• १५ जेठ २०८१, मङ्गलबार

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको दीक्षान्त समारोह

स्वास्थ्य क्षेत्रका बेथिति सुधार गर्न शल्यक्रियाको आवश्यकता छ : प्रधानमन्त्री प्रचण्ड

blog

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, फागुन ५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले आगामी दिनमा अनुसन्धानका काममा थप प्रगति हासिल गर्ने गरी अगाडि बढ्ने अपेक्षा गर्नु भएको छ । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘प्रतिष्ठानले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्बोधन हुने गरी अनुसन्धानका काममा थप प्रगति हासिल गर्ने गरी अगाडि बढ्ने अपेक्षा गर्दछु ।’’

“अस्पताललाई चिकित्सा शिक्षा र तालिम केन्द्रका रूपमा रूपान्तरण र विकास नगरी सुलभ, प्रभावकारी, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिँदैन, अनुसन्धानको कार्यलाई व्यवस्थित र परिणाममुखी तुल्याउन सकिँदैन ।”

उहाँले भन्नुभयो, “यसै यथार्थलाई मध्यनजर गर्दै प्रतिष्ठानले विराटनगर, भरतपुर, भैरहवामा रहेको सरकारी र सामुदायिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गरेको छ ।”


प्रधानमन्त्रीले सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानहरूमा सेवा प्रदायक निकाय र व्यक्तिले प्रभावकारी सेवा नदिएको, प्राविधिक सामग्रीहरूको चुस्तदुरूस्त परीक्षण र परिचालन नगरेको, सार्वजनिक स्वास्थ्यको गुणस्तर कमजोर रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘‘पेसागत मर्यादा र आचरणमा स्खलन आएको, मिलेमतोमा सरकारी सम्पत्तिप्रति बेवास्ता र दुरुपयोगसमेत भएको, सेवाग्राहीप्रति विनम्रता र गम्भीरताको कमी रहेको जस्ता जनगुनासो र सार्वजनिक सञ्चारमाध्यममा आएका समाचारहरू हाम्रा लागि गम्भीर विषयहरू हुन् । यस्ता बेथितिहरूमा सुधारका लागि स्वास्थ्य क्षेत्रमा शल्यक्रियाको आवश्यकता महसुस हुन्छ ।’’ 

समारोहमा उपस्थित विद्यार्थीलाई लक्षित गरी प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘तपाईँहरूले जुन उपाधि प्राप्त गर्नुभएको छ, त्यसभित्र यहाँहरूको लक्ष्यप्रतिको दृढता, लगनशीलता, अनुशासन र समाज एवम् राष्ट्रका निम्ति केही गरिछाड्ने सङ्कल्प लुकेको छ । त्यही मेहनत र सङ्कल्पको जगमा नै तपाईँहरू दीक्षित हुने ऐतिहासिक क्षणमा हुनुहुन्छ । यो यहाँहरूको लागि मात्र नभएर हामी सबैका लागि प्रेरणादायी र गौरवपूर्ण छ ।’’


प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनको सम्बोधनको सम्पादित अंश यस प्रकार छ :

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहमा सहभागी भई प्रतिष्ठानको कुलपतिको हैसियतले तपाईँहरू सामु आफ्नो विचार राख्न पाउँदा म हर्षित छु । 

सर्वप्रथम प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहको पूर्ण सफलताको शुभेच्छा व्यक्त गर्दै यहाँहरू सबैमा बधाइ ज्ञापन गर्दछु । साथै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट उपाधि प्राप्त गर्नुहुने सबै दीक्षित महानुभावहरूलाई हार्दिक बधाइका साथ निरन्तर सफलताको कामना गर्दछु ।

प्रतिष्ठानबाट दीक्षित हुनुहुने तपाईँहरूका लागि आजको दिन खुसी र विशेष गौरवका दिन हो । व्यक्तिगत जीवनका दृष्टिले, सामाजिक उत्तरदायित्वका दृष्टिले, राष्ट्र निर्माणको गुरूत्तर जिम्मेवारीका दृष्टिले आजको दिन तपाईँहरूका लागि अविस्मरणीय दिन हो । 

आजको दिन आफ्नो भविष्य एवं देश र जनताप्रतिको उत्तरदायित्वमा थप सङ्कल्प र अठोट गर्ने दिन हो । तपाईँहरूले जुन उपाधि प्राप्त गर्नुभएको छ, त्यसभित्र यहाँहरूको लक्ष्यप्रतिको दृढता, लगनशीलता, अनुशासन र समाज एवं राष्ट्रका निम्ति केही गरिछाड्ने सङ्कल्प लुकेको छ । त्यही मेहनत र सङ्कल्पको जगमा नै तपाईँहरू दीक्षित हुने ऐतिहासिक क्षणमा हुनुहुन्छ । यो यहाँहरूको लागि मात्र नभएर हामी सबैका लागि प्रेरणादायी र गौरवपूर्ण छ । 

विश्वविख्यात भनाइ छ– सपना त्यो होइन जुन निदाउँदा देखिन्छ, बरु सपना त्यो हो जसले निदाउनै दिँदैन । हामीले वर्तमानको सुखका निम्ति भविष्यको सुन्दर अवसर गुमाउने कि वर्तमानमा मेहनत र सङ्घर्षका बलमा सुखद् भविष्यको निर्माण गर्ने रु यो छनोटको अधिकार तपाई–हाम्रो हातमै छ । 

समाज, राष्ट्र र जनताप्रतिको जिम्मेवारीलाई ठीक ढङ्गले बुझ्दा हाम्रो व्यक्तिगत र व्यावसायिक जीवनमा समेत निरन्तर प्रगति भइरहेको हुन्छ । यो यथार्थलाई जसले ठीक ढङ्गले बुझ्दछ, जीवनको सार्थकता त्यसले नै सिद्ध गर्न सक्दछ । तसर्थ, हामी सबैको छनोट दूरदृष्टिका साथ भविष्य निर्माणको दिशामा केन्द्रित हुनुपर्दछ । यसले मात्र दीक्षित हुनुको महत्त्व र गौरव प्रमाणित गर्दछ ।

प्रसिद्ध भनाइ छ ‘‘अग्रजहरू र शिक्षकहरूले बाटो देखाउने हो, हिँड्ने जिम्मेवारी स्वयं आफ्नै हो ।” 

चिकित्सा विज्ञान प्रतिष्ठानले तपाईँलाई ज्ञान र सीपका साथ उच्चतम उपाधि प्राप्त गर्ने अवसर प्रदान गरेको छ, भविष्यको आधारशिला खडा गरिदिएको छ । तर, तपाईँहरूले प्राप्त गर्नुभएको ज्ञान, सीप र अनुभवलाई यस समाजमा सकारात्मक परिवर्तन ल्याउन र जनताको सेवालाई विस्तार र विकासमा योगदान पु¥याउने जिम्मेवारी तपाईँहरू स्वयंको हो । तपाईँहरू स्वयं जिम्मेवार, सक्रिय, जिज्ञासु र कर्तव्यनिष्ठ भएर मात्र दीक्षान्त समारोहले कोरेको मार्गमा अगाडि बढ्न र निरन्तर सफलता हासिल गर्न सक्नुहुनेछ ।

मेडिकल स्कुल स्थापना गरी कम्पाउण्डर र ड्रेसरमार्फत् देशभरि स्वास्थ्य सेवा दिन सफल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत रहेको यस वीरले आफ्नो उत्पादनमार्फत देशका विभिन्न ठाउँमा विशेषज्ञ सेवा पु¥याउन सफल भएको छ । यो आफै महत्त्वपूर्ण छ । नेपाल सरकारको सेवामा रहेका ५०० भन्दा बढी चिकित्सकहरूले यसै संस्थामार्फत विशेषज्ञता र अति विशेषज्ञताको उपाधि प्राप्त गरी स्वास्थ्य सेवामा योगदान पु¥याएको र धेरै सङ्ख्यामा नर्सिङ सेवामा पनि महिला तथा बाल स्वास्थ्यमा दक्षता हासिल गरी सेवा दिएको जानकारी पाउँदा म थप उत्साहित भएको छु । 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले आफ्नो दृष्टिकोण, लक्ष्य र उद्देश्यलाई मध्यनजर राखी स्वास्थ्य सेवाका लागि विश्वसनीय, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न, देशमा आवश्यक जनशक्ति उत्पादन गर्न, अनुसन्धान र चिकित्सा शिक्षाको विकासमा गरिरहेको प्रयास र पु¥याएको योगदान महत्त्वपूर्ण छ । प्रतिष्ठानले यस क्षेत्रमा थप परिस्करणसहित निरन्तरताको अपेक्षा गर्दै नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दछु ।

अस्पतालहरूलाई चिकित्सा शिक्षा र तालिम केन्द्रका रूपमा रूपान्तरण र विकास नगरी सुलभ, प्रभावकारी, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिँदैन, अनुसन्धानको कार्यलाई व्यवस्थित र परिणाममुखी तुल्याउन सकिँदैन । यसै यथार्थलाई मध्यनजर गर्दै प्रतिष्ठानले विराटनगर, भरतपुर, भैरहवामा रहेको सरकारी र सामुदायिक अस्पतालहरूलाई शिक्षण अस्पतालको रूपमा विकास गरेको छ । यसलाई निरन्तरता दिँदै सरकारी अस्पतालहरूलाई स्वास्थ्य विज्ञानको शैक्षिक केन्द्रको रूपमा विकास गर्दै जाने सरकारको सङ्कल्पमा यहाँहरू सबैको सहयोग र प्रतिबद्धता प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले स्वास्थ्य सेवा प्रवाह, जनशक्ति उत्पादन र अनुसन्धानको क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्दै आए पनि सेवाग्राहीको चाप र विकसित नयाँ परिस्थितिका सामु त्यो पर्याप्त देखिँदैन । 

सरकारी स्वास्थ्य संस्था र प्रतिष्ठानहरूमा सेवा प्रदायक निकाय र व्यक्तिले प्रभावकारी सेवा नदिएको, प्राविधिक सामग्रीहरूको चुस्तदुरूस्त परीक्षण र परिचालन नगरेको, सार्वजनिक स्वास्थ्यको गुणस्तर कमजोर रहेको, पेसागत मर्यादा र आचरणमा स्खलन आएको, मिलेमतोमा सरकारी सम्पत्तिप्रति बेवास्ता र दुरुपयोगसमेत भएको, सेवाग्राहीप्रति विनम्रता र गम्भीरताको कमी रहेको जस्ता जनगुनासो र सार्वजनिक सञ्चारमाध्यममा आएका समाचारहरू हाम्रा लागि गम्भीर विषयहरू हुन् । यस्ता बेथितिहरूमा सुधारका लागि स्वास्थ्य क्षेत्रमा शल्यक्रियाको आवश्यकता महसुस हुन्छ । 

वर्तमान सरकारले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो मुख्य लक्ष्य बनाएको छ । चुनौतीपूर्ण अवस्थामा रहेको राजनीति र अर्थतन्त्रलाई सकारात्मक दिशा दिन, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न, देशका सम्पूर्ण विकास आयोजनाहरू तोकिएको गुणस्तर र तोकिएकै समयमा निर्माण सम्पन्न गरी समृद्धिको यात्रालाई तीव्रता दिन दृढसंकल्पित छ । सरकारको यस प्रयासमा प्रतिष्ठानको नेतृत्व, आबद्ध चिकित्सकहरू, कर्मचारीहरू र आम सरोकारवाला निकाय र व्यक्तित्वको रचनात्मक एवं सकारात्मक प्रयास, सहयोग र प्रतिबद्धता जरुरी छ ।

२०७२ सालमा जारी नेपालको नयाँ संविधानले स्वास्थ्यको हकलाई जनताको मौलिक हकको रूपमा प्रत्याभूत गर्दै समाजवादउन्मुख स्वास्थ्यको सङ्कल्प गरेको छ । 

संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ्य सम्बन्धी हकको व्यवहारिक अभ्यासका निम्ति कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीगत प्रबन्ध र सुधार आवश्यक छ । वर्तमान सरकार संविधानमा व्यवस्था भएबमोजिमका ऐनहरू तर्जुमा गरी स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी कार्यान्वयन गर्न प्रतिबद्ध छ । त्यसका लागि सरकारको तर्फबाट आवश्यक गृहकार्य र पहल भइरहेको विषय पनि म यहाँहरू सबैलाई अवगत गराउँछु ।

आगामी दिनमा प्रतिष्ठानले दक्ष प्राविधिक जनशक्तिको उत्पादन, प्रभावकारी सेवा प्रवाह र राष्ट्रिय आवश्यकताको सम्बोधन हुने गरी अनुसन्धानका काममा थप प्रगति हासिल गर्ने गरी अगाडि बढ्ने अपेक्षा र निर्देशनसहित आफ्नो भनाइ टुङ्गाउँछु, धन्यवाद ।