• ११ असार २०८१, मङ्गलबार

‘दक्ष जनशक्ति उत्पादनतर्फ विश्वविद्यालय केन्द्रित हुनुपर्छ’

blog

कार्यक्रमका सहभागीहरु ।

गोरखापत्र अनलाइन

काठमाडौँ, असार ९ गते । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेले दक्षमात्र नभई नैतिकवान् जनशक्ति उत्पादनतर्फ विश्वविद्यालय केन्द्रित हुनुपर्ने बताउनुभएको छ । वाल्मीकि विद्यापीठ काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘विश्वविद्यालयबाट उत्पादित जनशक्ति दक्षसँगै इमान्दार र नैतिकवान् हुनुपर्छ । यसै मान्यताका साथ विश्वविद्यालय अगाडि बढ्नुपर्छ ।’ नेपाल संस्कृत विश्वविद्यालयले विद्यापीठ र गुरुकुलमा अध्ययनरत विद्यार्थीलाई नैतिकवान् बनाउन विशेष कक्षाको व्यवस्था गर्ने योजना बनाएको उपप्राध्यापक प्रा.डा. लामिछानेले बताउनुभयो । प्रकाशशास्त्रबाट आउने विद्यार्थी मात्र नभई गुरुकुलबाट उत्पादन हुने विद्यार्थीलाई पनि विश्वविद्यालयमा भित्र्याउनतर्फ आफू लागिपरेको बताउनुभयो । 

पुस्तकालय व्यवस्थापन तथा सूचना सेवा केन्द्रद्वारा आयोजित तीन महिने पुस्तकालय तथा सूचना विज्ञानसम्बन्धी तालिमको समापन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रा.डा. लामिछानेले पुस्तकालयमा कार्यरत जनशक्तिमा निपुणता, शिष्टता र विनम्रता अनिवार्य रहेको बताउनुभयो । ‘पछिल्लो पुस्तासँग अध्ययन संस्कार हराउँदैगएको छ । विद्यार्थीलाई पुस्तकालयसम्म ल्याउन विशेष योजना बनाउनुपर्छ’ उहाँले भन्नुभयो, ‘दक्ष जनशक्तिको अभावमा विश्वविद्यालयको पुस्तकालय व्यवस्थित गर्न सकिएको छैन । पुस्तकालयमा कार्यरत जनशक्तिमा निपुणता, शिष्टता र विनम्रता अनिवार्य हुन्छ ।’

केन्द्रका अध्यक्ष सरोजा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकाल, वाल्मीकि विद्यापीठका अङ्ग्रेजी विभाग प्रमुख प्रा. कृष्ण पौडेल, संयुक्त राष्ट्रसङ्घीय कार्यालयका राजेन्द्रमान बनेपाली, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागका उपप्राध्यापक लीला न्याइच्याई, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदी, नेपाल राष्ट्रिय पुस्तकालयका प्रमुख दशरथ मिश्र, नेपाल पुस्तकालय सङ्घका उपाध्यक्ष सुदिप ढकाल, पार्वती नेपाल, मिना श्रेष्ठलगायतले धारणा राख्नुभएको थियो ।