• १ साउन २०८१, मङ्गलबार

कराँतेका अब्बल मन्देकाजी

blog

काठमाडौं, भदौ ६ गते । नेपाली कराँतेले पाएको अब्बल खेलाडी हुनुहुन्छ, मन्देकाजी श्रेष्ठ । तीन दशक लामो कराँते यात्रामा नथाक्नुभएका मन्देकाजीलाई अझै कराँतेको भोकले छाडेको छैन । सक्रिय खेल जीवनलाई विस्तारै विश्राम दिने सोच बनाउनुभएका मन्देकाजीले प्रशिक्षकको रुपमा आफूलाई निखार्न थाल्नुभएको छ । 

विभागीय टोली नेपाल पुलिस क्लबका खेलाडी र प्रशिक्षकको रुपमा सक्रिय मन्देकाजी नेपालकै चर्चित खेलाडी हुनुहुन्छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा लगातार सफलता चुम्दै आउनुभएका मन्देकाजीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई कराँतेबाट दोहोरो स्वर्ण दिलाएपछि उहाँको चर्चा थप चुलियो । 

भक्तपुरको मध्यपुर थिमीका ३८ वर्षीय मन्देकाजीले सानैदेखि कराँतेको राम्रो खेलाडी बन्ने सपना बुन्नुभएको थियो । आठ नौ वर्षको उमेरमा बुबाको प्रेरणाले कराँतेमा होमिनुभएका उहाँ कराँते खेलले नै आफूलाई सबैथोक दिएको बताउनुहुन्छ । 


‘‘मे जे छु कराँतेकै कारणले छु । खेलमा लाग्न सानैदेखि बुबाले प्रेरणा दिनुभयो । चन्द्र सूर्य झण्डा बोक्ने मेरो सानै देखिको रहर हो । आफूलाई अनुशासनमा राखेर अगाडि बढियो भने सफलता पाइँदोरहेछ । खेलाडीको रुपमा नेपाल र चन्द्र सूर्य झण्डाको लागि केही न्याय गरेको छु भन्ने लाग्छ,’’ मन्देकाजीले सुनाउनुभयो । 

नेपाल प्रहरीका असई मन्दकोजी अहिले खेलाडीको रुपमा भन्दा प्रशिक्षकको रुपमा बढि सक्रिय हुनुहुन्छ । उहाँलाई नेपाल पुलिस, आफ्नै एकेडेमी, डोजो र स्कुलका खेलाडीलाई कराँते प्रशिक्षण दिन भ्याईनभ्याई छ । 


‘‘खेलाडीको रुपमा सकेको गरियो । खेलाडीबाट औपचारिक सन्न्यास लिएको त छैन । तर पनि कसरी आफूभन्दा राम्रो खेलाडी उत्पादन गर्न सकिन्छ ? भन्ने हुटहुटी मनमा छ । नेपाललाई एसियाड र ओलम्पिकसम्म कसरी पदक दिलाउन सकिन्छ भन्ने सोचले प्रशिक्षण कर्म थालेको छु । खेलाडी र प्रशिक्षण विधा धेरै फरक रहेछ,’’ मन्देकाजीले भन्नुभयो । 

नेपालमा पहिला कराँतेलाई हेयको रुपमा चित्रण गरिए पनि बिस्तारै यसले अनुशासित खेलको रुपका पहिचान बनाएको उहाँले बताउनुभयो । पढाइसँगै कराँतेलाई अगाडि बढाउनुभएका मन्देकाजीले कराते यात्रामा भोगेकाे कठिनाइ पनि कम छैन । 


कराँतेमा राम्रो गरेकै कारण विभागीय टोली नेपाल पुलिसमा पुग्नुभएका उहाँलाई माआवादी युद्धको समयमा विभागमा जान परिवारका कारण अफ्ठेरो परेको थियो । ‘‘देशमा सङ्कटग्रस्त स्थिति थियो । पुलिसमा रहेर खेल्छु भन्दा परिवारले मानेको थिएन । तर विभागकै कारण म थप राम्रो खेलाडी भएँ । अन्तर्राष्ट्रिय स्तरको सफलताले विस्तारै परिवार, समाज र पूरै देशलाई खुशी बनाउन सकेँ,’’ मन्देकाजी भन्नुहुन्छ । 

उहाँका अनुसार नेपाली खेलाडीका लागि एसियाली खेलकुद (एसियाड) र ओलम्पिमा पदक जित्नु त परेको कुरा हो । ‘‘नेपाली खेलाडीका लागि सागमा पाउने सफलताले ठूलो अर्थ राख्छ । साग पनि मेरो लागि कठिन मोड बन्यो । मैले खेल जीवनमा तीतामीठा अनुभव सँगालेको छु । आफू पिकमा रहँदा ११औं सागको बन्द प्रशिक्षणमा रहेर पनि अन्तिममा खेल्न पाइनँ । १२औं सागमा कराँते विधा हटाउँदा झनै निराश भएँ । तर, हरेस खाएको थिइनँ । ढल्कँदो उमेरमा स्वदेशमै भएको १३औं सागमा केही गरेर छाड्छु भन्ने अठोट थियो । जुन अठोट दुई वटा स्वर्ण जितेर पूरा गरेँ । खेल जीवनको उत्तरार्धमा पाएको यस खुशीलाई जीवनभर अविस्मरणीय रुपमा सँगालेर राख्नेछु,’’ उहाँले भन्नुभयो । 


कराँते विस्तारै लयमा आएकोले नयाँ पुस्ताले धेरै गर्न सक्ने उहाँको बुझाइ छ । नेपाल कराँते महासङ्घमा देखिएको लामो विवादलाई अहिले अन्तर्राष्ट्रिय कराँते महासङ्घ (डब्लुकेएफ) ले समाधान गरेकोले करातेमा लाग्ने युवा खेलाडीको भविष्य उज्ज्वल रहेको मन्देकाजीले बताउनुभयो । 

नेपाली कराँतेका स्टार खेलाडी, प्रशिक्षक र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका पदाधिकारीसमेत रहनुभएका मन्देकाजीसँग नेपालको कराते खेल र खेलाडीको अवस्थाबारे गोरखापत्र अनलाइनका लागि मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो सामग्री :