• १ साउन २०८१, मङ्गलबार

खलबलिएको सामाजिक सद्भाव पुनर्स्थापित गर्दै छु

blog

रामलाल डङ्गौरा थारू । प्रमुख, टीकापुर नगरपालिका

२०२४ सालमा राजा महेन्द्र कञ्चनपुरको शुक्लाफाँटाबाट काठमाडौँ फर्किंदै गर्दा एक्कासी अस्वस्थ भएपछि हेलिकोप्टरबाट कैलालीको टीकापुरमा अवतरण गरी एक महिना विश्राम गर्नुभएको थियो। स्वास्थ्य लाभका लागि टीकापुरमा विश्राम लिने क्रममा राजा महेन्द्रले टीकापुर रमाइलोसँग अवलोकन गर्नुभयो। त्यसपछि राजा महेन्द्रकै निर्देशनमा टीकापुर व्यवस्थित (प्लानिङ) सहरका रूपमा विकास भई २०५३ सालमा नगरपालिका बनेको हो। राजा बसेको स्थानमा बनेको उद्यान, कर्णाली नदी, दुर्लभ जलचर डल्फिन पाइने मोहना नदीका कारण परिचित टीकापुर आफैँमा सुन्दर सहर पनि हो। २०७२ सालमा भएको टीकापुर घटनाले यहाँका स्थानीयलाई निकै नै पीडा दिएको छ। टीकापुर नगरपालिका प्रमुखमा नागरिक उन्मुक्ति पार्टीका नेता रामलाल डङ्गौरा थारू हुनुहुन्छ। यसअघि पाँच वर्ष वडाध्यक्ष र कार्यपालिका सदस्यको अनुभव बटुल्नुभएका नगर प्रमुख डङ्गौरा थारूसँग गोरखापत्र दैनिकका लागि टीकापुर समाचारदाता एकिन्द्र तिमिल्सेनाले गरेको कुराकानीको सारसङ्क्षेपमा : 


तपाईं नगर प्रमुख भएको एक वर्ष पुग्यो, यो एक वर्षमा के काम गर्नुभयो ? अनि आफ्नो कामप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ? 

जनतालाई सेवा प्रवाह सहज बनाउन र स्थानीय सरकार भएको अनुभूति गराउन लागेका छौँ। हामी निर्वाचित भएर आएलगत्तै निर्माण व्यवसायीहरूले वर्षौंदेखि सार्वजनिक स्थलमा राख्दै आएका ढुङ्गा, गिट्टी, बालुवा हटायौँ। सहरको आकर्षण बढोस् भनेर उज्यालो टीकापुर कार्यक्रम अन्तर्गत नगर झिलिमिली बनाइरहेका छौँ। 

कृषि क्षेत्रको प्रवर्धनका लागि समुदायमा आधारित कृषि तथा पर्यटन परियोजना सञ्चालन भई युवा कृषि प्रविधि सिक्दै छन्। टीकापुर प्लानिङ क्षेत्र भएकाले सहरभित्रका खुला ठाउँहरू व्यवस्थित गर्दै छौँ। सीमित साधन स्रोत र असीमित मागका बीच काम गर्नुपर्दा सन्तुष्ट हुने अवस्था त छैन तर पनि कोसिस गर्दै छौँ। 

टीकापुर नगरका लागि विकासका बाधक वा समस्या के के रहेछन् ? 

टीकापुरमा बहुजातीय समाज छ। ठुला दलहरू वर्षौंदेखि राज्यका संरचनामा जरा गाडेर बसेका छन्। अहिले बाहिरिँदा अप्ठ्यारो मानिरहेका छन्। राम्रो काम गर्न खोज्दा उच्छृङ्खल भइदिने र असहयोग गर्नेजस्ता गतिविधि गरेका छन्। 

अतिक्रमित जग्गा खाली गराउन खोज्दा राजनीतीकरण गर्ने, अदालतमा मुद्दा हाल्ने जस्ता समस्या आएका छन्। यो एक वर्षमा यस्तो समस्या देखियो। चुनावमा राजनीतिक दल फरक फरक मोर्चाबाट लडे पनि अब विकासका लागि एक ठाउँमा उभिनु पर्छ। राम्रो काम गरिरहेको बेला सबैले सहयोग गर्नु पर्छ। 

जनप्रतिनिधि र कर्मचारीबिच तालमेल मिलेको छैन जस्तो छ नि ?

नगर प्रमुख, उप्रमुखलाई कानुनले जिम्मेवारी दिएको छ। कर्मचारीका आ–आफ्ना जिम्मेवारी छन्। जनप्रतिनिधि र कर्मचारीका बिचमा फाटो ल्याउन बाह्य तत्व पनि खेलिरहेको छ। हामीबिच पनि एकअर्कालाई बुझ्ने सङ्कीर्णता पनि हराउनुपर्छ। टीकापुर सद्भाव खलबलिएको क्षेत्र हो कार्यपालिका र कर्मचारीलाई मिलाउन एक वर्ष प्रयास गरे, सबैलाई सन्तुलित बनाउन खोजे तर भएन। सबैलाई मिलाउन नसक्नु मेरो पनि कमजोरी होला। अब खुलेर काम गर्ने हो। सबै मिलेर जानु पर्छ।

अन्य नगरका प्रमुखहरूको चर्चा त सुन्नुभएको होला, म पनि केही गरुँ गरुँ जस्तो लाग्दैन ?

नेपालका चार जना पालिका प्रमुखको चर्चा धेरै सुन्दै छु। म पनि केही गरुँ जस्तो लाग्छ तर यहाँ थारू र पहाडी समुदाय छन्। म सोच्दै छु एउटा पक्ष यो राम्रो काम गरेर माथि गैहाल्छ कि भन्ने शङ्का गर्दै छ। अर्को पक्ष काम गराउन चाहन्छ तर मलाई पछाडिबाट सहयोग गर्दैन ? अब कार्यपालिकामा पनि खुलेर छलफल गर्ने सोच्दै छु। विषयगत क्षेत्रका मानिससँग छलफल गरेर धारणा बनाउने र काम गर्ने सोच्दै छु। कर्मचारीका सवालमा पनि नयाँ आर्थिक वर्षबाट स्पष्ट भएर काम गर्छु। राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो गर्नेलाई ठाउँको ठाउँ कारबाही गरिन्छ। 

तपाईंले कार्यपालिकामा आफूलाई कमजोर महसुस गरिरहनुभएको हो ?

अहिले त कार्यपालिकामा सहयोगको वातावरण बन्दै छ। कर्मचारीको द्वैध चरित्र छ। मसँग एउटा उपप्रमुखसँग अर्कै कुरा गर्छन्। टीकापुर बनाउने हो, बजेट कार्यान्वयन गर्ने हो। निर्धक्क भएर काम गर्ने हो। इमानदार भएर काम गर्ने हो। 

तीनै तहमा एउटै पार्टी र एउटै समुदायको जनप्रतिनिधि हुनुहुन्छ काम गर्न अप्ठ्यारो भन्नुभयो, किन ?

सबैलाई मिलाएर लैजान्छु भन्दा एक वर्ष बित्यो, अब सबैलाई समान दृष्टिकोण राख्ने, आवश्यकताका आधारमा पेलेर जाने नीति लिन्छु। विकास कार्यक्रममा सङ्घ सरकार र प्रदेश सरकारको टीकापुरलाई हेर्ने दृष्टिकोण सही भएन। विभेद भइरहेको छ। 

धेरै काम गर्छु भन्नुहुन्छ, काम गर्नलाई बजेट चाहिन्छ होला,  आन्तरिक आय बढाउने लक्ष्य यथास्थितिमा छ नि त ?

आन्तरिक आय बढाउन बृहत् लक्ष्य बनाएर अघि बढ्ने योजना थियो। देशमा आर्थिक सङ्कटका कारण करका दर बढाउन सकिएन। निकासी कर उठ्थ्यो सशस्त्र प्रहरी बलले गृह मन्त्रालयको आदेश भन्दै रोकेको छ। घाट–तराई ठेक्काबाट आम्दानी हुन्थ्यो ठेक्का नै लागेको छैन। नगरपालिकाकै सटर भाडामा लिएकाहरू भाडा तिरिरहेका छैनन्। तैपनि हामी कार्ययोजना बनाएर काम गर्दै छौँ।

न व्यवसाय दर्ता, न बहाल कर, न सवारी कर, न ठेक्का प्रतिस्पर्धा, न कार्यालय खर्चमा मितव्ययिता आम्दानी कसरी बढ्छ ?

सबैसँग परामर्श गरेर यी सबै क्षेत्रलाई समेटेर जाने हो। टीकापुर नगरपालिकाको उपभोग खर्च धेरै भयो भन्ने पनि आयो। जनताले तिरेको करमाथि रजाइँ गर्दा भविष्यले पनि धिक्कार्ला, मित्तव्ययी भएर काम गरौँ भनेको छु।

सार्वजनिक सम्पत्तिको उपयोग (घण्टाघर र केरा च्याम्बर) भएन नि ?

हाम्रो बनेका संरचना पनि प्रयोगमा आउन सकेका छैनन्। टीकापुरमा साढे चार करोडको लागतमा बनेको केरा पकाउने च्याम्बर बन्द छ। यस विषयमा अनुदान दिने संस्था रानीजमरा कुलरिया सिँचाइ आयोजनालाई सोधेको छु। सञ्चालकहरू सम्पर्कमा आएका छैनन्। अब नचलाए कारबाही प्रक्रियामा जानेछौँ। घण्टाघर ढिलो गरी हस्तान्तरण भयो। रेस्टुरेन्टका रूपमा बनेकाले त्यसै रूपमा विकास गर्न टेन्डर प्रक्रियामा जाँदै छौँ। 

नगरपालिकामा सुशासन भएन भन्ने गुनासो छ, न सभा समिति सक्रिय छन् न कार्यपालिका समिति सक्रिय छन् किन होला ? 

एक वर्ष आपसी अन्तर्विरोधमा फस्यौँ। कहिले जनप्रतिनिधिको र कहिले कर्मचारीको विवाद भयो। यो वर्ष खासै गतिलो काम भएन भनेर नगरवासीसँग माफी पनि माग्न चाहन्छु। आउँदो वर्ष भने सबै समितिलाई क्रियाशील बनाउने र चाहिएको सहयोग दिने तयारीमा छौँ। 

अब नगरवासी आशावादी हुने योजना के के छन् ?

टीकापुर व्यवस्थित बसोबास र पार्कको सहर हो। तत्कालीन राजा महेन्द्र अस्वस्थ भएका बेला कर्णाली नदी किनारमा अवतरण गरेर बस्दा स्वास्थ्य लाभ भएको स्थान हो। डल्फिन यहीँ पाइन्छ। रानीजमरा कुलरिया सिँचाइ आयोजना पूरा भएपछि यसले कृषिमा ठुलै परिवर्तन ल्याउने छ। यहाँ पर्यटन र कृषिको सम्भावना धेरै छ। 

हामीले सुन्दर टीकापुरको परिकल्पना पूरा गर्नु छ। यहाँ खलबलिएको सामाजिक सद्भाव कायम गर्नु छ यी काम गर्न सही मानिसको सहयोग पनि चाहिएको छ। आउँदो वर्ष यी कामलाई केन्द्रमा राखेर गर्ने छु।