• १९ फागुन २०८०, शनिबार
blog

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव ।

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव गणतन्त्रको कुरा गर्दा भावुक बन्नुहुन्छ।गणतन्त्र नेपालको सर्वोच्च पदमा पहिलो पटक पुग्दा र जनप्रतिनिधिले बनाएको संविधान सार्वजनिक गर्दाको क्षण सम्झिँदा आफू भावुक हुने उहाँ सुनाउनुहुन्छ। २०६५ साल जेठ १५ गते गणतन्त्रको घोषणा भएपछि एउटै ठुलो जहाजमा सबै नेपालीले यात्रा गरिरहेको उहाँको भनाइ छ। डा. यादव समावेशिताको सुनिश्चितता गणतन्त्रको उपलब्धि मान्नुहुन्छ।आवश्यकता अनुसार गणतन्त्रलाई सुधार गर्दै लान सकिने भन्दै उहाँ गणतन्त्र घोषणा आफ्नो निम्ति सुखद् पक्ष रहेको सुनाउनुहुन्छ।गणतन्त्रको १५ औँ वर्षको अवसरमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग गोरखापत्र अनलाइनका लागि गोरखापत्र अनलाइन प्रकाशनका सम्पादक नारद गौतम उपसम्पादक दिनेश लुइटेलले गरेको कुराकानी :  

गणतन्त्रको १५ वर्षका उपलब्धि के–के हुन ? 

जनता सार्वभौम भएका छन्।जनता देशका मालिक हुन्।यसको लामो इतिहास छ।गणतन्त्रको उपलब्धि के हो भने जनता सार्वभौम भएका छन्।हाम्रो देशको भने सात दशक लामो सङ्घर्ष छ, आठ दशक भनौँ।त्यसको उपलब्धिमा जनताका प्रतिनिधिले आफैँले संविधान लेखेर देशको लोकतन्त्रको मूल बाटो बनाएका छन्।संविधान सभाबाट गणतन्त्र, लोकतन्त्र, सङ्घीयता, समावेशी, धर्म निरपेक्षतासहितको जुन संविधान बनेको छ।यसले सम्पूर्ण देशवासीलाई समेटेको छ।हाम्रो भूगोलमा हिमाल, पहाड, तराई र विविधता छ।हाम्रो समाजको विविधता पनि त्यसै अनुसारको नै छ।सबैको प्रतिनिधित्व गर्दै ६०१ जनाको दुई दुई चोटि बनेको संविधान सभामार्फत संविधान बनेको छ, त्यसलाई अहिले सम्पूर्ण देशवासीले स्वीकार गरेका छन्।देशलाई अलग गर्न चाहने शक्तिहरू पनि आएका छन्।हतियार उठाएको समूह पनि आएका छन्।जाति, धर्म र क्षेत्रका नाममा राजनीति गर्नेहरू पनि यस संविधानमा समाहित छन्।त्यसले गर्दा गणतन्त्रको सबभन्दा ठुलो उपलब्धि के हो भने यो ठुलो जहाजमा सबैले एकै ठाउँमा बसेर यात्रा गरिरहेका छन्।देशका लागि यो सुखद पक्ष हो।

चुनिएको जनप्रतिनिधिले दुई दुई चोटि त्यसलाई ‘क्रस’ गरे। कत्रो दुर्भाग्य नेपालमा ! प्रधानमन्त्रीको निर्णयलाई राष्ट्रपतिले पुनर्विचार गर्ने जुन ठाउँ थियो।त्यो नभए संविधानअनुसार व्याख्या गर्ने ठाउँ थियो।दुई-दुई पटक त्यो पनि जनप्रतिनिधिबाट संसद भङ्ग भयो।यहाँ धेरै नै अशुभ संकेतहरु भए।तर अदालत, राजनीतिक दल, मिडिया, नागरिक समाज र नेपाली जनताले साथ दिए।अन्तिममा अदालतले त्यसको लागि राम्रो व्याख्या गरेर पुर्नस्थाप गर्यो।यो विकृति हुँदाहुँदै पनि हामी ‘ट्याक’मा छौं।

गणतन्त्र घोषणाको क्षणलाई कसरी सम्झनुहुन्छ ? 

हामीले २०६५ साल जेठ १५ गते गणतन्त्रको घोषणा गरेका थियौँ।सङ्घर्षको लामो दौडमा राजनीतिमा लाग्दै गर्दा इतिहासले मलाई त्यस्तो अप्ठ्यारो समयमा सर्वोच्च पदमा आसीन हुने अवसर दियो।त्यसबेला राजनीतिक दलहरूलाई ‘कोर्डिनेट’ गर्दै, दुई/दुई वटा संविधान सभाबाट संविधान बनाइयो।मैले २०१७ साल आफैँले हेरेको थिएँ।हामी विद्यार्थी थियौँ।२०१७ सालपछि जनताले भोगेको, दुःख पाएको, ठुलो बलिदानी गरेका मानिसहरूले र आफ्नो ज्यान र धन गुमाएर नेपाली जनताले बलिदानी गरेका थिए।२०४६ सालमा लागेको थियो कि अब राजनीतिको राजमार्ग बनिसक्यो।तर २०५२ सालदेखि फेरि हतियारको राजनीति सुरु भयो।त्यो बीचका समस्या भोगियो।२०४६ सालमा राजमार्ग बन्यो भन्ने भयो।सांसद भए, मन्त्री भए।बडो आनन्द थियो।तर साढे तीन वर्ष पुग्दा न पुग्दै फेरि अस्थिरता सुरु भयो।२०५२ देखि २०५९ सम्म राजाले फेरि २०१७ सालजस्तो हस्तक्षेप गरे।चार पाँच वर्ष जेलनेल पुनः सुरु भयो।माओवादी सशस्त्र द्वन्द्वका बेलामा रगतको खोलो बगिरहेको थियो।ती सबैलाई ल्याएर व्यवस्थापन गर्दै बृहत् शान्ति प्रक्रिया, हतियारको व्यवस्थापन तथा राजनीतिक दलहरूलाई लिएर चुनाव भयो।


चुनावमा ८० प्रतिशत जनताको सहभागिता रह्यो।उत्साहपूर्वक आएर संविधान बन्यो।संविधान बनाउने जिम्मा थियो संविधान सभाको।त्यसलाई जनतासामु पस्किने जिम्मा मैले पाएको थिएँ।२००७ सालदेखिको चित्र मानसपटलमा सिनेममा जस्तो आइरहन्थ्यो।गङ्गालाल, दशरथ चन्द्र धर्मभक्तहरू कसरी फाँसीमा चढे ? यी कुरा शीतल निवासबाट निस्कँदा दिमागमा आउँथ्यो।आज मैले संविधानलाई अन्तिम घोषणा गरेर म ‘रिटायर’ भएँ।शुक्रराज शास्त्रीको फाँसीमा लेखिएको थियो, ‘राजाको गाथगद्दी ताक्नेको यस्तै दशा हुन्छ’ भनेर।त्यो दिनदेखि जनताले परिवर्तन गरे।जनप्रतिनिधिले आफैँले संविधान लेखेर, आफैँले आफ्नो नेपालको एउटा बाटो कोरेर बनाएको पुस्तक (संविधान) जनताको सामुन्ने हस्ताक्षर गरेर दिइरहेको छु भन्ने कुराले म भावुक भएँ।हाम्रो लामो सङ्घर्ष थियो बलिदानीको।त्यो सम्झिएर भावुक भएँ।त्यो पुस्तक (संविधान) लोकतन्त्रको मन्दिरबाट मैले प्रसाद दिइरहेको छु भन्ने थियो।त्यो अवसर फेरि जिन्दगीमा कहिल्यै आउँदैन।त्यो मेरो निम्ति सुखद् पक्ष थियो।

गणतन्त्र कार्यान्वयनको पक्ष कस्तो देख्नुहुन्छ ?

कार्यान्वयन भइरहेको छ।जनताको अपेक्षाअनुसार अहिले काम भइरहेको छैन तर मैले जिन्दगीको अनुभवलाई यसो हेर्दा संसारको इतिहास हेर्दा यसरी नै लडीबुडी खेल्दै नै अगाडि बढेको देखिन्छ।संविधान त आइसकेको छ।अब यसलाई लागु गर्नेको क्षमतामा भर पर्छ।संविधान कस्तो बन्यो ? त्यो ‘इम्पोर्टेन्ट’ छैन।यो संविधान संसारको उत्तम संविधान छैन होला।

संयुक्त राज्य अमेरिकाको संविधानलाई सबैभन्दा राम्रो भनिन्छ तर त्यसमा पनि २८/२९ पटक संशोधन भइसक्यो। भारतको संविधानमा १२८/२९ पटक संशोधन भइसक्यो। यसलाई समयसापेक्ष देश र जनताको ‘निड’ (आवश्यकता) अनुसार सुधार गर्दै लागू गर्दै गइयो भने यो संविधानले देश अगाडि बढ्छ। संविधान घोषणापछि हामीले एक ‘पिरियड’ पार ग–यौँ। अर्को ‘पिरियड’ मा हामी भर्खर गएका छौँ। अहिले तीन तहको सरकार छ। नियमित चुनाव भएर नेतृत्व हस्तान्तरण भइरहेको अवस्था छ। जनताले आफ्नो घरदैलोमा एउटा सरकार पाएका छन्। एकातिर धेरै विकृतिहरु पनि छन्। फेरि अर्कातिर हेर्छु कि सबै जातजाती, वर्गको प्रतिनिधित्व छ।महिलानै ४० प्रतिशत प्रतिनिधित्व गरिरहेका छन्। दलित, जनजाति सबै समावेश भएका छन्।मधेशी, मुस्लिम सबैले आवाज उठाएका थिए।सबैको समावेशी प्रतिनिधित्व छ। यो सुखद पक्ष हो। स्थानीय तहमा मात्र ३० हजारभन्दा बढी प्रतिनिधित्व छ। सातै प्रदेशमा प्रतिनिधित्व छ।प्रदेश सभा छ।सम्पूर्ण देशबासीको प्रतिनिधित्व सबै क्षेत्रमा भएको छ। अब राजनीतिक पार्टी र त्यसको नेतृत्वले देशमा कसरी सुशासन दिने, कसरी पारदर्शी बनाउने, कसरी मितव्यायिता कायम गर्ने ? भन्ने विषयमा ध्यान दिनुपर्छ।चुनावमा विकृति देखिएको छ। यो चुनावको विकृतिलाई कसरी कम गर्ने ? हाम्रो संविधानले केही ठाउँ दिएको छ कि ? यो समानुपातिक पद्धतिमा हामीले जति आशा गरेका थियौं त्यसमा विकृति छ।किनबेच भइरहेको छ।यो साह्रै विकृति छ।यसलाई कसरी सुधार्ने ? चुनाव खर्चिलो भयो।सुन्छु एउटा गाउँपालिकाको चुनावमा करोडौँ रुपियाँ खर्च हुन्छ। यसलाई कसरी सुधार्ने ? लोकतन्त्रको यो विकृत पक्ष हो। तर लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै हो।


हाम्रै देशमा प्रयोग भइसकेको छ।हाम्रै देशमा हुकुमी शासन थियो।त्यसबाट हामी तानाशाही शासनमा आयौं।त्यसबाट हामी बहुदलीय शासनमा आयौं।त्यसपछि गणतान्त्रिक लोकतान्त्रिक शासनमा आयौँ।अढाई सय पुराना सामन्ती संस्था उखेलेर फाल्यौं।अब संसारको इतिहास हेर्दा समयको प्रवाहले यत्ति अगाडि बढेका छौँ। अब यसको विकृतिलाई कसरी हामीले सच्याएर लाने भन्ने विषयमा राजनीतिक पार्टी गम्भीर बन्नुपर्छ।कार्यपालिका, न्यायपालिका, विधायिका पद्धतिमा हामी छौँ।यसको आफ्नै पद्धति छ।यसका हाँगाबिगा संवैधानिक निकाय छन्।देशमा अरु स्थायी शासन कर्मचारीतन्त्र छ।सेना छ, पुलिस छ।यी सबैले संविधानप्रदत्त अधिकारले आफ्नोआफ्नो सीमा काम गरिहेका छन्।संवैधानिक निकायमा निर्वाचन आयोग छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ।लोकसेवा आयोग छ।महान्यायाधीवक्ताको कार्यालय छ।यो सबैलाई आफ्नो आफ्नो सीमामा खेल्न दिनुपर्छ।खास गरेर तपाईंको सरकार संसदप्रति उत्तरदायी, सरकारले गरेको कामलाई संसदले हेर्नुपर्छ।

संसदप्रति सरकार जिम्मेवार हुनुपर्छ।संविधान अनुसार गएको छैन भने अदालतले निष्पक्ष रुपले व्याख्या गरिदिनुपर्छ।हामी पहिला राजालाई भन्थ्यौँ।२०१७ सालमा त्यस बेलाको राजाले संविधान ‘क्रस’ गरे।त्यस्तै २०५९ सालमा फेरि राजाले संविधान ‘क्रस’ गरे।अहिले आएर गणतान्त्रिक संविधान, लोकतान्त्रिक संविधान अनुसार चुनिएर आएर पाँच वर्ष संसदलाई भङ्ग गर्ने अधिकार छैन।तर चुनिएको जनप्रतिनिधिले दुई/दुई चोटि त्यसलाई ‘क्रस’ गरे।कत्रो दुर्भाग्य नेपालमा ! प्रधानमन्त्रीको निर्णयलाई राष्ट्रपतिले पुनर्विचार गर्ने जुन ठाउँ थियो।त्यो नभए संविधानअनुसार व्याख्या गर्ने ठाउँ थियो।दुई/दुई पटक त्यो पनि जनप्रतिनिधिबाट संसद भङ्ग भयो।यहाँ धेरै नै अशुभ संकेतहरु भए।तर अदालत, राजनीतिक दल, मिडिया, नागरिक समाज र नेपाली जनताले साथ दिए।अन्तिममा अदालतले त्यसको लागि राम्रो व्याख्या गरे पुर्नस्थापना गर्यो।यो विकृति हुँदाहुँदै पनि हामी ‘ट्याक’मा छौं।गणतन्त्रको उपलब्धि भएको छ।मैले सुरुमै भने नेपाली जनता सार्वभौम भएका छन्।यो देशको मालिक बनेका छन्।आफैँले  संविधान बनाएको छ।त्यसैले नेपाली जनताले पहरेदारको रुपमा (वाचडग) को रुपमा काम गर्नुपर्छ।त्यसो गरेमा संविधान अगाडि बढ्छ र देश सफल हुन्छ भनेर मैले लिएको छु।यसको सुन्दर पक्ष यही छ।



गणतन्त्रको संरक्षणमा युवाको भूमिका कस्तो हुनुपर्छ ? 

युवा पुस्ताले हामी कहाँबाट आएका छौं भनेर सिंहावलोकन गर्नुपर्छ।अब प्रविधि र मिडियाको युग छ।प्रविधिको युगमा उसले हाम्रो देशको इतिहास, राजनीतिक उतारचढाव, हाम्रो देशको भूगोल, सम्पदा र सम्पत्ति के छ ? यसलाई जानेर संविधान अनुसार प्रयोग गरेर अगाडि बढ्नुपर्छ।यसबाट हामी ढलमल गर्यौँ भने ‘ब्याक’ गियरमा जान्छौँ।ढलपल भयो भने हामी फेरि गलत बाटोमा जान्छौं।त्यसैले यसलाई कसरी बचाएर लाने भन्ने कुरा युवाको काँधमा आएको छ।संविधान अनुसार, कानुन अनुसार गणतन्त्रमा बनेको प्रणालीलाई बचाएर युवा अगाडि बढ्नुपर्छ।हामी जुन संरचनामा संसदीय पद्धतिमा अगाडि बढेका छौँ त्यही अनुसार युवाले अभ्यास गर्नुपर्ने देखिन्छ।जहाँजहाँ विकृति देखिएको छ त्यहाँ सुधार गर्नुपर्छ।त्यो जिम्मेवारी युवाको काँधमा छ।अहिले युवाहरु कोही घण्टी बजाउँदै आइरहेका छन्।कोही हर्न बजाउँदै आइरहेका छन्।कोही ढोक्सा थाप्दै ढक्कली लिएर आइरहेछन्।यो सबै सुधारको कहीँ न कहीँ दबाब हो।जसमा विकृति छ त्यहाँ कानुन अनुसार सजाय भोग्नुपर्छ।निष्पक्ष नभए जनताले खबरदारी गर्छन्।त्यो भनिरहेकासमेत छन्।युवा स्वतः सडकमा निस्किएर चेतावनी दिइरहेका छन्।यो सुन्दर पक्ष हो।लोकतन्त्रको सुरन्दरता यही हो।

गणतन्त्र घोषणा देशको निम्ति सुखद् पक्ष हो आवश्यकता अनुसार यसलाई सुधार गर्दै लानुपर्छ ।

लोकतन्त्रमा मिडियाको भूमिका ‘भाइब्रेन्ट’ छ।मैले थाहा पाएँ, हिन्दुस्तानमा काम गरेका पत्रकार नेपालमा आएर अनलाइन चलाइरहेका छन्।उनका अनुसार सार्क क्षेत्रमा सबैभन्दा ‘भाइब्रेन्ट’ मिडिया नेपालमै छ।अहिले प्रेस पूर्णरुपमा स्वतन्त्र छ।त्यस प्रकारले अगाडि लानुपर्छ।यहाँ विकृति पनि होलान्।पित पत्रकारिता पनि होला।तर सबै यो लोकतन्त्रमा आफैँ ठीक हुँदै जान्छ।लोकतन्त्रले खराब कुरालाई फिल्टर गर्दै जान्छ।जस्तो चुनावमा बढी पैसा खर्च भइरहेको छ।इमान्दार मान्छे चुनाव लड्न हिचकिचाइरहेको छ।कहाँबाट चुनाव लड्छ ? ऊ लडिठरहेको छैन।त्यो पद्धतिलाई कसरी सुधार गर्ने भन्ने कुरा राजनीतिक दलको हो।यसमा संसद र सरकारको जिम्मेवारी छ।फेरि यो सबै जहाज हाक्ने संसदीय प्रक्रियाबाट चुनिएको प्रधानमन्त्रीले नै हो।संवैधानिक निकायमा आफ्नो मान्छे होइन।सही मान्छे सही ठाउँमा राख्नुपर्छ।यो कुराको लागि युवाले ‘हमेसा’ आवाज उठाउनुपर्छ।लोकतन्त्रभित्रैबाट गणतन्त्रलाई कसरी परिष्कृत गर्ने कुरा युवाको काँधमा छ। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यदवसँगको कुराकानीको आधारमा गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाहीकेशब गुरुङले तयार पर्नुभएको भिडियो सामग्री :