बजारमा प्रवेश गर्ने जनशक्तिलाई देशभित्रै रोजगारीको व्यवस्था मिलाउन सार्वजनिक र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताउनुभएको छ। 

नयाँ गर्न चाहने युवाका लागि परम्परागत श्रमका क्षेत्रले मात्र श्रम बजारमा आउने जनशक्तिको अपेक्षा पूरा गर्न नसक्ने उहाँको भनाइ छ। रोजगारीका नयाँ अवसरको खोजी गर्ने र बजारको मागअनुरूपको जनशक्ति उत्पादन गर्न सक्षम हुने गरी शैक्षिक प्रणालीमा सुधार गर्नुपर्नेमा उहाँको जोड छ। 

सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोग 

राष्ट्रपति भण्डारीले राज्यको अनुभूति दिलाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्ने बताउनुभएको छ। सरकारी संयन्त्रको सेवाप्रवाहमा हुने ढिलासुस्ती र अनियमितता हटाउन नसके मुलुकमा सुशासन छ भनेर दाबी गर्नु निरर्थक हुने उहाँको भनाइ छ। सूचना प्रविधिको युगमा नागरिकले घरैमा वा नजिकको वडा कार्यालयबाट सेवा लिनसक्ने  गरी प्रणालीबीच अन्तर–आबद्धता कायम गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो। नागरिक एपजस्ता प्रणालीको उच्चनतम प्रयोग गरी यसलाई भुक्तानी प्रणालीसँग आबद्ध गर्ने व्यवस्था मिलाउन सके सेवा सहज बन्ने बताउनुभयो। सँगै उहाँले विदेशीले आएर हाम्रो प्रणाली बनाइदिने र त्यसको सञ्चालन र समस्या समाधानमा हामीसँग जनशक्ति नहुने अवस्थाको अन्त्य गर्नुपर्नेसमेत बताउनुभएको छ। उहाँले  संविधानको भावनाअनुरूप बढीभन्दा बढी सेवा स्थानीय तहबाट उपलब्ध गराउने र प्रदेश तथा संघीय सरकार विकास निर्माण र नीति निर्माणमा लाग्नु श्रेयष्कर हुने बताउनुभयो। 

शिक्षा 

राष्ट्रपति भण्डारीले सूचना प्रविधिको अधिकतम प्रयोग गरी शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार र पहुँच वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभएको छ। शिक्षा सबै क्षेत्रको सशक्तीकरणको पहिलो आधारस्तम्भ भएको भन्दै उहाँले देशको मुहार फेर्न शिक्षित र स्वस्थ जनशक्ति चाहिने बताउनुभयो। हाम्रो शिक्षा प्रणालीमा गुणस्तर सुधार र जीवनोपयोगी पठनपाठनको विकास गरिहाल्नुपर्नेमा राष्ट्रपतिले जोड दिनुभएको छ।  भण्डारीले शिक्षा क्षेत्रको काम गर्ने सोच, शैली र कार्यरत जनशक्तिको दक्षता तथा क्षमतामा व्यापक सुधार गर्नुपर्ने बताउनुभयो। शिक्षा क्षेत्रलाई राजनीतिमुक्त नबनाएरसम्म सफलता प्राप्त नहुने उल्लेख गर्नुभएको छ। शिक्षकले अध्यापन नगरी राजनीति गर्ने, विद्यार्थीले राजनीतिक दलको भातृ संगठनको रूपमा काम गर्ने अनि शिक्षण संस्थाका पदाधिकारीले राजनीतिक आग्रह पूर्वाग्रहमा शैक्षिक कार्यक्रम चलाउने स्थितिको अन्त्य गर्नु अपरिहार्य देखिएको उहाँको भनाइ छ।

 स्वास्थ्य

राष्ट्रपति भण्डारीले सामान्य औषधि र न्यूनतम उपचारको अभावमा अकालमा ज्यान जाने अवस्थाआउन दिनु नहुने बताउनुभएको छ। हरेक नागरिकले देशभित्रै विशिष्ट स्वास्थ्य सेवा प्राप्ति गर्ने गरी स्वास्थ्य क्षेत्रका कार्यक्रम कार्यान्वयन गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभएको हो। अस्पताल र स्वास्थ्य केन्द्रको स्तरोन्नति एवं औषधिलगायतका स्वास्थ्य सामग्रीको समयबद्ध उपलब्धताबाट मात्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि हुन सक्ने उहाँको भनाइ छ। स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षाको यथोचित प्रबन्ध गर्नुपर्ने र नसर्ने रोगको रोकथामका लागि प्रतिरोधात्मक कार्यक्रम लागु गर्नुपर्ने उहाँको भनाइ छ। 

महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक

राज्यका हरेक क्षेत्रमा महिला प्रतिनिधित्वको सुनिश्चितता संविधानले गरे पनि महिला शिक्षा तथा स्वास्थ्यमा भएको विकास सन्तोषजनक नभएको गुनासो राष्ट्रपतिले गर्नुभएको छ।  विद्यालयमा छात्राको उपस्थिति बढेको तर तिनले विद्यालय शिक्षा पूरा नभएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। अहिले पनि महिला घरायसी हिंसा, यौन हिंसा र अन्य प्रकारका हिंसाबाट पीडित भइरहेको भन्दै उहाँले चासो राख्नुभएको छ। हाम्रा नीति तथा कार्यक्रम राम्रा हुँदाहुँदै पनि प्रभावकारी कार्यान्वयन हुन नसकेकाले यसको प्रभावका बारेमा राम्रैसँग सोच्नु पर्ने उहाँको भनाइ छ। 

अभिभावकको जीवनशैलीमा आएको परिवर्तन तथा सूचना प्रविधिको सहज उपलब्धताले बाल मनोविज्ञानमा परेको असर समेतको विश्लेषण गरेर बालबालिकाका लागि कार्यक्रम तयार गर्नुपर्नेमा उहाँको जोड छ। युवा शिक्षाका साथै स्वरोजगार र रोजगार तालिम विस्तार गर्दै तालिमप्राप्त  युवालाई रोजगारी र उद्यम विकासका लागि वित्तीय पहुँचको सुनिश्चित गर्ने वातावरण तयार गर्नुपर्नेमा उहाँको जोड छ। ज्येष्ठ नागरिकको सुरक्षा, सामाजिक मान्यता र पारिवारिक सौहार्द्रता कायम गर्दै ज्येष्ठ नागरिकको अनुभव र सीपको सदुपयोग गर्नुपर्नेमा उहाँको जोड छ। 

पूर्वाधार

पूर्वाधार निर्माणको गुणस्तरमा व्यापक सुधार गर्न सबै पक्षको ध्यान जानुपर्ने बताउनुभएको छ। गुणस्तरीय पूर्वाधारको अभावमा अन्य क्रियाकलाप समेत सहज नहुने भन्दै उहाँले यस्तो बताउनुभएको हो। निर्माण भएको छोटो अवधिमै जीर्ण हुने गरी पूर्वाधार विकास हुनु स्रोतको दुरुपयोग मात्र भएको उहाँको भनाइ छ। पूर्वाधार निर्माणमा देखिएको समन्वयको कमीलाई तत्कालै हल गर्नुपर्ने राष्ट्रपतिले बताउनुभयो। रणनीतिक पूर्वाधारका आयोजना छनोट र निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ। सबै स्थानीय तहका वडा वडासम्म सडक सञ्जाल पुर्याने, सडक निर्माणसँगै राज्यबाट प्रदान गरिने अन्य सेवालाई जोड्नुपर्ने उहाँको भनाइ छ। 

सडक दुर्घटना 

देशमा दिनदिनैजस्तो हुने सडक दुर्घटनाका कारण नागरिकले अकालमै मृत्युवरण गर्नुपरिरहेको भन्दै राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभएको छ। नेपालको यातायात सेवा सुरक्षित छैन भन्ने सन्देश संसारभर जाने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको हो। सडक दुर्घटना न्यून गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने उहाँको भनाइ छ।

विद्युत खपत 

राष्ट्रपति भण्डारीले देश क्रमशः विद्युतमा आत्मनिर्भर हुँदै जानु खुशीको कुरा भएको बताउनुभयो। आफ्नै स्रोतबाट ऊर्जा आपूर्ति नियमित हुनसक्नु गौरवको विषय भएको बताउनुभएको हो। उत्पादन र खपत वृद्धि तथा वचत हुने विद्युत निर्यातको कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ। जलविद्युत उत्पादन नदी प्रवाहमा आधारित भएकाले वर्षायाममा बचत हुने तर सुक्खायाममा अपुग हुने अवस्था भएको भन्दै उहाँले यसलाई समाधान गर्न ठूला जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्नुपर्ने बताउनुभयो  अन्य स्रोतबाट उत्पादित विद्युत शक्तिसमेत मिलाएर ऊर्जा मिश्रणको अवधारणा लागू गर्नुपर्नेमा जोड दिनुभएको छ। जलविद्युत आयोजना निर्माणमा निजी क्षेत्रलाई सहभागी गराई जलाशययुक्त आयोजनामा सरकारी लगानी बढाउनु उपयुक्त हुने उहाँको भनाइ छ। 


 वातावरण र जलवायु परिवर्तन

वातावरण र जैविक विविधतामा पर्ने प्रभावको गम्भीर अध्ययन गरेर विकास र वातावरणबीच सन्तुलन कायम गर्नु आवश्यक रहेको राष्ट्रपतिको भनाइ छ। यो वर्षको माघको मध्यसम्म हिमाल सेता हुन नसक्दा भोलिका दिनमा विश्व तापमानलाई सन्तुलनमा राख्न र जलस्रोतको आवश्यकता पूर्ति गर्न कठिन हन्छ कि भन्दै उहाँले चासो राख्नु भएको छ। जलवायु परिवर्तनका दृष्टिले नेपाल उच्च जोखिममा रहेको भन्दै राष्ट्रपति भण्डारीले कार्बन उत्सर्जन र जलवायु परिवर्तनमा नगण्य भूमिका हुँदा पनि नेपालले असन्तुलित रूपमा यसका प्रतिकूल असरहरू व्यहोर्नु परिरहेको बताउनुभएको छ। नेपालका हिमाल तीब्र गतिमा पग्लिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ। जल आपूर्तिको प्रमुख स्रोतको रूपमा रहेको जलाधार संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा उहाँको भनाइ छ। 

परराष्ट्र सम्बन्ध

राष्ट्रपति भण्डारीले नेपालले सदैव असंलग्न परराष्ट्रर नीति अंगाल्दै आएको बताउनुभएको छ। उहाँले कसैसँग अनावश्यक नजिक र कसैसँग टाढा हुनु जरूरी नभएको बताउनुभएको हो। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डाता, राष्ट्रिय स्वाभिमान र सुरक्षामा सम्झौता नहुने गरी अन्य मुलुकसँग मित्रता कायम रहने राष्ट्रपतिले बताउनुभएको छ। उहाँले हाम्रो परराष्ट्र नीतिको मूल मर्म यही भएको समेत प्रष्ट पार्नुभयो। 

राष्ट्रपति सम्बोधनका ५६ बुँदा, पूर्णपाठ :