• ८ वैशाख २०८१, शनिबार

शैक्षिक गुणस्तरमा व्यापक सुधार गरेका छौँ

blog

साबिकका त्रिवेणी, कटारी, स्वरुङछबिसे, रिस्कु, सिरिसे, लिम्पाटार, मयाखु, हर्देनी र लेखानीसमेत गरी १० वटा गाउँ विकास समितिलाई एकीकृत गरी गठन गरिएको कटारी नगरपालिका उदयपुरको दोस्रो ठुलो नगरपालिका हो । क्षेत्रफलका आधारमा ४२४.९ वर्ग किलोमिटर भूभाग ओगटेको यो नगरपालिका चुरे र महाभारत पहाडबिचको भौगोलिक धरातलमा अवस्थित छ । तराईबाट विभिन्न उपभोग्य वस्तु तथा निर्माण सामग्रीहरू पहाड हुँदै हिमालसम्म र हिमाली क्षेत्रका जडीबुटी पहाड हुँदै तराईसम्म निकासी पैठारी गरिने भएकाले कुनै समय कटारीलाई सगरमाथाको द्वार भन्ने गरिन्थ्यो । कटारी नगरपालिकाको २० हजार २४० घरधुरी रहेको यहाँको जनसङ्ख्या ५९ हजार ५०७ छ । तावा ककरु र कमला नदीको सङ्गम स्थल त्रिवेणीको तटीय क्षेत्रको छुट्टै पहिचान भए पनि विकास निर्माणमा निकै पछाडि परेको यस नपालार्ई समृद्ध बनाउन लागिपर्नुभएका नेपाली कांग्रेसबाट दोस्रो कार्यकालका लागि निर्वाचित नगर प्रमुख राजेशचन्द्र श्रेष्ठसँग गोरखापत्रका लागि गाईघाट समाचारदाता भक्तिविलास पोखरेलले गर्नुभएको कुराकानीको 

सङ्क्षिप्त अंश यहाँ प्रस्तुत गरिएको छ :  

तपाईं निर्वाचित भएर आएपछि कटारी नपाको विकास निर्माणमा के फरक आएको छ ? 

हामी निर्वाचित भएर आएपछि विकासले गति लिएको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण, सडक विस्तार, विद्युत् लाइन विस्तार, नदी नियन्त्रण, पर्यटकीय पार्क निर्माण, सिमसार क्षेत्रको संरक्षण, पर्यटन प्रवर्धन तथा सार्वजनिक जग्गा संरक्षणलगायतका कामहरू तीब्र रूपमा भएको छ । नगरपालिकाले लगानी बढाएर त्रिवेणी माध्यमिक विद्यालयमा १२ कक्षासम्म विज्ञान विषयमा निःशुल्क शिक्षा, भौतिक संरचना निर्माण, विद्यालयको दरबन्दी मिलान, एक वडा एक नमुना विद्यालयको अवधारणा अनुसार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा व्यापक सुधार ल्याइएको छ । 

नगरपालिकाको योजना छनोट कुन प्रक्रिया वा विधिका आधारमा हुने गरेको छ ?

बस्तीस्तरमा पुगेर स्थानीय बासिन्दाको मागका आधारमा योजना बैङ्क तयार गरी आवश्यकता, औचित्यता, रोजगार प्रवर्धन, आय आर्जनमा टेवा आदि विषयलाई प्राथमिकतामा राखेर वडा कार्यालयको सिफारिस, कार्यपालिकाको बैठकको निर्णय र नगर सभाबाट गरिने स्वीकृतिका आधारमा मात्रै अल्पकालीन र दीर्घकालीन योजना छनोट गर्ने गरिएको छ ।

निर्वाचनका क्रममा जनतासमक्ष गर्नुभएको प्रतिबद्धताहरू के कति पूरा गर्नुभयो ?

निर्वाचनका क्रममा जनतासँग प्रतिबद्धता गरिएका कार्यक्रमलाई बस्तीस्तरमा छलफल गरी प्राथमिकताका आधारमा क्रमशः पूरा गर्दैछौँ । सीमित स्रोतसाधनबिच अपेक्षाकृत रूपमा छोटो अवधिमा धेरै उपलब्धिमूलक कामहरू सम्पन्न गरिएको छ र कतिपय योजना पूरा हुने व्रmममा रहेका छन् । 

नगर क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा कतिको महìव दिनुभएको छ ?

आम जनताका लागि सेवा सुविधा प्रवाह गर्ने मुख्य काम भनेकै भौतिक पूर्वाधारहरूको निर्माण गर्नु हो । त्यसैले त्यसको प्रयोग र दिगोपनलाई मध्यनजर राखेर सडक, सिँचाइ, विद्यालय भवन निर्माण, खानेपानीलगायतका भौतिक पूर्वाधारका निर्माणमा कटारी नपाले उच्च प्राथमिकता दिएकोे छ । यसमा वडा नं. १ देखि ७ सम्मको भूगोल समथर रहेको र वडा नं. ८ देखि १४ सम्मको भूभाग विकट पहाडी क्षेत्रमा अवस्थित भएकाले सोही अनुरूप योजना बनाएर काम गरिएको छ । 

विकास निर्माणका मुख्य प्राथमिकताका क्षेत्रहरू के के हुन् ?

शिक्षा, स्वास्थ्य, कृषि, स्वरोजगार, भौतिक पूर्वाधार, खानेपानी, सडक, विद्युत्, सञ्चार, खेलग्राम निर्माण, नदी नियन्त्रण, पर्यटन प्रवर्धन, वातावरण संरक्षण, धार्मिक सांस्कृतिक क्षेत्रको संरक्षण, सार्वजनिक जग्गा संरक्षण र त्यसको उपयोगलगायतका क्षेत्रहरू नै कटारी नपाको विकास निर्माणका मुख्य प्राथमिकताका क्षेत्र हुन् र यिनै आधारमा योजनाहरू निर्माण गरेर अगाडि बढेका छौँ ।

नगरपालिकाका कानुन निर्माणमा के कस्ता बाधा छन् ?

सङ्घीयता कार्यान्वयनको मूल थलो भनेकै स्थानीय तह भएकाले सुरुका वर्षमा अलि समस्या भएको थियो तर अहिले आएर नगरको आन्तरिक कानुन निमार्णमा कुनै बाधा छैन । प्रदेश र सङ्घीय कानुनको अभावमा कतिपय काम गर्न भने अझै कठिनाइ र झन्झटिलो अवस्था कायमै छ । 

स्थानीय स्रोतसाधन परिचालन र जनसहभागिताको स्थिति कस्तो छ ?

स्थानीय स्रोतसाधनको अधिकतम प्रयोगमा नगरपालिकाले विशेष ध्यान दिएको छ । विकास निर्माणका कार्यमा जनसहभागिताको स्थिति नपाले तोके अनुसार नै जुटेको छ । आम जनताको सहभागिताबिना विकास निर्माणका कामहरू अगाडि बढाउन कठिन हुने हुँदा अहिले जनश्रमदान पनि व्यापक मात्रामा जुट्ने गरेकाले काममा कुनै समस्या हुने गरेको छैन ।

कटारी नपामा आर्थिक पारदर्शिता र जवाफदेहिताको स्थिति कस्तो छ ?

आर्थिक पारदर्शिताको कुरा कार्यपालिका हुँदै नगर सभाबाट सार्वजनिक गर्ने गरिएको छ । योजना कार्यान्वयनका क्रममा स्थलगत अनुगमन, सार्वजनिक सुनुवाइ र कार्यव्रmम सञ्चालन गर्ने पक्षबाट जवाफदेहिताको पूर्ण रूपमा पालना गर्ने गरिएको छ । यसै गरी प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने गरिएको छ । नगरपालिकाको वेबसाइट, फेसबुक पेजबाट पनि सूचनाहरू र अन्य जानकारी सम्प्रेषण गर्ने गरिएको छ । 

विकास निर्माणमा हुने मुख्य समस्या वा चुनौतीहरू के के छन् ?

आवश्यकता अनुसार कम बजेट विनियोजित हुनु, दुई खाले भौगोलिक अवस्था हुनु, कार्यान्वयन चरणमा स्रोतसाधनको कमी हुनु, एकीकृत बस्ती नहुनु र दलीय स्वार्थका कारण राम्रो काममा पनि विवाद गरेर कतिपय योजना सञ्चालनमा झमेला गर्ने प्रवृत्ति नै मुख्य समस्या वा चुनौती रहेका छन् ।

कुनै समय सगरमाथाको द्वार भनेर पनि चिनिने कटारी बजार अहिले ओझेलमा पर्दै गएको छ । यसलाई पुनर्जीवन दिन नगरपालिकाले के गर्दैछ ?

सगरमाथाको द्वार भनेर चिनिने कटारी बजार ओझेलमा परेको छैन । अझ यसलाई चिनाउन त्रिदेशीय मार्ग (भारतको जयनगर, मिर्चैया, कटारी, घुर्मी, ओखलढुङ्गा, सोलु, नाम्चे हुँदै चीनको सिगात्सीसम्मको सडक विस्तार) को पहल हुनु तथा धार्मिक पर्यटनका लागि कटारी नपा क्षेत्रभित्र रहेको महादेव गुफा (जसलाई सानो हलेसी भनेर चिनिन्छ) को स्तरोन्नति र प्रचारप्रसारलाई विशेष ध्यान दिइनुका साथै हलेसी महादेव स्थानसम्मको बाटो, कटारी–मिर्चैया सडकको स्तरोन्नतिका लागि पहल गरिरहेका छौँ । 

अन्त्यमा केही भन्नु छ कि ?

प्राथमिकताका आधारमा योजना बनाएर आम जनतालाई फाइदा हुने गरी मैले काम गर्दै आएको छु । सहज सेवा प्रवाह, पारदर्शिता, सुशासन र उत्तरदायी भएर नगरको समग्र विकासमा म लागिरहने छु । सन्तुलित विकास निर्माणका लागि सबै क्षेत्र, तह, राजनीतिक दल, युवा, बुद्धिजीवी, सञ्चारकर्मी, स्थानीय बासिन्दा, नगरपालिकाका कर्मचारी, सुरक्षा निकाय एवं सरोकारवाला सबै महानुभावबाट विकासमा हातेमालो गर्दै अगाडि बढ्न र कहिकतै कमी कमजोरी भए निरन्तर सुझाव तथा सहयोगको अपेक्षा गर्दछु ।