• १७ जेठ २०८१, बिहिबार

भीमकाय मानिस

blog

भीमकाय मानिससँग भेट भएको दाबी गर्ने मानिस इतिहासमा थुप्रै छन् । ग्रिसका टाइटन, कैयौँ नर्वेली भीमकाय व्यक्ति, चिनियाँ महाकाय पाङ्गु तथा बाइबलमा उल्लिखित गोलियत र अनाक, अनि महाभारतका भीम विभिन्न संस्कृति र क्षेत्रमा उल्लिखित भीमकाय मानिस हुन् । यी सबैले कौतूहल जाग्छ, के महाकाय मानिस कुनै बेला अस्तित्वमा थिए ? भीमकाय मानिस थिए भन्ने एक सम्भावित उदाहरण हो ‘क्याप’ ।  

दक्षिण अमेरिकाको तटीय क्षेत्रमा भीमकाय ‘क्याप’को अवशेष फेला पारिएको थियो, यो पाटगोनियन कालको भएको अनुमान छ । ‘क्याप’को शरीर असामान्य विशाल त छ नै, त्यसको जोडिएका दुई टाउका पनि छन् । यस्तो भीमकाय शरीर विज्ञानले सम्भव देखेको छ तर यसको प्रामाणिकतामा प्रश्न उठाउनेहरू पनि छन् । 

‘क्याप’को कद लगभग १२ फिट भएको अनुमान गरिन्छ । अमेरिकाको मेरिल्यान्डको बाल्टिमोरमा रहेको सङ्ग्रहालयमा ‘क्याप’को शरीर राखिएको छ । यो भीमकाय मानिस पाटगोनियन भएको विश्वास गरिन्छ । भीमकाय मानिसहरूको लामो समयसम्म बसोबास रहेको क्षेत्र पाटगोनियन भनेर परिचित छ । अन्वेषक फर्डिनान्ड मेग्लनले समेत भीमकाय मानिसका बारेमा चर्चा गरेका थिए । 

पोर्चुगलका अन्वेषक मेग्लन इस्वी संवत्को १६औँ शताब्दीको सुरुका वर्षमा स्पेनी अन्वेषण टोलीको नेतृत्व गरेर इस्टइन्डिज तथा समुद्री व्यापार मार्गको खोजमा प्रशान्त महासागरको यात्रामा निस्किएका थिए । यात्राको कममा मेग्लन र उनको टोली दक्षिण अमेरिकाका तटकहरूमा रोकियो तथा खोजका लागि भित्री भागसम्म गएको थियो । आफ्नो खोजका क्रममा उनीहरूले सामान्य मानिसको दाँजोमा दोब्बर आकारको जिउडाल भएका मानिस त्यहाँ देखेको भनाइ छ । त्यतिबेला त्यस क्षेत्रमा बसोबास गर्ने रैथाने तेहुअल्चाहरू औसत युरोपेलीभन्दा अग्ला हुने भएकाले पनि यस्तो कुरा आएको हुन सक्छ । 

यसरी युरोपेली र तेहुअल्चाबीच कदको भिन्नता बढाइचढाइ गरिएको पनि हुन सक्छ । जसको आधारमा पाटगोनिया भीमकाय मानिसहरूको भूमि भएको युरोपेली मिथकको जन्म भयो । के यो सम्भव छ पाटगोनियामा केही महाकाय मानिस थिए र त्यसको एक उदाहरण हो ‘क्याप’ ?

‘क्याप’का बारेमा दुई परस्पर विरोधी सिद्धान्त छन् । पहिलो सिद्धान्तअनुसार सन् १६७३ तिर पाटगोनियाको समुद्री तटीय क्षेत्रहरूमा ‘क्याप’सँग स्पेनी नाविकहरूको जम्काभेट भएको थियो । स्पेनी नाविकहरूले उनलाई नियन्त्रणमा लिए र आफ्नो पानीजहाजमा ल्याएर मस्तुलमा बाँधियो । जब उनी मस्तुलबाट मुक्त भए, नाविकहरूसँग उनको भिडन्त भयो र छातीमा भाला हानेर नाविकहरूले उनको हत्या गरे । त्यसपछि उनको शवलाई ममीमा परिणत गरेर सुरक्षित राखियो । 

‘क्याप’लाई १९औँ शातब्दीमा पहिले बेलायत र त्यसपछि अमेरिका लगियो । अमेरिकामा अज्ञात संसारको दर्शनीय वस्तुका रूपमा त्यसलाई ठाउँठाउँमा प्रदर्शनी गर्ने काम भयो । 

दोस्रो सिद्धान्तअनुसार भीमकाय ‘क्याप’लाई छातीमा भाला रोपिएको अवस्थामा समुद्री तटमा मृत अवस्था मै फेला पारिएको थियो । पाराग्वेका बासिन्दाले ‘क्याप’लाई फेला पारेका थिए । त्यस विचित्रको मानिसलाई उनीहरूले ममीमा परिणत गरे, अनि  धार्मिक अनुष्ठानका अवसरमा त्यसको पूजा गर्न थाले । त्यसपछिको केही वर्षमा बेलायती पानीजहाजका क्याप्टेन जर्ज विकलले यसबारेमा सुने । विकलले पाराग्वेमा घुसपैठ गरे र ‘क्याप’ शरीर सुटुक्क लगे । ‘क्याप’ शरीर हासिल गरेपछि उनले त्यसलाई बेलायत लिएर गए ।   

दुवै सिद्धान्तको निष्कर्ष एउटै छ । ‘क्याप’को शरीर प्रदर्शनकारीको हात परेको थियो र त्यसलाई ठाउँठाउँमा प्रदर्शन गरेर पैसा कमाउने काम भयो । 

‘क्याप’ बारेको यी दुवै सिद्धान्तमा केहीले असहमति जनाउँछन् र नक्कली कुरा मान्छन् । त्यसो भए ‘क्याप’ के हो ?

‘क्याप’को दुईवटा टाउको छ र कद करिब १२ फिट छ । ‘क्याप’ को असामान्य कदका बारेमा धेरै बहस गर्नुपर्ने ठाउँ देखिँदैन । किनभने विश्वमा असामान्य उचाइ भएका मानिस नभएका होइनन् । जाइगान्टिज्म अवस्थाका कारणले अग्लो कदका मानिस थिए र छन् ।

सन् १९१८ मा जन्मिएका रोबर्ट वाड्लको कद आठ फिट ११ इन्चसम्म पुगेको थियो, उनको उचाइ बढिरहेको थियो तर २२ वर्षको उमेरमा अचानक उनको मृत्यु भयो । उनीबाहेक पनि आठ फिट अग्ला मानिस इतिहासका विभिन्न कालखण्डमा देखिएका छन् । यस कारण मानिसको उचाइ ‘क्याप’को जति हुन सक्छ तर बढ्दो असामान्य उचाइले गर्दा अनेक खालका स्वास्थ्य जटिलताका कारण जीवन असहज बन्छ । 

साथै दुईटाउके मानिस र जनावरसमेत हुन्छन् । जुम्ल्याहा बच्चा जन्मिने प्रक्रियामा एक अवस्था डाइसेफिलिक पारापागस हुन्छ, जुन अवस्थामा जुम्ल्याहाको एउटा शरीर र दुई टाउको हुन्छ । प्रायः यस्ता बच्चाको शिशु अवस्थामै मृत्यु हुन्छ तर यसमा केही अपवाद पनि छन् । सन् १८७५ मा जन्मिएका इटालीका दाजुभाइ जियोभान्नी र गियाकोमो बाटिस्टा टोची सन् १९४० सम्म बाँचेका थिए । 

यस्तै अमेरिकाको मिनेसोटामा सन् १९९० मा जन्मिएका दिदीबहिनी अबे र ब्रिटिनी हेन्सेल हालसम्म जीवित नै छन् । डाइसेफिलिक पारापागस जुम्ल्याहाको बाँच्ने सम्भावना त्यस अवस्थामा वृद्धि हुन्छ जब उनीहरूका महìवपूर्ण अङ्गहरू दुई–दुई हुन्छन् । जस्तै दुई मुटु, दुई आमाशय, दुई जोडी फोक्सो आदि । 

सन् १९६० को दशकमा चिकित्सकहरूले ‘क्याप’को शरीर परीक्षण गरेको कुरा आयो । चिकित्सकले अरूले दाबी गरिए जसरी ‘क्याप’ नक्कली नभएको बताएका थिए । 

–युवामञ्च