• १ साउन २०८१, मङ्गलबार

च्याटजीपीटीको सल्किँदो आगो

blog

तर्क गर्न सक्ने, आफू अनुकूल निर्णय गर्न सक्ने, सिर्जना गर्न सक्नेजस्ता विशिष्ट गुणकै कारण मान्छे अरू प्राणीको तुलनामा अलग छ । आफ्नो यही क्षमताको उपयोग गर्दै समयक्रममा अनेकौँ आविष्कार र निर्माण गरेर मान्छेले आफूलाई सबल स्थापित गरिरहेको छ । तर, मान्छेको सोच र क्षमताका सीमा छन् । अनेक प्रश्नको उत्तर, समस्याको समाधान पत्ता लगाउन मान्छेले लामो समय खर्चिनुपर्छ । आफ्नै विवेक प्रयोग गरेर पनि सफलता प्राप्त गर्ने सुनिश्चितता हुँदैन । 

तर, कल्पना गरी हेरौँ त हामीले चाहेका जस्ता, खोजेका जस्ता प्रश्नका उत्तरहरू मेहनतबिनै क्षणभरमै उपलब्ध भयो भने ? कविता लेख्न आउँदैन तर तपाईंले शीर्षक दिएकै आधारमा सेकेन्डमै कविता तयार भयो भने ? परीक्षाका कठिन प्रश्नको तपाईंले चाहेकै समयमा उत्तर प्राप्त भयो भने ? सफ्टवेयर बनाउन आवश्यक अप्ठ्यारा कोडहरू निर्देशन दिएकै भरमा लेखियो भने ?

यी र यस्ता लाखौँ प्रश्नको उत्तर सजिलै पाउने कुरा अब कल्पना मात्र रहेन । कुनै खर्चबिना मान्छेले वास्तविकतामै यस्तो सुविधा उपयोग गर्न सक्ने अवस्था बनेको छ । च्याटजीपीटी । विश्वभर यतिबेला अत्यन्त चर्चित यो नाम हामीले खोजेका प्रश्नको उत्तर हो । इन्टरनेटको आविष्कारपछि सायद सबैभन्दा धेरै चर्चित प्रविधि हो च्याटजीपीटी । सबैभन्दा छोटो समयमा सबैभन्दा धेरै प्रयोगकर्ता आकर्षित गरेको प्रविधि पनि यही हो । हामीले कल्पना मात्र गर्न सक्ने कुरालाई व्यवहारमा बदल्दिएकै कारण विश्वभर यसको प्रयोग आगोसरी फैलिएको छ । 

यसको उपस्थिति यति चुनौतीपूर्ण बनिदिएको छ कि आफूलाई सबैभन्दा नवीनतम प्रविधि दाबी गरेका हरकोही एकाएक पुराना साबित भइदिएका छन् । प्रविधिको दुनियाँमा साम्राज्य जमाएका गुगल, फेसबुक, माइक्रोसफ्टजस्ता कम्पनी च्याटजीपीटीको सुरुवातपछि आफ्नो अस्तित्व सङ्कटमा पर्न सक्ने देखिरहेका छन् । त्यसैले च्याटजीपीटीसँग प्रतिस्पर्धाभन्दा पनि सहकार्यको हात फिजाइँरहेका छन् । अर्बौं डलर सहजै लगानीका लागि तयार छन् ।

के हो च्याटजीपीटी ?

प्रविधिको दुनियाँ हल्लाइदिएको च्याटजीपीटी प्रश्न उत्तरमा आधारित एउटा सामान्य च्याटबोट मात्र हो । जहाँ तपाईं प्रश्न सोध्न सक्नुहुन्छ र उक्त बोटले तपाईंलाई उत्तर दिन्छ । यसले दिने उत्तरकै कारण यो शक्तिशाली बनेको हो । वास्तवमा च्याटजीपीटीका उत्तरहरू आर्टिफिसेल इन्टेलिजेन्स (कृत्रिम बौद्धिकता) निर्देशित छन् । च्याटजीपीटीले आफूसँग रहेको बौद्धिक क्षमताको उपयोग गरी प्रश्नहरूको स्वीकार्य हुने गरी उत्तर दिन्छ । यसले दिने उत्तर कुनै एउटा क्षेत्र विशेषमा मात्र सीमित छैन । मेडिकल विज्ञानदेखि सफ्टवेयर निर्माण, कानुनदेखि साहित्य, व्यावसायिक प्रस्तुतिदेखि व्यक्तिगत आनीबानीसम्मका क्षेत्रमा यसले प्रश्न सोधेको केही सेकेन्डमै उत्तर दिने सामथ्र्य राख्छ । कतिसम्म भने हालै मात्र लिइएको मेडिकल विज्ञानको जटिल जाँचमा च्याटजीपीटी पास भएको थियो । त्यसअघि लिइएका कानुन र व्यवस्थापनको स्नातकोत्तर परीक्षामा पनि च्याटजीपीटी सफल साबित भएको थियो । 

च्याटजीपीटी ओपनएआई नामक आर्टिफिसेल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्ने संस्थाको एउटा उत्पादन हो । यही संस्थाले ‘ड्याल–इ’ नामक अर्को एआई सफ्टवेयर पनि निर्माण गरेको छ, जहाँ तपाईंले अक्षर लेखेर त्यसको आधारमा तस्बिर बनाउन लगाउन सक्नुहुन्छ । च्याटजीपीटी जीपीटी (जेनेरेटिभ–प्रिटे«निङ ट्रान्सफर्मर)को तेस्रो संस्करण हो । यो संस्करणले अर्बौं शब्द पहिचान गरेर सोधिएको प्रश्नलाई शृङ्खलाबद्ध रूपमा उत्तर दिने सामथ्र्य राख्छ । जीपीटी–थ्रीको प्रयोग गरिएकै कारण च्याटजीपीटी अन्य एआई सफ्टवेयरको तुलनामा सबैभन्दा अलग छ । 

ओपनएआईले च्याटजीपीटीलाई विशिष्ट बनाउन अहिलेसम्म दस अर्बभन्दा बढी शब्दको तालिम दिएको छ । जसमा ८० लाखभन्दा बढी डकुमेन्ट समावेश छन् । च्याटजीपीटीको सबैभन्दा सहज पक्ष भनेको यो धेरै भाषामा प्रयोग गर्न सकिन्छ । अहिलेसम्म ९५ वटा भाषामा प्रश्न सोध्न सक्ने सुविधा यसमा उपलब्ध छ । सुखद कुरा के छ भने सुरुवातको केही समयदेखि नै यसमा नेपाली भाषा उपलब्ध भइसकेको थियो । 

द्रुत प्रयोग

नोभेम्बर २०२२ देखि बेटा संस्करणमा सार्वजनिक च्याटजीपीटी छोटो समयमै सबैभन्दा धेरै प्रयोगकर्ता बटुल्न सफल प्रविधि बनेको छ । सार्वजनिक भएको दस दिनमै एक करोड प्रयोगकर्ता बनाएर यसले नयाँ रेकर्ड कायम गरेको थियो । अहिले यसका मासिक दस करोड प्रयोगकर्ता छन् भन्ने अनुमान छ । च्याटजीपीटीले जति छोटो समयमा प्रयोगकर्ता बनाएको थियो, त्यसका लागि अहिलेको सबैभन्दा चर्चित सामाजिक सञ्जाल टिकटकलाई नौ महिना लागेको थियो । इन्स्टाग्रामका लागि यस्तो समय साढे दुई वर्ष खर्चिनुपरेको थियो । 

विगतमा सर्च इन्जिनबाट प्रयोगकर्ताले आफूले चाहेका प्रश्नको उत्तर खोज्ने बानी थियो । तर त्यस्ता सर्च इन्जिनले यकिन उत्तर दिनुभन्दा पनि त्यससँग मिल्दोजुल्दो वेबसाइटको लिङ्क उपलब्ध गराउँथे/गराउँछन् । सामान्य प्रश्नकै लागि धेरै लिङ्क हेर्नुपर्ने र खोजेको उत्तर पनि नपाउने सम्भावनाका बीच च्याटजीपीटीको जबर्जस्त उपस्थिति बनेको हो । 

च्याटजीपीटीले मान्छेले खोजेका प्रायः सबै प्रश्नको उत्तर यति सजिलै उपलब्ध गराउँछ कि त्यो असामान्य नै लाग्छ । आफ्ना जटिल प्रश्नको सहजै उत्तर पाउने देखेपछि च्याटजीपीटीसँगको आकर्षण विश्वभर फैलियो । च्याटजीपीटीकै मूल कम्पनी ओपनएआईलाई प्रयोगकर्ताको बढ्दो सङ्ख्या पत्यारिलो लागेको थिएन । प्रयोगकर्ता अत्यधिक बढ्न थालेपछि अहिले च्याटजीपीटीले नयाँ प्रयोगकर्तालाई ‘वेटिङ लिस्ट’मा राख्न थालेको छ । त्यसबाट स्वीकृति पाएपछि मात्रै च्याटजीपीटी प्रयोग गर्न सकिन्छ । 

च्याटजीपीटीको प्रयोग दु्रततर हिसाबले बढ्नुमा यसको बहुआयामिक क्षमता नै मुख्य कारण हो । धेरै भाषाको प्रयोग, प्रायः सबै क्षेत्रका प्रश्नको नजिकको उत्तर, छोटो समयमै जस्तोसुकै विषयको सिर्जना र समाधान दिनसक्ने सुविधाकै कारण यसको प्रयोग नियमित बढिरहेको छ । प्रयोगकर्ताको बाढी नै आएपछि ओपनएआईले च्याटजीपीटीको नवीनतम संस्करण च्याटजीपीटी प्लस सार्वजनिक गरेको छ, जसको प्रयोगका लागि मासिक २० डलर तिर्नुपर्ने हुन्छ । यसको प्रयोगमार्फत मागेको जवाफ अहिलेको तुलनामा झन् छिटो पाउन सकिन्छ । 


नेपालीलाई धेरै चासो

चाखलाग्दो कुरा त के छ भने च्याटजीपीटीको बारेमा विश्वमा सबैभन्दा धेरै चासो राख्नेमा नेपाली अगाडि देखिएका छन् । च्याटजीपीटी के हो, यसले कसरी काम गर्छ लगायत प्रश्न गुगलमा धेरै सोध्नेमा नेपाल विश्वमै सबैभन्दा अगाडि पाइएको हो । गुगल टे«न्डको विश्लेषण गर्दा गत महिना (पुस–माघ) यस्तो सूचीमा नेपाल पहिलो स्थानमा देखिएको हो । नेपालपछि च्याटजीपीटीबारे धेरै चासो राख्नेमा पाकिस्तान र त्यसपछि इजरायल रहेको छ । 

विश्वसनीयताको प्रश्न

च्याटजीपीटीले आफ्नो बोटमार्फत दिने जवाफले धेरैलाई आश्चर्यचकित बनाइरहेको छ । व्यवसायका लागि नाम जुटाउनेदेखि व्यापार प्रवद्र्धनका लागि प्रस्तावना लेखिदिने, जुनसुकै भाषामा अनुवाद गरिदिने, भाषा मिलाइदिनेजस्ता अनेकौँ सुविधाका कारण पनि यो अचम्मकै लाग्न सक्छ । तर यसले दिने जवाफ त्रुटिरहित भने छैन । च्याटजीपीटीले गल्ती गर्छ त्यो पनि बारम्बार । सामान्य जानकारी पनि यसले गल्तीसहित प्रस्तुत गरेका धेरै उदाहरण छन् । त्यसो त च्याटजीपीटीले आफैँले पनि यसलाई स्वीकार गरेको छ । च्याटजीपीटीले आफ्नो होमपेजमै आफ्ना सीमितता उल्लेख गर्दै गलत सूचना सिर्जना हुन सक्ने उल्लेख गरेको छ । त्यस्तै कुनै÷कुनै समय हानिकारक निर्देशन र पक्षपातपूर्ण कन्टेन्टहरू पनि देखिन सक्ने यसले स्वीकार गरेको छ । त्यसो त सन् २०२१ पछिका धेरै विश्वघटनाको बारेमा यसलाई खासै जानकारी नै छैन । च्याटजीपीटीका यस्तै सीमितताले गर्दा यसले उपलब्ध गराउने जवाफको विश्वसनीयतामाथि प्रश्न उठ्न थालिसकेको छ । यसका जवाफमा निर्भर रहँदा झन् ठूलो गल्ती हुन सक्ने आशङ्का व्यक्त हुन थालेका छन् । तर यसको निर्माता ओपनएआईले यसलाई क्रमिक सुधारको क्रममा रहेकोले सीमितता ख्याल गरिदिन आग्रह गर्दै आएको छ । 

के मान्छेको क्षमता सङ्कटमा ? 

च्याटजीपीटीको तीव्रतर प्रयोग बढेपछि यसले कतिपय मान्छेको रोजगारी नै खोसिदिने अनुमान सुरु हुन थाले । खासगरी ‘कन्टेन्ट राइटर’ र ‘सफ्टवेयर इन्जिनियर’को जागिर च्याटजीपीटीले धरापमा पार्ने दाबी अहिले पनि हुने गर्छ । यसले भविष्यको रोजगारीप्रति एउटा आशङ्का पैदा गरेको छ । कन्टेन्ट राइटर र सफ्टवेयर इन्जिनियरलाई एक किसिमले झस्काएको छ । 

ठूला–ठूला सफ्टवेयर कम्पनीसमेत यसमा लगानी गर्न इच्छुक देखिएपछि त्यस्तो आशङ्कालाई झन् बल पुगेको छ । त्यसैले च्याटजीपीटीको प्रयोगले मान्छेको क्षमता नै सङ्कटमा पर्छ कि भन्ने विषयमा चर्चा सुरु हुन थालेको छ ।  यस्तै चर्चाबीच इन्टरनेटका पिता भिन्ट सर्फले च्याटजीपीटीबाट तत्काल यस किसिमको परिस्थिति सिर्जना नहुने दाबी गर्नुभएको छ । गुगलको हालैको एउटा कार्यक्रममा उहाँले च्याटजीपीटीको चुलिँदो चर्चा देखेर यसमा अर्बौं डलर नखन्याउन र त्यसरी खन्याए त्यो मूर्खता हुने बताउनुभयो । वास्तवमा उहाँको भनाइ च्याटजीपीटी केन्द्रितभन्दा पनि आर्टिफिसेल इन्टेलिजेन्सबाट हामीले खोजेको नतिजा प्राप्त गर्न धेरैभन्दा धेरै समय लाग्नेतर्फ बढी केन्द्रित थियो ।

मेडिकल विज्ञानदेखि सफ्टवेयर निर्माण, कानुनदेखि साहित्य, व्यावसायिक प्रस्तुतिदेखि व्यक्तिगत आनीबानीसम्मका क्षेत्रमा यसले प्रश्न सोधेको केही सेकेन्डमै उत्तर दिने सामथ्र्य राख्छ । कतिसम्म भने हालै मात्र लिइएको मेडिकल विज्ञानको जटिल जाँचमा च्याटजीपीटी पास भएको थियो । 

च्याटजीपीटीको प्रयोगले भविष्यमा मान्छेको जागिर र क्षमता नै सङ्कटमा पर्ने त होइन ? मैले यो प्रश्नको उत्तर च्याटजीपीटीलाई नै सोधेँ । अनि च्याटजीपीटीको उत्तर यस्तो थियो, ‘भाषासम्बन्धी एआई मोडलका रूपमा मेरो डिजाइन प्रश्नहरूको उत्तर दिन, अक्षरको सिर्जना गर्न र सुझावहरू उपलब्ध गराउनेजस्ता धेरै काममा मान्छेलाई सहयोग गर्न गरिएको हो । मेरो क्षमता धेरै क्षेत्रमा प्रयोग गर्न सकिने भए पनि मान्छेको जागिर र गतिविधिलाई प्रतिस्थापन गर्ने मेरो क्षमता छैन । वास्तवमा एआई र अटोमेसेन मान्छेको क्षमता र उत्पादकत्व बढाउन सहयोगी हुन् न कि त्यसलाई पूर्ण रूपमा प्रतिस्थापन गर्ने । यद्यपि केही जागिर र कामहरू भविष्यमा स्वचालित हुन सक्छन् र त्यस्तो अवस्थामा मान्छेले एआई प्रविधिको उपयोग गरेर आफ्नो क्षमता प्रदर्शन गर्नुपर्ने हुन सक्छ । समग्रमा मजस्तै एआई प्रविधिको डिजाइन मान्छेलाई प्रतिस्थापन गर्नभन्दा पनि मान्छेको क्षमता बढाउन र सहयोग गर्न नै बनाइएको हुन्छ । यो कुरा बुझ्नु आवश्यक हुन्छ कि यस किसिमको प्रविधिको निर्माण र जिम्मेवारपूर्ण उपयोगका लागि मान्छेको भूमिका नै सबैभन्दा महत्वपूर्ण हुन्छ ।’ 

केही थाहा छैन

यतिन्जेल हामीले च्याटजीपीटीलाई सबै प्रश्नहरूको जवाफ थाहा भएको बुझ्यौँ । तर वास्तवमा च्याटजीपीटी आफैँलाई भने केही थाहा छैन । यो एक कृत्रिम बौद्धिक सफ्टवेयर भए पनि लेखको सुरुवातमा भनेजस्तै यो अन्ततः मान्छेकै आविष्कार हो । यो सफ्टवेयरले यति सजिलै काम गर्नुका पछाडि मान्छेकै मात्र योगदान छ । 

च्याटजीपीटीले केही थाहा छैन भन्ने बुझ्न यसले कसरी काम गर्छ भन्ने जानकारी राख्यौँ भने पनि प्रस्ट हुन सकिन्छ । एआई सफ्टवेयरका रूपमा च्याटजीपीटीलाई अहिलेसम्म ८० लाखभन्दा बढी डकुमेन्टका १० अर्बभन्दा बढी अक्षरबाट तालिम प्रदान गरिएको छ । यो अहिलेसम्म यसले समेटेका सबै भाषासमेत गरेर हो । यो एआईलाई नयाँ शब्दसँग परिचित गराउने काम नियमित जारी नै छ । जब हामीले यसको च्याटबोटमा केही प्रश्न राख्छौँ यसले इन्टरनेटमा उपलब्ध ती शब्दको एकदमै छिटो र सजिलोसँग पहिचान गर्छ । अनि त्यसलाई शृङ्खलाबद्ध रूपमा उपलब्ध गराउँछ । च्याटजीपीटीले त्यस्ता प्रश्नको उत्तर उपलब्ध गराइरहँदा त्यसको भाषा र सूचनामा त्रुटि भए त्यसलाई सच्याउन इन्जिनियरसहित भाषा विज्ञ, सम्पादक पनि खटाइएको हुन्छ । उनीहरूले भाषाको व्याकरण मिलाउने, गल्ती भए सच्याउनेजस्ता काम गर्छन् । यद्यपि त्यो नियमित काम भने होइन । च्याटजीपीटीबाट प्राप्त हुने अधिकांश उत्तर उसलाई दिइएको भाषाको तालिमको आधारमा स्वचालित उपलब्ध हुन्छन् । 

च्याटजीपीटीमा प्रयोग भएको भाषाको मोडल अत्यन्त विशाल भएको यसको पछाडि ठूलो अनुसन्धान र समय लागेको छ । सफ्टवेयरका रूपमा स्वचालित बनाउन इन्जिनियरको ठूलो टोली यसका पछाडि नियमित सक्रिय छ । समग्रमा च्याटजीपीटी आफैँले सबै कुरा जानेरभन्दा पनि यसलाई दिइएको तालिमका आधारमा अक्षर पहिचान गरेर त्यसलाई प्रस्तुत गरिदिने मात्र हो । त्यसकारण च्याटजीपीटीलाई सबै थाहा भएर पनि केही थाहा छैन भन्ने गरिन्छ । 

च्याटजीपीटीको प्रयोले मान्छेको क्षमता, जागिर सङ्कटमा पर्छ भन्नेदेखि लिएर यसको विश्वसनीयतामा उठ्ने हरेक प्रश्नहरूको उत्तर वास्तवमा यसको प्रयोग कसरी गरिन्छ भन्नेमा बढी निर्भर रहन्छ । त्यसो त प्रविधिको फाइदा बेफाइदाका विषयमा वर्षौंदेखि हुँदै आएका चर्चाको अन्त्य पनि यसको प्रयोग कसरी हुन्छ भन्नेमा नै टुङ्गिएका छन् । इन्टरनेटको यो जङ्गलमा फैलिएको च्याटजीपीटीको आगोले मान्छेलाई न्यानो दिन्छ कि डढेलो लगाउँछ त्यो भने हेर्नै बाँकी छ । तर पनि कुरो उही हो, प्रविधिको उपयोग अथवा दुरुपयोग मान्छेमै निर्भर रहन्छ ।