• १ साउन २०८१, मङ्गलबार

बिदेसिने क्रम रोक्न नीतिगत व्यवस्था

blog

स्याङ्जाका ११ स्थानीय तहमध्ये वालिङ नगरपालिका स्याङ्जाको मध्यभागमा अवस्थित छ। नगरपालिका ‘स्मार्ट नगर’ बनाउने कार्यक्रमको घोषणापछि लक्ष्य प्राप्तिका लागि कार्यान्वयनको चरणमा छ। नगरपालिका २० वर्षे बृहत्तर योजना, पाँचवर्षे आवधिक योजना र एकवर्षे रणनीतिक योजना बनाएर अगाडि बढेको छ। गुलाबी सहरका रूपमा परिचित वालिङका प्रायः सबै घर गुलाबी छन्। फोहोरलाई मोहरमा परिवर्तन गर्न विभिन्न काम भइरहेका छन्। स्थानीय तहको निर्वाचन–२०७९ मा नेकपा (एमाले)को तर्फबाट नगरपालिकाको मेयरमा कृष्ण खाण निर्वाचित हुनुभएको हो। ‘कृषि, उद्योग, व्यापार, पर्यटन, ऊर्जा, सूचना प्रणाली, पूर्वाधार र स्मार्ट सिटी वालिङ निर्माणको आधार’ भन्ने नाराका साथ अगाडि बढिरहेको वालिङका मेयर कृष्ण खाणसँग गोरखापत्रकर्मी राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानी : 

तपाईं निर्वाचित भएको एक वर्ष पुग्यो यो अवधिमा कति काम गर्नभयो ?

राजनीति गरेको लामो समयपछि प्राप्त गरेको जिम्मेवारीले केही फरक अनुभव गराएको छ। २०५४ सालमा मेयरमा प्रतिस्पर्धा गरेको थिएँ। २०७० को दोस्रो संविधान सभा सदस्यका लागि पनि प्रतिस्पर्धामा होमिएको हुँ। बाहिर बसेर राजनीति गर्न र जिम्मेवार पदमा बसेर जिम्मेवारी पूरा गर्नु फरक विषय रहेछ। नागरिकले आफ्ना गुनासा तत्कालै सुनुवाइ भइदियोस् भन्ने चाहना गरेका हुन्छन्। हामीले गर्नु पनि पर्छ तर सामान्य कामका लागि पनि सरकारकै आस गर्ने अवस्थामा परिवर्तन हुन सकेको छैन। महत्वपूर्ण काम गरे पनि नागरिकका सबै अपेक्षा पूरा गर्न भने चुनौती नै छ। सीमित स्रोत साधनका कारण नागरिकका अपेक्षा पूरा गर्न कठिनाइ छ। हाम्रा तर्फबाट थुप्रै नवीनतम् काम सुरु गरेका छौँ। त्यसको परिणाम अहिले नै देखिने स्थिति नभए पनि बाँकी चार वर्षमा नागरिकलाई अनुभव हुने गरी कामको थालनी गरेका छौँ। अहिले नै प्रतिशतमा देखाउने समय आएको छैन। सुरुवात राम्रो छ। 

जनताको विश्वास जित्ने खालका काम भएका छन् ? 

कृषि र पशुपालनमा लागेकालाई उत्पादनमा आधारित अनुदान दिने तयारी छ। जसले गर्दा कृषि तथा पशुपालन गर्नेलाई थप हौसला मिल्ने छ। गएको आर्थिक वर्षमा नवीनतम सोच भएका उद्यमीलाई नगद अनुदान दियौँ। चालु आर्थिक वर्षमा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने छौँ जसका कारण उत्पादन भएका वस्तुको सहज बजारीकरण हुने छ। नागरिक सन्तुष्ट हुने गरी हाम्रा काम अगाडि बढेका छन्। जनताले सोचेका सबै काम पूरा हुने समय भने भइसकेको छैन तर अनुभूति गराउने कोसिस गरिरहेका छौँ। अब बाँकी कार्यकालमा हामीले चुनावमा बोलेका कुरालाई पूरा गर्छौं। जसले नागरिकको जीवनमा परिवर्तन ल्याउँछ भन्ने हाम्रो आशा छ। 

स्वदेशमै उद्यमी बन्न चाहानेका लागि कस्ता योजना बनेका छन् ?

वालिङ नगरपालिका अधिकांश भूभाग गाउँमा पर्दछन्। यस पालिकाबाट विदेशमा कामका लागि जानेको सङ्ख्या ठुलो छ। रोजगारीको सिलसिलामा बिदेसिने क्रमलाई रोक्न हामीले नीतिगत व्यवस्था नै गरेर काम सुरु गरेका छौँ। सामान्य सेवा सुविधाका लागि गाउँबाट बजारतिर बसाइँ सरेर जानुपर्ने अवस्था छ, यसलाई रोक्नैपर्ने चुनौती छ। युवालाई गाउँमै राखेर रोजगारी प्रदान गर्न आधुनिक कृषि कार्यलाई जोड दिएका छौँ। कृषिमा लाग्न चाहने कृषकका लागि परामर्श, प्रविधिदेखि अन्य विभिन्न प्रकृतिका सहयोग दिँदै आएका छौँ। उनीहरूका लागि उत्पादन, बजार र व्यवस्थापनका लागि नगरपालिकाले सहजीकरण र सहयोग गर्ने छ। 

वालिङ नगरपालिकाभित्रै युएनडिपीको सहकार्यमा उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन केन्द्र– ईबिकको स्थापना गरी उद्यम अनुकूल वातावरण बनाउने काम गरेका छौँ। अन्य उद्योग सञ्चालनका लागि पनि छलफल गर्दै छौँ। हरेक काममा युवा सहभागिता हाम्रो प्राथमिकता हो। 

फोहोरमैला व्यवस्थापनमा वालिङको सकारात्मक चर्चा हुने गरेको छ, कसरी र कहाँ भइरहेको छ ? 

वालिङले फोहोरबाट मोहर कमाइ रहेको छ। हामीले फोहोरलाई स्रोतका रूपमा लिएर काम गर्ने गरेका छौँ। पालिकाले कुहिने वस्तुलाई मलका रूपमा उपयोग गर्ने, नकुहिने वस्तुलाई पुनः प्रयोगका रूपमा बिक्री गर्ने अथवा आफैँ प्रशोधन गर्ने कार्य गरेका छौँ। त्यसैले हामीले फोहोरका रूपमा नभई स्रोतका रूपमा लिई स्रोतलाई व्यवस्थित गर्ने गरी हाम्रा कार्य अगाडि बढेका छन्। घर घरका सेफ्टी ट्याङ्की भरिएपछि दिसाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा रहेको छ। यसबाट कम्पोस्ट मल र वायोग्यास उत्पादन गरी प्रयोग गर्ने र पानीका स्रोत अन्य जमिनमा जीवाणु फैलिनबाट रोक्ने गरी अगाडि बढेका छौँ। 

फोहोरको उचित व्यवस्थापनकै कारण स्रोतमा रूपान्तरण भई आर्थिक लाभ भएको छ। नागरिकले घर घरमै कुहिने, नकुहिने र सिसाजन्य फोहोर छुट्याउने गरेका छन्। नगरपालिकाबाट कुहिने–नकुहिने फोहोरका लागि बेग्लाबेग्लै गाडी टोलटोलमा पुग्छन्। फोहोरको वर्गीकरण, प्रशोधन, पुनः प्रयोग र बिक्री गरिन्छ। यसलाई थप प्रभावकारी बनाउँदै हामीले सरसफाइ केन्द्रलाई पिकनिक खाने क्षेत्रका रूपमा विकास गरेका छौँ। जुन अन्य पालिकाका लागि सिकाइ केन्द्रका रूपमा स्थापित भएको छ।  

पूर्वाधारका योजना प्राथमिकता निर्धारण गर्नुभएको छ ? 

विशेष गरी वालिङलाई स्मार्ट सिटीका लागि आवश्यक पर्ने पूर्वाधारको योजनामा काम गर्ने छौँ। सडक, खानेपानी, सिँचाइ, सञ्चार सञ्जाल (फाइबर लाइन) का कार्य प्रभावकारी रूपमा पूरा गर्ने छौँ। आँधीखोला कोरिडोर निर्माण सुरु भएको छ। आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना हाम्रै कार्यकालमा सम्पन्न गर्ने छौँ। सिँचाइको कुलो नगरपालिकाभित्र १२१ किलोमिटर रहेको छ। जसमा तीनै तहको सरकारको समन्वयमा क्रमशः पक्की गर्न पालिकाले योजना बनाएको छ।

डिजिटल प्रविधिको विकास समयानुसार गराउँदै ‘गुड गभर्नेन्स’ को अनुभव नागरिकलाई गराउने। आर्थिक विकासका लागि स्वरोजगार सिर्जनाका लागि सिप हस्तान्तरण, लगानीको वातावरण र बजारीकरणको व्यवस्था अगाडि बढाउने छौँ। स्वास्थ्यको पहुँच विस्तार, विपन्न वर्गका नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा, शुद्ध खानेपानी, व्यावसायिक कृषि, पशुपालनलाई प्राथमिकता दिएका छौँ। वालिङ–१ मा सुविधासम्पन्न अस्पतालको निर्माण कार्य पनि छिट्टै पूरा हुँदै छ। वालिङ–१० मा निर्माण सुरु भएको औद्योगिक ग्रामको निर्माण कार्य सम्पन्न गर्ने छौँ। चालु आर्थिक वर्षमा नै सुविधा सम्पन्न बसपार्कको निर्माण कार्य सुरु हुनेछ। वालिङमा खेलमैदानको निर्माण कार्य यही वर्षमा सक्ने छौँ। विद्यालयका प्रधानाध्यापकको छनोट खुला प्रतिस्पर्धाबाट गर्ने काम तत्कालै सुरु गर्दै छौँ। फोहोरमैलाको व्यवस्थापन, सेवा प्रवाह, वित्तीय सुशासन, विपत् तथा वातावरण व्यवस्थापन, उत्पादनशीलताका क्षेत्रमा उत्कृष्ट नगरपालिका बनाउने छौँ। यसमा हामीहरू प्रतिबद्ध छौँ।