तिलाचन पाण्डे
तम्घास, असोज ९ गते । नेपाल एयरलाइन्सले गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा दुई दिन नियमित उडान गर्ने भएको छ । यसअघि शुक्रबार मात्रै उडान भर्ने गरेको नेपाल एयरलाइन्सले अब मङ्गलबार पनि उडान गर्ने भएको हो ।
एयरलाइन्सको जहाजले प्रत्येक शुक्रबार गर्ने गरेको नियमित उडानमा हप्ताको दुई दिन मङ्गलबार र शुक्रबार उडान भर्ने गरी उडान तालिका भएकाले सोही अनुसार उडान भरेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो ।
मङ्गलबारको उडानमा काठमाडौंबाट १२ जना यात्रु लिएर उडान भरेको विमानले रेसुङ्गाबाट भने एक जना मात्र यात्रु लिएर उडान भरेको थापाले बताउनुभयो । मङ्गलबार उडान हुन्छ भन्ने धेरैलाई जानकारी नभएका कारण रेसुङ्गाबाट फर्किदा यात्रु नभएको उहाँको भनाइ छ ।
मौसम सफा भएमा नियमित रुपमा हप्ताको दुई दिन उडान भर्ने तालिका रहेको थापाले बताउनुभयो ।
मौसम खराबीका कारण असार पहिलो हप्ताबाट उडान नभरेको विमानले भदौ २९ गतेबाट नियमित उडान भरेको हो । गत शुक्रबार भने मौसम सफा नभएका कारण एयरलाइन्सले उडान भर्न सकेको थिएन ।
नेपाल एयरलाइन्सको विमानले प्रत्येक हप्ताको शुक्रबार बिहान ६ः३० बजे काठमाडौंबाट र रेसुङ्गाबाट काठमाडौंका लागि ७ः४० बजे उडान भर्ने गरी समय निर्धारण गरेको छ ।
काठमाडौंबाट रेसुङ्गाका लागि सात हजार दुई सय र रेसुङ्गाबाट काठमाडौंका लागि सात हजार ८० रुपियाँ भाडा निर्धारण गरेको छ ।