काठमाडौं, असोज ९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मूर्तिकार कालु कुमालेका अद्वितीय कलाको संरक्षण र प्रवर्द्धन गर्न सक्नुपर्ने बताउनुभएको छ । मङ्गलबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच मूर्तिकार कुमालेको ‘देउता बनाउने मान्छे’ नामक पुस्तक सार्वजनिक गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
उपराष्ट्रपति यादवले मूर्तिकार कुमालेजस्तो महत्त्वपूर्ण स्रष्टा, सृजनाकार, कलाकार र व्यक्तित्वलाई सबैले सम्मान गर्नुपर्ने समेत बताउनुभयो । उहाँद्वारा सिर्जित मूर्तिहरू मठ, मन्दिर, विहार, गुम्बाहरूमा पुजिँदै आएको र विश्वको प्रख्यात भिक्टोरिया एण्ड एल्वर्ड म्युजियमसहित विभिन्न मुलुकमा पुगिसकेको उल्लेख गर्नुहुँदै यो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय भएको बताउनुभयो ।
‘‘कुनैपनि संस्कृतिले संस्कार दिन्छ । यही संस्कारकै कारण ६ सयभन्दा बढी मूर्तिको सृजना गरिसक्दा पनि उहाँ ९१ वर्षको उमेरमा पनि आफ्नो मूर्तिकला विद्यालाई जीवन्तता दिन सक्रिय र क्रियाशील हुनुहुन्छ । संस्कृति आफ्नो लचिलोपनका बाबजुद बिस्तारै परिवर्तन हुन्छ । र यही प्रक्रिया अनुरूप त्यसले व्यक्तिको व्यक्तित्वलाई बिस्तारै बिस्तारै प्रभाव पार्दछ । यो प्रभाव यतिधेरै गहिरो र प्रभावकारी हुन्छ, त्यो मात्रै प्रभाव नरहेर उसको व्यक्तित्वको अभिन्न अङ्ग बन्न पुग्छ । संस्कृतिको यसै प्रभावले नै व्यक्तिको निर्माण हुन्छ, गर्छ ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘मूर्तिकलामार्फत सहरी आभिजात्य संस्कृति होइन, लोक संस्कृतिलाई समृद्ध बनाउन उहाँले गर्नुभएको सृजनात्मक कार्य प्रशंसनीय छ । उहाँले मूर्तिकलामा बेजोड सौगात र अजम्बरी सृजना प्रस्तुत गर्नुभएको छ । उहाँद्वारा सिर्जित मूर्तिहरू मठ, मन्दिर, बिहार, गुम्बाहरूमा पुजिँदै आएको र विश्वको प्रख्यात भिक्टोरिया एण्ड अल्बर्ड म्युजियमसहित विभिन्न मुलुकमा पुगिसकेको जानकारी पाएर अत्यन्तै खुसी लागेको छ ।’’
उपराष्ट्रपति यादवले मूर्ति बनाएरै देशविदेशमा समेत लोकप्रिय हुनुभएका मूर्तिकार कुमाले अन्य कलाकारहरूका लागि पनि प्रेरणा र उत्प्रेरित गर्ने व्यक्तिको रूपमा स्थापित हुनु भएको पनि स्पष्ट पार्नुभयो । उहाँले मूर्तिकार कुमालेले मूर्ति बनाएर पनि जीवनयापन गर्न सकिन्छ भन्ने दृष्टान्त पेस गरेको भन्दै खुसी व्यक्ति गर्नुभयो ।
‘‘उहाँको यो महत्त्वपूर्ण योगदान र ऐतिहासिक कार्य सिङ्गो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय पनि हो । मूर्तिकार कालु कुमालेद्वारा सिर्जित मूर्तिहरू अवलोकन गर्दा त्यसमा उहाँको मौलिक शिल्पहरू प्रशस्तै देख्न सकिन्छ । क्रोधकलामार्फत उहाँले केही फरक र रैथाने संस्कृति, मूल्य, आदर्श र परम्परालाई स्थापित गर्नुभएको छ । क्रोधकलाको असली पारखी भएरै उहाँका मूर्तिहरूमा क्रोध, आक्रोश देखिएयता पनि उद्धार र सहिष्णभावहरु पनि सजिलै नियाल्न र अवलोकन गर्न सकिन्छ । यो भनेको उहाँको प्रयोगशील सोच र अद्वितीय कला प्रदर्शन गर्ने भोककै उपज हुनुपर्दछ ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘चित्रभाषा बुझ्नेहरूले कलाकार कालु कुमालेले सृजना गरेको मूर्तिहरूमा उहाँको हृदय र मस्तिष्क दुवैको समान्जष्यता दुवै भेटाउन र पाउन सक्छ । मूर्ति बनाएरै जीवनयापन गर्न सक्छु भन्ने विश्वास नभएका व्यक्तिले अनगिन्ती मूर्तिहरू बनाउन सफल हुनु चानचुने विषय हुँदै होइन । तिनै मूर्तिहरूका कारण उहाँ लोकप्रिय हुनुहुन्छ । देशविदेशका मानिस उहाँलाई भेट्न आउने गर्दछन् । यो अन्यका लागि प्रेरणादायी र उत्प्रेरित गर्ने खालको विषय पनि हो । अझ गरिब किसान परिवारमा जन्मिएर पनि आफ्नो धैर्य र लगनशीलताले शिखर चुम्न सकिँदो रहेछ भन्ने तथ्यको एउटा साक्षात् र ज्वलन्त उदाहरण पनि उहाँ बन्नुभएको छ । मूर्तिकार कालु कुमालेजस्तो महत्त्वपूर्ण स्रष्टा, सृजनाकार, कलाकार र व्यक्तित्वलाई हामी सबैले सम्मान गर्दै उहाँका अद्वितीय कलाको संरक्षण र प्रवर्द्धन गर्न सक्नुपर्दछ ।’’
उपराष्ट्रपति यादवले कुमालेले मूर्तिकलाको माध्यामबाट गरिब किसान परिवारमा जन्मिएर पनि धैर्य र लगनशील भए सफलताको शिखर चुम्न सकिन्छ भन्ने उदाहरण पेस गर्नुभएको पनि उल्लेख गर्नुभयो ।