• ३० असार २०८१, आइतबार

उत्पादनकेन्द्रित योजना ल्याएका छौँ

blog

स्थानीय तहको दोस्रो निर्वाचनबाट गोरखाको भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बन्जारा निर्वाचित हुनुभएको थियो। उहाँसँगै गाउँपालिकाका जनप्रतिनिधिले एक वर्षको कार्यकाल पूरा गरिसक्नुभएको छ। यो वर्ष नीतिगत काममा अल्झिए पनि अब उत्पादनमुखी योजना र कार्यक्रम लिएर अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष बन्जाराले बताउनुभएको छ। यसै सन्दर्भमा अध्यक्ष लोकप्रसाद बन्जारासँग गोरखापत्रका नरेन्द्र ढकालले गर्नुभएको कुराकानी : 

गाउँपालिकाको अध्यक्षको भूमिकामा तपाईंले एक वर्ष पूरा गर्नुभयो, यो अवधिलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? 

यो एक वर्षको कार्यकालमा म आफैँ पूर्ण सन्तुष्ट छैन। हामीले जे, जति, जसरी गर्ने भन्ने सोच राखेका थियौँ त्यो सबै पूरा हुन सकेन। विस्तारै हामी लय समातेर अगाडि बढ्दै छौँ। सबभन्दा ठुलो कुरा नीति निर्माण र प्रयोग हो। नीति निर्माण गर्ने तहमै बाटो सोझ्याउनुपर्ने अवस्था थियो। स्थानीय सरकारमा पैसो बाँड्ने, मान्छे खुसी पार्ने एउटा संस्कार जस्तो बनिसकेको रहेछ। त्यसलाई चिरेर अगाडि बढ्न समय लाग्छ। स्पष्ट नीति र विधि बनाएर गौरव गर्न लायक केही काम, दीर्घकालीन महत्वका स्वास्थ्य शिक्षा, सिप विकास, रोजगारीका क्षेत्रको कामलाई प्राथमिकतामा राखेर हामी अगाडि बढेका छौँ। 

दोस्रो नीति तथा कार्यक्रम र बजेट पनि ल्याइसक्नुभयो। अब त विकास निर्माणले गति लिन्छ होला नि ? 

गत साल हामीले जे नीति कार्यक्रम बनायौँ, त्यसलाई केही परिमार्जनसहित आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएका छौँ। समस्या र आवश्यकता तिनै हुन्, तिनलाई कार्यान्वयनमा सहज र प्रभावकारी बनाउने गरी कार्यक्रम तय गरेका छौँ। 

आन्तरिक राजस्व परिचालनमा कमजोरी छ। सङ्घीयताको मर्म र भावना अनुसार काम हुन नसकेको जस्तो देखिन्छ नि ? 

स्थानीय तहमा आम्दानीका स्रोत कम छन्। गत साल हाम्रो गाउँपालिकाको आन्तरिक आय जम्मा २३ लाख रुपियाँ थियो। हामीले त्यसलाई कम्तीमा पनि दोब्बर बनाउनु पर्छ भन्ने नीति लियाैँ, चालु आर्थिक वर्ष करिब ५० लाख रुपियाँ आन्तरिक आय बनाएका छौँ। आगामी आर्थिक वर्ष त्यसलाई दोब्बर बनाउने हाम्रो सोच छ तर हाम्रो स्रोतको सीमितता, क्षमता र व्यावहारिक अप्ठेरा हेरेर हामीले आगामी आर्थिक वर्ष ७० लाख चाहिँ उठाउने लक्ष्य राखेका छौँ। गत आव ६४ करोड रुपियाँको बजेट ल्याएका थियौँ। आगामी आवका लागि सङ्घ र प्रदेशको अनुदान घटेकाले ५५ करोड रुपियाँको बजेट ल्याइएको छ। आन्तरिक आयका स्रोत सीमित हुने भएकाले सङ्घ र प्रदेशको अनुदान घट्दा अहिले स्थानीय तहको बजेटको आकार घटेको हो तर हामी आन्तरिक आय वृद्धि कसरी गर्न सक्छौँ भनेर विभिन्न कोणबाट सोचिरहेका छौँ, हाम्रो प्रयत्न सकारात्मक ढङ्गले अगाडि बढिरहेको छ। 

गाउँपालिकाका आवश्यकता पूरा गर्न तपाईंहरूको योजना के छ  ? 

गाउँघरमा कुलो, कृषि औजार, बिउ मल, मोटर बाटो, पैदल हिँड्ने बाटो, स्कुल, खानेपानी, अस्पालत जस्ता भौतिक संरचनाको माग बढी छ। टोलकेन्द्रित योजनाको माग अत्यधिक छ। स्थानीय आवश्यकता र हाम्रो अवस्था हेर्दा हामीले प्रत्येक वडामा एक एक वटा गौरवका आयोजना, उत्पादनको पकेट, सङ्कलन केन्द्र, प्रशोधन केन्द्र र उद्योग हुनु पर्छ भनेर जोड दिएका छौँ। स्थानीय आर्थिक विकासलाई केन्द्रबिन्दु राखेर भौतिक निर्माणका काम गर्नु पर्छ भन्नेतिर हामी लागेका छौँ। विगतको बेलगामको स्थितिमा हामी परिवर्तन गर्दै छौँ। अहिले बनायो बर्खामा भत्काउने, फेरि हिउँदमा बनायो फेरि पनि भत्कने खालको दुश्चक्रमा हामी परिरहेका छौँ। स्थानीय आर्थिक विकासमा केन्द्रित रहेर हामीले अहिले एउटा वडामा एउटा अलि ठुलो गौरव गर्न लायक र सबैले अपनत्व गर्ने खालको उद्योग बनाउन खोजेका छौँ। यो तेरो, यो मेरो, यो टोल, त्यो टोल होइन्, वडाको मुख्य भनेर केन्द्रित गर्ने प्रयास गरेका छौँ, सँगसँगै उत्पादन पकेट र उद्योगमा हामीले ध्यानकेन्द्रित गरेका छौँ। स्थानीयलाई सँगसँगै लिएर हामी काम गर्ने छौँ।  

युवा बेरोजगारी यहाँको मुख्य समस्या हो। यसको समाधान कसरी गर्नुहुन्छ ? 

युवा पलायन भएका छन्। यसको मूल कारण बेरोजगारी हो। त्यसैले हामीले एक वडा एक उत्पादन र पकेट, एक परिवार एक पेसा, एक व्यवसायको योजना ल्याएका हौँ।  यो ढङ्गले  हामी नजाने हो भने गाउँको विकास सार्थक हुँदैन।  बाँझो रहेका जमिन प्रयोगमा ल्याउन, स्थानीय बजारमा आफ्नो भविष्य नदेखेर विदेश पलायन हुनेहरूलाई अथवा बेरोजगारलाई सम्बोधन गर्न कार्यविधि बनाएर भूमि बैङ्क र श्रम बैङ्क बनाएर, दुईवटा विशेष कार्यक्रम अगाडि बढाएका छौँ।  बाँझो जग्गालाई अथवा पुरानो ढङ्गले प्रयोग भइरहेको जग्गालाई पनि आधुनिक प्रविधि र बैङ्किङ प्रणालीमा जोडेर व्यावसायिक बनाउनेतर्फ हामी लागिरहेका छौँ। 

बाँकी कार्यकालमा सम्पन्न गर्नुपर्ने कार्यक्रम र प्राथमिकता के के छन् ? 

हामीकहाँ विकासका पूर्वाधारमा खानेपानी, बाटो, बत्ती नै हो। यसैमा हाम्रो प्राथमिकता रहने छ। सडकलाई कसरी १२ महिना चल्ने बनाउने, बिजुलीलाई कसरी  व्यवस्थित गर्ने, खानेपानीलाई कसरी राम्रो गर्ने भन्ने हाम्रो प्रयत्न हुने छ। सँगसँगै पर्यटनको पनि सम्भावना छ। हामी यस क्षेत्रलाई राम्रो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने छौँ। यसबाट स्थानीय आर्थिक क्रियाकलापलाई सहयोग पुग्ने छ। कृषि, उत्पादन, बजारको  विकासमा गाउँपालिकाले सहजीकण गर्छ। उत्पादनका आधारमा अनुदान दिन्छौँ। वितरणमुखी र छिरिएका कामलाई  व्यवस्थित गर्ने छौँ। एक गाउँ एक उत्पादन, एक गाउँ एक सङ्कलन केन्द्र, एक गाउँ एक उद्योग गरेर जनताको आर्थिक क्रियाकलापलाई अगाडि बढाउने कुरामा हामी जोड दिन्छौँ।