• ९ वैशाख २०८१, आइतबार

पर्यटन र कृषिबाटै समृद्ध नगर बनाउँछौँ

blog

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक सन्धिखर्क, नरपानी, खाँचीकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङ्ला गाउँपालिका मिलाएर बनेको हो। २०३२ सालमा जिल्लाको नरपानीबाट सदरमुकाम सन्धिखर्कमा सारिएको थियो। चारैतर्फ पहाडी तथा बिचबाट बगेको बाँगी खोला र खोला वारिपारि बसेको बाक्लो बस्ती तथा रमणीय फाँटले सन्धिखर्क नगरपालिकाको सौन्दर्य बढाएको छ। सन्धिखर्क नगरपालिकाको विकासलगायत समसामयिक विषयमा सन्धिखर्क नगरपालिका अर्घाखाँचीका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठसँग अर्घाखाँची समाचारदाता गणेश खनालले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :  


 कार्यकालको पहिलो वर्षमा के के काम गर्नुभयो ?

–सन्धिखर्क नगरपालिकाभित्रका १२ वटै वडामा सहरी शासकीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/८० मा करिब १२ करोड बराबरका विभिन्न योजना वडा तथा नगरस्तरीय कार्यक्रम अन्तर्गत पूर्वाधार विकासका कार्यक्रमहरू सम्पन्न भएका छन्। स्वास्थ्य सेवा अन्तर्गत वडा नम्बर ७, ८ र ११ मा स्वास्थ्य सेवा कार्यालय भवनहरू टेन्डर गरी निर्माण प्रक्रियामा छन्। चिस्यान केन्द्र भवन निर्माण सम्पन्न गरी सञ्चालनको चरणमा रहेको छ भने अर्घा भगवती माताको प्राङ्गणमा विभिन्न किसिमका ऐतिहासिक संरचनाको निर्माण गरिएको छ। नगरका भगवती माविलगायतका विद्यालयमा चारकोठे पक्की भवन निर्माण गरिएको छ। पाणिनि बहुमुखी क्याम्पसमा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम सुरु गरिएको छ। सामुदायिक लिफ्टिङ खानेपानी योजनामा उपभोक्ताले तिर्दै आएको महसुलमा ६० प्रतिशत महसुल नगरपालिकाले भुक्तानी गर्दै आएको छ। 


 सडकलगायत पूर्वाधारका क्षेत्रमा भएका काम के होलान् ? 

–सन्धिखर्क, धरमपानी, अरलिङवाङ, अर्घा र मसुरपाटाको सडकलाई विशेष प्राथमिकता दिएर कालोपत्रे गरिएको छ। सन्धिखर्क बजारमा पक्की नाली निर्माण गरिएको छ। सुपादेउराली धर्मशाला र खाँचीकोट दरबारमा पूर्वाधार निर्माणका धेरै काम भएका छन्। सरला मार्ग सडक, जङ्गबहादुर जन्मेको दरबार क्षेत्र, रकगार्डेन, ढोरपाटनदेखि कपिलवस्तुको चार नम्बरसम्म जाने सडकको स्तरोन्नतिलगायतका काम प्राथमिकतामा छन्। नगरभित्र सिसी क्यामराबाट निगरानी, सन्धिखर्क बजारमा उज्यालो सडक लाइट जडान, विद्यालयहरूमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागु भएको छ। लदाम बगैँचालाई पर्यटकीय आर्कषण गर्ने गरी निर्माण कार्य सम्पन्न भएको छ। फोहोरमैला व्यवस्थापनका लागि निजी क्षेत्रसँग सम्झौता गरी काम भइरहेको छ। गच्छे खोलामा रहेको पुरानो मसानघाटलाई व्यवस्थित गर्ने कार्य भएको छ। 


 सन्धिखर्कको सुपादेउराली मन्दिरमा आएका पर्यटकलाई सन्धिखर्क ल्याउन के पहल गरिरहनुभएको छ ?

–सन्धिखर्क नगरपालिकाभित्र रहेको सुपादेउराली मन्दिरमा आएका पर्यटकलाई सन्धिखर्क बजारसम्म ल्याउनका लागि ऐतिहासिक अर्घा दरबारको प्रचारप्रसारलाई व्यापक बनाइएको छ। यो काम नगरपालिकाको पहिलो प्राथमिकता नै परेको छ। सन्धिखर्कमा रहेको सिद्धेश्वर मन्दिरलगायतका पर्यटकीय क्षेत्रको महत्त्वबारे प्रचार गर्न नसक्दा सुपादेउराली मन्दिरको दर्शन गरेर त्यहीबाट पर्यटक फर्कने गरेको पाइएको छ। यसबारे हामीले ठोस योजना बनाएर जिल्लाभरका पर्यटकीय क्षेत्रमा आउने गरी काम गर्ने सोच बनाइरहेका छौँ। अर्घा मन्दिरलाई व्यवस्थित गरी हेर्न र देख्नलायक बनाएका छौँ। मथुरामा रहेको दरबारलाई व्यवस्थित बनाएका छौँ । अव हामीले यी सबै क्षेत्रको महत्त्वबारे व्यापक प्रचार गर्नका लागि योजना बनाइरहेका छौँ। त्यसपछि पर्यटक यहाँसम्म आउने छन् भन्ने विश्वास लिएका छौँ। सन्धिखर्कलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने हाम्रो योजना हो। यसमा हामी लागिरहेका छौँ ।   


 कृषि र पशुपालनको क्षेत्रलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ कि छैन ?

–कृषि क्षेत्र नगरपालिकाको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकतामा परेको छ। सन्धिखर्क नगरपालिकामा पर्यटनसँगै कृषि क्षेत्रको आधुनिकीकरण र यान्त्रिकीकरणको माध्यमबाट किसानको उत्पादनमा वृद्धि गरी व्यवसायीकरणतर्फ उन्मुख गराउने हाम्रो लक्ष्य रहेको छ। सोही अनुसार हरेक वडामा रहेका किसानलाई आत्मनिर्भर बनाउने, उत्पादनमा वृद्धि गर्ने र बजारको खोजी गर्ने गरी काम अगाडि बढेका छन्। 

आफ्नो बजार आफ्नो उत्पादन, स्मार्ट गाउँ किसान कार्यक्रम पनि समावेश गरिएका छन्। किसानलाई व्यावसायिक बनाउन कृषि सामग्री, मेसिनरी औजार, मलमा ५० प्रतिशत अनुदानको व्यवस्था गरेका छौँ। फलफूल, उन्नत जातका बिरुवा वितरण, वर्षायाममा बाढीले क्षति पु-याएका किसानलाई राहत वितरण, जरेखोला आसपासको खेतीयोग्य जमिनको दिगो व्यवस्थापनका लागि खोला व्यवस्थापन गरिएको छ।


 मतदातासँग गरेका वाचा यो अवधिमा के कति सम्बोधन भएका छन् ?

–निर्वाचनका बेला मतदातासंँग जे वाचा गरिएका थिए, ती वाचा क्रमागत रूपमा सम्बोधन गर्दै आएको छौँ। पूरा नहुने र चुनाव जित्नलाई जे पनि आश्वासन दिइएको थिएन र सोही अनुसार अहिले काम गर्न सजिलो भइरहेको छ। मुख्य समस्या भनेको यहाँको बेरोजगारी हो। स्वरोजगारमूलक कार्यक्रम र कृषिमा आधारित उद्योगको स्थापना बिनारोजगारी सम्भव छैन। जबसम्म यस्ता उद्योगहरू सङ्घीय, प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा स्थापना हुँदैनन्, तबसम्म बेरोजगारी समस्या समाधान हुँदैन। बेरोजगारी समस्याको समाधान तीनै तहका सरकारको सहभागिताबाट गर्नुपर्ने हुन्छ। अहिलेको मुख्य कार्यभार पनि यही रहेको छ। उत्पादनमा वृद्धि गरी कृषि क्षेत्रमा सन्धिखर्कलाई आत्मनिर्भर गरिनु पर्दछ। माटो, हावापानी भूगोल सुहाउँदो क्षेत्रलाई छनोट गरी कृषि वैज्ञानिकको सहभागितामा आम्दानीमूलक उत्पादन दिने तरकारी र फलफूल खेती बढाउनेतर्फ प्रयास गर्दै छौँ। समग्रमा भन्दा चुनावका बेला गरिएका अधिकांश वाचा पूरा गर्ने चरणमा छौँ। सबै काम एकै पटक पूरा गर्न सकिने अवस्था छैन। दीर्घकालीन योजना पूरा हुन समय त लाग्छ नै।