• ३० असार २०८१, आइतबार

‘जनजीविकालाई प्राथमिकता दिएको छु’

blog

बेनी नगरपालिका म्याग्दी जिल्लाको सदरमुकाम हो। बेनी जिल्लाका छ वटा स्थानीय तहमध्येको एक मात्र नगरपालिका हो। यो नगरपालिका साबिकका रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिँगा, पुलाचौर, अर्थुङ्गे, घतान र पात्लेखेत गाविसलाई समेटेर निर्माण गरिएको हो । यो नगरपालिकाको म्याग्दीका मङ्गला र रघुगङ्गा गाउँपालिका, बागलुङ र पर्वत जिल्लासँग सिमाना जोडिएको छ। बेनीको क्षेत्रफल ७६.५७ वर्ग किलोमिटर छ। २०७८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ३२ हजार ६९७ रहेको छ । २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुखमा सुरत केसी निर्वाचित हुनुभएको हो । बेनी नगर प्रमुख सुरत केसीसँग गोरखापत्रकर्मी अमृतप्रसाद पौडेलले गर्नुभएको कुराकानी :  


स्थानीय तह प्रमुखका रूपमा पहिलो वर्ष बिताउनुभयो कस्तो अनुभव गर्नुभएको छ ? 

स्थानीय तह एक स्वायत्त निकाय हो। गत वर्ष भएको स्थानीय तहको निर्वाचनबाट म जनताको प्रतिनिधिका रूपमा निर्वाचित भएर आएको हुँ। जनताको हरेक गतिविधिसँग नजिक भएर काम गर्दै आएको थिएँ। नगरपालिकामा भएको सीमित स्रोत साधानलाई सदुपयोग गर्दै जनताको असीमित इच्छा, चाहना, आवश्यकता परिपूर्ति गर्नुपर्ने भएकाले केही अधुरो एवं अपुरो भएको अनुभव भएको छ। जनताले नै जिताएर पठाएपछि त्यसैमा खटेर काम गर्न मलाई धेरै सजिलो भएको छ। घरदैलोमा पुगेर जनताका समस्या समाधान र सेवा गर्न पाउँदा अत्यन्तै खुसी छु। 


नगर विकासका लागि कस्ता योजना बनाउनुभएको छ ? 

बेनी नगरपालिका आम्दानीका हिसाबले कमजोर स्थानीय तहको सूचीमा अग्रस्थानमा आउँछ। मेरो कार्यकालमा अल्पकालीन योजनाभन्दा पनि दीर्घकालीन योजनालाई विशेष जोड दिएको छु। जनताका प्रत्यक्ष आवश्यकता र जनजीविकासँग जोडिएका कुरालाई प्राथमिकता दिएको छु। शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधारका कुरा, खानेपानीलगायतका क्षेत्रमा दीर्घकालीन योजनासहित अगाडि बढेको छु। पर्यटन क्षेत्रमा दीर्घकालीन योजना बनाई अघि बढ्ने योजना बनाएका छौँ। विशेष गरी धार्मिक तथा ऐतिहासिक क्षेत्रमा पर्यटकको आगमन कसरी बढाउन सकिन्छ भनी हामी गृहकार्य गर्दै छौँ। 


काम गर्ने क्रममा जनप्रतिनिधि र कर्मचारीबिच समस्या हुने गरेको छ कि ? 

समाज विकासका निम्ति कर्मचारी र जनप्रतिनिधि मिलेर अगाडि बढ्नु पर्छ। काम गर्ने क्रममा कहिलेकाहीँ कानुनी जटिलताले असहज बनाउने गर्दछ। बेनी नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमा कुनै पनि समस्या छैन। नीति निर्माण र योजना तयार पार्ने  काम जनप्रतिनिधिले गर्ने हो। कर्मचारीले त्यसलाई कार्यान्वयनमा लैजाने हो। सहकार्यमा काम गरिने हुँदा हामीमा कुनै समस्या छैन। 

 

नगरपालिका क्षेत्रभित्र घरजग्गाको राजस्वमा धेरै अन्तर आयो भन्ने छ नि ? 

जनताबाट गुनासो आएकै कारणले हामी घरदैलोमा पुगेर त्यहाँको वस्तुस्थिति बुझ्ने प्रयास गरिरहेका छौँ। उहाँहरूकै राय सुझाव लिएर हामीले जग्गा वर्गीकरणको कार्यलाई तीव्र रूपमा अगाडि बढाएका थियौँ। अब नयाँ आर्थिक वर्षबाट कानुनी प्रक्रिया पूरा गरेर कित्ताकाट गर्नेसम्मको तयारीमा पुगेका छौँ। हामीले जनताको हितलाई ध्यानमा राखेर राजस्वको दर कायम गर्नुका साथै कित्ताकाटको पनि सही तबरले व्यवस्था गर्न लागेका छौँ। 


सुन्दर अनि समुन्नत बेनी नगरपालिका बनाउन के के गर्दै हुनुहुन्छ ? 

जनतासँग प्रत्यक्ष जोडिएका हरेक समस्या समाधान गर्दै अगाडि बढेका छौँ। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटन र वातावरणका पक्षमा जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी काम गर्ने हाम्रो अठोट छ। यही अठोट अनुसार योजना बनाएका छौँ। योजना अनुसार काम सम्पादन गरी हामी छिट्टै सुन्दर अनि समुन्नत बेनी नगरपालिका बनाउँछौँ। हाम्रै कार्यकालमा यो सम्भव छ। सुन्दर बेनी नगर निर्माणका लागि हामी सबैको सहकार्य र साथ आवश्यक पर्दछ। 

आन्तरिक आय बढाउन के के गर्दै हुनुहुन्छ ?

म्याग्दी जिल्लाभित्रका स्थानीय तह हेर्ने हो भने सबैभन्दा गरिब स्थानीय तह हो बेनी नगरपालिका। आन्तरिक आय बढाउन हामीले नगरभित्र रहेका प्राकृतिक स्रोत साधनको समुचित प्रयोगलाई जोड दिनु पर्दछ।  कृषि उत्पादनलाई वृद्धि एवं बजारीकरण गर्ने, जग्गा कित्ताकाट, पर्यटन व्यवसायको सम्भावनाको खोजी र प्रवर्धन गर्दै छौँ। गलेश्वरधाम मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न प्रक्रिया अगाडि बढाउन पहल गर्दै छौँ। रामायण पार्कको उचित तबरले निर्माण गर्न सके नगरको आयका लागि कोसेढुङ्गा साबित हुने अपेक्षा गर्न सकिन्छ। 

तातोपानी कुण्ड, गलेश्वरधाम, पुलस्त्य पुलहाश्रम, ज्यामरुककोट दरबार क्षेत्रका व्यवस्थापनका लागि काम भइरहेको छ ?  

नगरपालिकाको धार्मिक एवं पर्यटन व्यवसायका निम्ति र नगरको पहिचानका निम्ति अभिन्न अङ्ग हुन्। यिनको व्यवस्थापनका निम्ति हामी निजी क्षेत्रलाई प्रोत्साहन गर्छौं। स्थानीयवासी र नगरपालिकामा साझा योजना बनाई आगाडि बढ्ने छौँ। रामायण पार्क र पुलस्त्य पुलहाश्रमको दक्षिण भारत र श्रीलङ्कामा प्रचार गर्न सकियो भने उचित तबरको पर्यटकको आगमन बढाउन सहज अनि सजिलो हुने हाम्रो अपेक्षा छ। 


शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र विस्तारका लागि कस्ता योजना बनाउँदै हुनुहुन्छ ? 

शिक्षा र स्वास्थ्य क्षेत्र जनतासँग प्रत्यक्ष जोडिएका कुरा हुन्। शिक्षालाई गुणस्तरीय र व्यवस्थित बनाउन नियमित अनुगमन, विद्यार्थीको चापलाई ध्यानमा राख्दै विद्यालयको तह मर्जर एवं कक्षा घटाउने, बढाउने गरिएको छ। प्रधानाध्यापकलाई परीक्षामार्फत नियुक्ति गर्ने अवधारणा ल्याइएको छ। विद्यार्थीलाई आवासीय सुविधासहितको पठनपाठन गराउने प्रक्रियामा छौँ। स्वास्थ्य क्षेत्रलाई जनताको पहुँचमा पु-याउन घर घरमा स्वास्थ्यकर्मी अभियान चलाइएको छ। गरिबका लागि  परिचयपत्रको आधारमा निःशुल्क स्वास्थ्य बिमा लागु गरिएको छ। प्यालिएटिभ केयरमार्फत जनताको स्वास्थ्य अवस्थालाई निगरानी राख्ने प्रयास गरिएको छ।