लीलाधर वली
घोराही, असोज १ गते । दाङका थारू समुदायमा धार्मिक एवं सांस्कृतिक महत्वको अट्वारी पर्वको उल्लास छ। थारू समुदायले दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै अट्वारी पर्व मनाउने गर्छन्।
अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिएर दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन रहेको छ। थारू संस्कृतिविद् बेझलाल चौधरीका अनुसार व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्निदेवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याएर बाँकी भाग व्रतालुले खाने चलन रहेको छ। दिदीबहिनीलाई छुट्याएको भागलाई अग्रासन भनिन्छ।
अट्वारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चालगायत पकवान र माछाको सिद्रा व्रतालुले ग्रहण गर्छन्। अट्वारी पर्व थारू समुदायले ठुलो पर्वका रूपमा मनाउने गरेका छन्। थारू समुदायको बसोबास रहेको दाङसहित बाँके, बर्दिया, कैलाली, कन्चनपुरलगायत क्षेत्रमा अट्वारी पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ।
अट्वारी पर्वमा विशेष गरी माछा, गँगटा, घोँघीलगायत अन्य परिकार पकाउने गरिन्छ। आइतबार दिउँसोतिर गाउँका सबै जना मिलेर गैन्यारी काठ घोटेर चोखो आगो उत्पादन गर्ने चलन छ। उहाँका अनुसार काठ घोटेर चोखो आगो उत्पादन गर्ने र त्यसैमा भीमलाई चढाउनलाई एकोहोरो रोटी पकाउने गरिन्छ। रोटी पाकेपछि सबै व्रतालु स्नान गरी पूजामा सहभागी हुन्छन्। पाँच पाण्डवका चार भाइले खाना खानुभन्दा अगाडि आआफ्नो भागबाट आधा आधा भाग भीमका लागि छुट्याउँथे भन्ने भनाइ छ।
यसै गरी थारू जातिले अट्वारीमा आफ्नो भागबाट आधा भाग भीमका लागि छुट्याएर मात्र खान्छन्। त्यस दिन व्रतालुहरू नुनलगायत जुठो मानिने अन्य खाने कुरा खाँदैनन्। यो पर्वमा खाना पकाउने जिम्मा व्रतालु पुरुषकै हुन्छ। अट्वारीमा साँझ र बिहान व्रतालुले आआफ्नो भागबाट आधा आधा निकाल्ने चलन छ। त्यो भागलाई ‘अग्रासन’ भनिन्छ। यो अग्रासनको अग्राधिकार व्रतालुको दिदीबहिनीको हुन्छ। अग्रासन दिन गएका बेला दिदीभाइ, दाइबहिनी अट्वारीको खुसियाली साटासाट गर्ने भएकाले पनि अट्वारी पर्वलाई चेली र माइतीको मिलन बिन्दुसमेत भन्ने गरिन्छ।
बर्कीमार गाथा लोप हुँदै
अट्वारी पर्व, पश्चिमा थारू समुदायको चाड हो। दीर्घायु, सुस्वास्थ्य एवं सुखमय जीवनको कामनासहित मनाइने यो पर्वमा पुरुष निराहार व्रत बस्ने गर्छन्। यो पर्वको विशेष महत्व भए पनि थारू समुदायको पछिल्लो पुस्ताले यसको सांस्कृतिक महìवलाई निरन्तरता दिन नसकेको थारू संस्कृतिविद् बेजलाल चौधरी बताउनुहुन्छ।
महाभारतको कथामा आधारित रहेर अट्वारी पर्वमा बर्कीमार गाउने चलन रहेको थियो। पाँच पाण्डवमध्ये भीमको वीरता र शक्ति महिमा गानसँग जोडिएको बर्कीमार गीत अहिलेको पुस्तालाई थाहै नभएको बेझलाल बताउनुहुन्छ। ७२ वर्षीय चौधरीका अनुसार बर्कीमार अट्वारीको पर्यायका रूपमा रहेको छ। अट्वारी पर्वका नाममा बाह्य संस्कृति भित्रिने क्रम बढ्दा अट्वारीको महत्व घट्न थालेको छ। उहाँका अनुसार थारू समुदायमा महाभारतको कथाको वृत्तान्तमा उल्लेख भएका धेरै जसो मिथक मिल्न जान्छ।
पाँच पाण्डवको भक्ति साधना गरेर भीमको जस्तै शक्ति र बल प्राप्त होस् भनेर दिव्य साधना गर्ने परम्पराकालदेखि चल्दै आएको थियो तर अहिले बर्कीमार गाउने प्रचलन हराइसक्यो।