• ११ असार २०८१, मङ्गलबार
blog

काठमाडौं, वैशाख ६ गते। नेपाली भाषा र साहित्यमा छुट्टै धारको नेतृत्व गर्ने स्रष्टा हुनुहुन्छ प्रा.मुकुन्दशरण उपाध्याय। उहाँ ८४ वर्षको उमेरमासमेत नेपाली भाषा–व्याकरणको छुट्टै धारको नेतृत्व गर्दै निरन्तर अध्ययन अनुसन्धानमा सक्रिय हुनुहुन्छ।  पोखराको हेमजामा १९९७ वैशाख ५ गते  जन्मनुभएका उपाध्यायको दैनिकी अहिले पनि भाषा र साहित्यको अनुसन्धानमै केन्द्रित छ। 

उहाँले त्रिभुवन विश्वविद्यालयबाट संस्कृत र नेपालीमा एमए गर्नुभएको हो। साहित्याचार्य भारतको वाराणसीबाट गर्नुभएको हो।  उहाँले २०२५ सालदेखि पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापन गर्नुभयो। उहाँ ३२ वर्ष अध्यापन गरेर सेवा निवृत्त हुनुभएको हो। 

प्राकृत पोखरा खण्डकाव्यका लागि उहाँले २०२१ सालमा मदन पुरस्कार प्राप्त गर्नुभएको हो। उहाँ कम उमेरमै मदन पुरस्कार प्राप्त गर्नुहुने साहित्यकार हुनुहुन्छ। उहाँ नेपाली भाषा, साहित्य र व्याकरणसँगै उपन्यास, समालोचना, निबन्ध सिर्जना र अनुसन्धानमा सक्रिय हुनुहुन्छ। उहाँका भाषा, साहित्य र व्याकरणका दर्जनौँ कृति प्रकाशित छन्। 

उहाँको ‘झगडाको ओखती’ बालकथा जनबोलीमा चर्चित छ। यसको अनुवाद विभिन्न देशको पाठ्यक्रममा समावेश छ।  भाषा, व्याकरण र साहित्यमा जीवन समर्पित गर्नुभएका उपाध्यायले विभिन्न पुरस्कार र सम्मान प्राप्त गर्नुभएको छ। 

उपाध्याय नेपाली भाषा र साहित्यमा छुट्टै धारको नेतृत्व गर्ने स्रष्टा हुनुहुन्छ। बालकृष्ण पोखरेलले २०३४ सालको भाषा गोष्ठीमा भाषा बदल्ने कुरा गरेपछि उहाँले भाषाको फरक धारको नेतृत्व गर्नुभएको हो। पोखरेलले भाषा नरहने कुरा उठाएपछि आफू एकाग्र भएर भाषामा लागेको सम्झना उहाँ गर्नुहुन्छ।  ‘‘अहिलेसम्म चलिआएका ह्रस्व, दीर्घ र श, ष र स बदल्ने कुरा बालकृष्ण पोखरेलको कुरा मलाई चित्त बुझेन। समर्थनमा धेरै विद्वानले ताली बजाए। उहाँले भाषा नै नरहने कुरा उठाएपछि म एकाग्र भएर भाषामा लागेँ।’’ 

विद्वानमा अलि अभिमान भएकाले भाषामा समस्या भएको भन्दै उहाँ भाषाको विषयमा आफू ठिक रहेको दाबी गर्नुहुन्छ। आवश्यकता अनुसार अन्य भाषाबाट आएका शब्दलाई स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ। भाषाविद् उपाध्यायसँगको कुराकानीका आधारमा गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाही र केशब गुरुङले तयार पार्नुभएको भिडियो सामग्री :