• २८ मंसिर २०८१, शुक्रबार

लुम्बिनी प्रादेशिक अस्पतालमा थप सेवा विस्तार

blog

लुम्बिनी प्रादेशिक अस्पतालमा सेवा विस्तारको शुभारम्भ गर्नुहुँदै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनाल लगायत । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली
सिद्धार्थनगर, असोज ८ गते ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा थप सेवा विस्तार गरिएको छ । बिरामीको चाप बढेपछि सहजताका लागि सेवा थप गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा विस्तारित स्वास्थ्य सेवामा न्यूरो एच.डी.यु (नयाँ भवनमा), एनआइसियु (बेड विस्तार), एसएनसियु सेवा थप गरिएको हो ।

यस्तै, बाल तथा प्रसूति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एस.एम.एस सेवा पनि थप गरिएको छ । यी सेवा विस्तार तथा शुभारम्भ लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले गर्नुभयो ।

कार्यक्रममा बोल्दै मन्त्री खनालले प्रदेशको गहनाको रूपमा रहेको अस्पतालका लागि मन्त्रालयले बजेटमा विशेष प्रथमित्तामा राखेको बताउनुभयो ।

उहाँले जनताको विश्वास जितेर विशेषज्ञ सेवा प्रदान गर्न चिकित्सकहरुलाई सुझाव दिनुभयो । अस्पताललाई तत्काल नभई नहुने जनशक्ति, उपकरण, भौतिक पूर्वाधारबारेमा लिखित जानकारी मन्त्रालयलाई गराउन निर्देशन दिनुहुँदै मन्त्री खनालले कम्तीमा मासिक रूपमा सम्याका बारेमा छलफल गरी समाधान गर्ने प्रयत्न गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले विवाद् नआउने गरी पारदर्शी तरिकाले प्रशासन चलाउन र उपचार सेवा थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो । अस्पतालमा मेसु डा. सुदर्शन थापा क्षेत्रीले सेवा विस्तारसँगै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गर्ने आउने बिरामीका लागि सहज भएको बताउनुभयो । उहाँले अब केही समयमै क्याथ ल्याब सञ्चालनको तयारी भइरहेको पनि जानकारी दिनुभयो ।

डा. थापाले अस्पतालमा पिआइसीयू प्रसूति सेवा बर्थिड सेन्टर निःसन्तान क्लिनिक सेवा सुरु भएपछि आएका बिरामीलाई बाहिर रिफर गर्नुपर्ने समस्या अन्त्य भएको बताउनुभयो ।

बुटबल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पतालको विकास र सेवाका लागि सबैको ध्यान जानु जरुरी रहेको बताउनुभयो । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अस्पतालको सेवा विस्तारसँगै अस्पतालमा आउने बिरामीलाई राहत हुने बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले थोरै जनशक्तिका बिच पनि धेरै सेवा दिइरहेको बताउनुभयो । उक्त कार्यक्रममा डा. ज्ञानहरि मरासिनी लगायतले बोल्नुभएको थियो। कार्यक्रमको सञ्चालन अस्पतालका मेट्रोन ज्योति पौडेलले गर्नुभएको थियो ।

अस्पतालमा विस्तारित स्वास्थ्य सेवा न्यूरो एच.डी.यु (नयाँ भवनमा) एनआईसियु (बेड विस्तार) एसएनसियु बाल तथा प्रसूति विभाग टिकट काउन्टर तथा ल्याब रिपोर्ट एस.एम.एस सेवा उद्घाटन भएको थियो । सेवा थपपछि अस्पतालमा आउने बिरामीले उपचारमा सहनजा हुनेछ ।