• ११ असार २०८१, मङ्गलबार

काठमाडौं महानगरको नयाँ पाठ्यक्रम

पाँच दिन किताब बोक्ने, शुक्रबार सीप सिक्ने

blog

काठमाडौं, वैशाख ८ गते। काठमाडौं महानगरपालिकाले शुक्रबार विद्यार्थीले किताब र झोला नबोकी विद्यालय जाने कार्यक्रम लागू गर्ने भएको छ। हाँस्दै, खेल्दै विद्यालय जाने र घर फर्कँदा होमवर्क नभई जीवन उपयोगी सीप लिएर फर्कने उद्देश्यका साथ यो कार्यक्रम ल्याइएको महानगरले जनाएको छ। 

काठमाडौं महानगरका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले विकसित पश्चिमी देश र छिमेकी मुलुक भारतका केही राम्रा विद्यालयमा हप्ताभर नै पढाइ गर्नुको साटो सीप सिकाउने गरिएको भन्नुहुँदै महानगर प्रमुख बालेन्द्र साहले यो योजना ल्याउनुभएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “नितान्त यो मेयरको भिजन हो। पश्चिमा देश र इण्डियाको दिल्लीका केही राम्रो स्कुलमा हप्ताभर पढाइ नगरेर एक दिन चाहिँ बुक फ्रि, ब्याग फ्रि डे बनाएर हाँस्दै, खेल्न स्कुल आउने अनि उनीहरूले सीपको कुराहरू सिक्ने रहेछन्।”, विद्यार्थीहरू आउट ड्रेस वा ट्र्याक सुटमा किताब, झोला केही नबोकी खाली हात आउने र त्यस दिन गृहकार्य नदिइने उहाँको भनाइ छ। 

पढाइ हुँदैन भनेपछि विद्यार्थी किन पठाउने भन्ने अभिभावकलाई लाग्न सक्ने भन्नुहुँदै उहाँले रमाइलो मात्रै गर्ने नभई त्यो दिन अरूभन्दा बढी काम गर्ने दिनको रूपमा बुझ्नुपर्ने बताउनुभयो। “त्यत्तिकै रमाइलो गर्ने, खेल्ने, उफ्रने मात्रै होइन। शुक्रबार चाहिँ अरू दिनको भन्दा बढी काम गर्छन्”, उहाँले भन्नुभयो। 

कस्ता खाले गतिविधि हुन्छन् भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, “अङ्ग्रेजीको दिनमा ड्रामा होला, निबन्ध लेखन। नेपालीको विषयमा गीत भन्ने, लेख्ने, कविता भन्ने, लेख्ने, तयार गर्ने, संवाद गर्ने, कुनै विषयवस्तुसँग सम्बन्धित नाटक”, यस्तो पाठ्यक्रम अनुसार क्रियाकलाप गराएर कक्षाकोठा र पढाइको कुरालाई सँगै जोडिने खालको गतिविधि हाफटाइमभन्दा अगाडि गर्ने उहाँको भनाइ छ। 

महानगरको उक्त प्याकेज अनुसार विद्यालयको हाफ टाइमभन्दा पछाडि चाहिँ अतिरिक्त पाठ्यक्रमका विषयवस्तुमा व्यवस्थापन गर्न खोजिएको छ। दैनिक जीवनमा अत्यावश्यक आधारभूत सीपहरू र कक्षा ९ देखि विषयगत दश वटा सीपहरू प्रदान गर्ने योजना महानगरको छ। 

सुवेदी भन्नुहुन्छ, “जस्तो अहिले सहरका बच्चाले गाईको गोठ कस्तो हुन्छ, दूध कसरी आउँछ थाहा पाएनन्। बिरुवाबाट तरकारी कसरी आउने देखेनन्, कसरी उम्रन्छन् थाहा पाएनन्”, यो समयमा कतै फ्रि भिजिट लगेर आवश्यक ठाउँमा बिउँ, बिरुवा रोप्न लगाउने अतिरिक्त क्रियाकलाप अन्तर्गत छन्। 

विद्यालयमा हुँदै आएको सामान्य किसिमका खेल जस्तै दौड, फुटबल, बास्केटबल, भलिबल लगायतका सबै खेल सम्भव भएसम्म हुँदै आए पनि त्यसबाहेक जीवन उपयोगी सीप सिक्नबाट विद्यार्थी वञ्चित भएकाले यसखाले कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ छ। “त्योबाहेक सीप सिक्ने कुराहरू जस्तै कोदालो चलाउने, खेत खन्ने, बिरुवा उमार्ने, गोड्ने, झार उखेल्ने, प्रोजेक्ट बनाएर वरिपरिका फोहोर टिप्ने, विसर्जन गर्ने, मल कसरी बनाउने भन्ने कुरा सिकाइन्छ।”

महानगरका विद्यार्थीमा आधारभूत सीप सिकाउन आवश्यक रहेको भन्नुहुँदै उहाँले थप भन्नुभयो, “यससँगै बच्चाहरूले कपडा आइरन गर्न जानेको छैन। कपडा पट्याउने कुरा, आफ्नो कोठाको सरसफाइ, सिरक, डस्ना पट्याएर राख्ने, मिलाउने, कपडा धुने, नुहाइधुवाइ, नङ काट्नेदेखि आफ्नो जिन्दगीलाई काम लाग्ने थुप्रै किसिमका सीपहरू सिकाउने भनेका छौँ”, मानिसको जिन्दगी आधा किताबको पढाइ र आधा जिन्दगीको पढाइ रहेकाले विद्यार्थीमा यी कुराको अभाव रहँदै आएको बताउनुभयो। 

“कमसेकम एउटा सियो लिएर बटन लगाउन जानोस्। जुत्ताको तुना लगाउन जानोस्। यस्ता आधारभूत सीप, तल्लो तहलाई त्यही र माथिल्लोलाई त्यही तहको। यसमा तालिका नै बनाएर जाने हामीले भनेका छौँ”, उहाँले भन्नुभयो। 

कक्षा ९ देखि छोटो अवधिको तालिम 

महानगरले कक्षा ९ देखि दश वटा विषयमा छोटो अवधिको तालिम प्रदान गर्ने बताएको छ। यस अन्तर्गत प्लम्बिङ, मोबाइल रिपेयरिङ, खाना पकाउने सीप, सिलाई–बुनाई, ब्युटिसियन लगायतका विषय रहेको उहाँले बताउनुभयो। महानगर अन्तर्गतका विद्यालयमा प्रारम्भिक चरणमा ६० देखि ७० वटा समूहमा पाइलटिङमार्फत छोटो अवधिको तालिम सुरु गर्ने तयारी रहेको उहाँले भन्नुभयो। 

कक्षा १२ पुग्दासम्ममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतको एउटा प्रमाणपत्र नाफाको रूपमा लिएर जानसक्ने गरी यो कार्यक्रम लागू गर्ने योजना महानगरको छ। “प्राविधिक शिक्षा कक्षा ९ देखि सुरु हुन्छ। कक्षा १२ पुग्दाखेरी एउटा हातमा शैक्षिक प्रमाणपत्र र अर्को हातमा सिटिइभिटीले मान्यता प्राप्त कुनै एउटा प्रमाणपत्र नाफामा लिएर विद्यार्थी जान्छ”, उहाँले भन्नुभयो। 

विद्यार्थीको हातमा सीपसहितको प्रमाणपत्र हुँदा आगामी शैक्षिक सत्र पुरा गर्न होस् या वैदेशिक रोजगारी, स्वदेशमै स्वरोजगार हुन वा सहज जीवनयापन गर्न सक्ने सबै खालको बाटो खुल्ने उहाँले बताउनुभयो। 

अहिले महानगरको प्राथमिक र माध्यमिक तहको सरकारी विद्यालयमा यो कार्यक्रम लागू गर्ने योजना छ। निजी विद्यालयले पनि यो लागू गर्न चाह्यो भने पाठ्यक्रम उपलब्ध गराउन सकिने तर लगानी भने निजीले नै गर्नुपर्ने महानगरले जनायो। “अहिले चाहिँ सरकारीमा मात्र हो। निजीमा उहाँहरूले लगानी गर्नुपर्छ, करिकुलम चाहियो भने हामी उपलब्ध गराउँछौँ”, उहाँले भन्नुभयो। 

यो कार्यक्रम यही शैक्षिक सत्रको वैशाख १५ देखि २० गतेदेखि सुरु गर्ने योजना महानगरको छ। यसका लागि वैशाख १२ गते राष्ट्रिय सभा गृहमा सम्बन्धित सबै पक्षसँग राष्ट्रिय स्तरको सेमिनार गर्ने महानगरले जनाएको छ। अभिभावकका लागि पनि छुट्टै भेला गरेर यस विषयमा अभिमुखीकरण गरिनेछ। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।