गोरखापत्र अनलाइन
काठमाडौं, असोज ९ गते । नेकपा (एमाले) बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बन्दसत्र जारी छ । प्रदेश अध्यक्षमा पाँच जना आकाङ्क्षी रहेको एमाले नेताहरूले बताउनुभएको छ ।
अध्यक्षमा केशव पाण्डे, सानुकुमार श्रेष्ठ, कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल र रचना खड्का आकाङ्क्षी रहनुभएको निर्वाचन समितिका सदस्य शेरबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार गुरु बरालको अध्यक्षतामा गठित निर्वाचन समितिमा सदस्यहरू शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बास्कोटा, कमल चौलागाइँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रचना गुरुङ हुनुहुन्छ ।
राजनीतिक, साङ्गठनिक, आर्थिक र आगामी कार्ययोजनासम्बन्धी प्रस्तुति गरिएको छ । आज दिउँसोबाट समूहगत छलफल जारी रहेको पनि उहाँले जानकारी दिनुभयो ।
उहाँले नेतृत्व चयन सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक प्रक्रियाअनुसार स्वतन्त्र प्रतिस्पर्धा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सहमति भयो भने भयो, नभए विधि प्रक्रियामा जान्छ । केन्द्रीय नेतृत्वको आशीर्वाद पनि हुँदैन । स्वतन्त्रपूर्वक हुन्छ ।” यस्तै, एमाले नेतृ रचना खड्काले सर्वसम्मतिमा नेतृत्व चयनको प्रयास भएको बताउनुभयो ।
खड्काले भन्नुभयो, “सकेसम्म सहमतिबाट नभए लोकतान्त्रिक प्रतिस्पर्धामा जाने कुरा भएको छ । सर्वसहमतिको पनि प्रयास जारी छ ।”