• २८ भदौ २०८१, शुक्रबार

संविधानको सार्थक कार्यान्वयन नेपाली कांग्रेसले मात्रै गर्न सक्छः महामन्त्री थापा

blog

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । फाइल तस्बिर

काठमाडौं, साउन २३ गते। सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधानको सार्थक कार्यान्वयन आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गर्नुभएको छ। विश्व आदिवासी दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधानलाई सुधार गर्दै लैजाने, त्यसको सार्थक कार्यान्वयनको माध्यामबाट नेपाली जनताको चाहनालाई पूरा गर्दै लैजाने काम नेपाली कांग्रेसबाहेक अन्य दलले गर्न नसक्ने बताउनुभएको हो।

महामन्त्री थापाले कांग्रेससँग समन्वयका साथ संविधानको सार्थक कार्यान्वयन गर्दै अघि बढ्ने तागत रहेको जिकीरसमेत गर्नुभयो। उहाँले कतिपय दलले संविधानमा किञ्चित सुधार आवश्यक नभएको भन्ने गरेको, कतिपय दलले भने त्यसको आमूल परिवर्तन गर्नुपर्छ भन्ने गरेको उल्लेख गर्दै कांग्रेसले उनीहरुलाई समेत नेतृत्व गर्दै संविधानमा आवश्यक सुधार गर्दै लैजानेसमेत बताउनुभयो। 

महामन्त्री थापाले भन्नुभयो, ‘‘यो संविधान अपर्याप्त छ। यसलाई पर्याप्त बनाउने हो। यसलाई थप सुधार गर्दै लिएर जाने हो। र, कांग्रेसले नै यसलाई सार्थक कार्यान्वयन पनि गर्दैगर्दै लिएर गएर यही व्यवस्था भित्र हामी सबैको चाहनालाई सम्बोधन गर्दै जाने स्थिति बनाउने छ भन्ने खालको अवस्थामा हामीले पुर्‍याउनुपर्छ। हामीले त्यो जिम्मेवारी निर्वाह गर्न सकेनौं भने अरु कसैले पनि त्यो भूमिका निर्वाह गर्न सक्दैन। यो मैले अहंकार राखेर भनेको होइन। नेपाली कांग्रेससँग त्यो समन्वय गर्ने तागत छ।’’

महामन्त्री थापाले सबै नेपाली देशभक्त हुन भन्ने मान्यताको आधारमा नेपाली कांग्रेस अघि बढ्ने बताउनुभयो। उहाँले सबै जाति, धर्म, संस्कार र संस्कृतिको उत्तिकै सम्मान गरेर मात्रै सबै नेपालीलाई देशभक्त बनाउन सकिने भएकाले त्यो काममा नेपाली कांग्रेस प्रतिबद्ध भएर लाग्ने आश्वासनसमेत दिनुभयो।