काठमाडौं, चैत १० गते। पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले प्रदेश र केन्द्र सरकार विस्तारका लागि छलफल तीव्र पार्नुभएको छ। शुक्रबार उहाँले केन्द्रको गठबन्धन अनुसार प्रदेशमा सरकार गठनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेट गर्नुभएको हो।
केन्द्रमा गठबन्धन सरकार निर्माण र प्रदेशमा एमालेलाई हटाए गठबन्धन अनुकुल सरकार बनाउने कसरतमा नेता खाण लाग्नुभएको हो। सोहीक्रममा प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष यादवलाई छुट्टाछुट्टै भेटे गर्नुभएको नेता खाणको निजी सचिवालयले बताएको छ।
प्रधानमन्त्रीलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा र जसपा अध्यक्ष यादवलाई जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गर्नुभएको हो। प्रधानमन्त्री दाहालसँग भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकार सञ्चालनका विषयमा कुराकानी भएको छ।
‘‘प्रधानमन्त्रीसँग बालुवाटारमा भेट भयो। भेटमा समसामयिक राजनीतिक घटनाक्रम, गठबन्धनलाई अझ सशक्त बनाउने र सरकारलाई प्रभावकारी रूपमा कसरी सञ्चालन गर्ने भन्ने बारेमा कुराकानी भयो’’, नेता खाणको सचिवालयले उहाँको भनाइ उद्धृत गर्दै भनेको छ, ‘‘संघीय सरकार विस्तार भएपछि प्रदेशमा पनि गठबन्धन अनुक"लका सरकार विस्तार गर्ने बारेमा कुराकानी भएको छ।’’
जसपा अध्यक्ष यादवसँग सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको भेटमा केन्द्र सरकार विस्तार, प्रदेशमा गठबन्धन अनुक"लको सरकार निर्माणलगायतबारे कुराकानी भएको छ।