• १५ जेठ २०८१, मङ्गलबार

‘कृषि र पर्यटनलाई प्राथमितामा राखेका छौँ’

blog

बाजुरा जिल्लाको सदरमुकाम रहेको बडीमालिका नगरपालिका साविकाका मार्तडी, जुगडा र बुडीगङ्गा गाउँ विकास समिति समेटेर बनाइएको हो । प्रसिद्ध धार्मिकस्थल बडीमालिका माताको नामबाट नामाकरण भएको यो नगरपालिकामा ९ वटा वडा छन् । घरधुरी संख्या दुई हजार ७६५ र जनसंख्या १८ हजार २०७ रहेको छ । यो पालिका बाजुराका अन्य पालिका भन्दा व्यवस्थित र सूचनाको पहुँच पुगेको नगरपालिको हो । सडक, शिक्षा, स्वास्थ्य स्वरोजगारी र सूचना प्रविधि गरेर पाँच ‘स’ लाई प्राथमिकतामा राखेर ‘समृद्ध नगर खुसी नगरबासी’ को नारा साकार पार्ने अभियान सुरु गरिएको छ । नेकपा (एमाले) का युवा नेता एवं सञ्चारकर्मी अमरबहादुर खड्का नगर प्रमुख हुनुहुन्छ । प्रस्तुत छ, नगरप्रमुख खड्कासँग गोरखापत्रका लागि मार्तडी समाचारदाता सङ्गीता तिमिल्सेनाले गरेको कुराकानी–ः

नगरपालिकामा निर्वाचित भएको लगभग डेढ बर्ष भयो ? तपाईको डेढ वर्षको कार्याकाल कसरी बित्यो ?

स्थानीय तहले गर्ने कामहरु, नीतिगत कुराहरु विकास निर्माणका सवाल र जनतालाई सेवा प्रवाहका हिसाबले कार्यक्षेत्रभित्र रहेको कामलाई प्रभावकारी ढङ्गले कसरी सञ्चालन गर्न सकिन्छ ? भन्ने कुरा यो डेढ वर्षको अवधिले सिकाएको छ । 

राजनीतिकर्मी भएर जनताको सेवा गर्दा र जनप्रतिनिधि भएर सेवा गर्दा के फरक पाउनुभयो ?

हिजो हामी कार्यक्रम देखाउने, समस्या दर्शाउने, अरुलाई प्रश्न गर्ने ठाँउमा थियौँ भने अहिले जनताका कामको कार्यान्वय गर्ने ठाँउमा छौँ, आफूले राजनीति गर्दा देखेका सपना पूरा गर्ने स्थानमा पुगेका छौँ, यसले आफ्नो सेवाप्रति अझै जिम्मेवार बनाएको महसुश गरेको छु स्थानीय तहले गर्ने कामहरु, नीतिगत कुराहरु आफ्नो क्षेत्राधिकार भित्र रहेर कार्यान्वयन गर्ने प्रयासमा छौँ ।  

तपाई निर्वाचित भइसकेपछि स्वास्थ्य क्षेत्रमा गरेका सुधारका कामहरु के के हुन् ?

नगरबासीको स्वस्थ स्वास्थ्य नै धन हो, नागरिकको स्वास्थ्य राम्रो भएन भने जिवीकोपार्जन लगायत विषयमा समस्या हुन्छ । हामीले पदभार ग्रहण गर्ने बित्तिकै आपतकालीन निःशुल्क एम्बुलेन्स सेवा, जिल्ला बाहिर रिफर गरिएका बिरामीलाई आर्थिक सहयोग गर्ने निर्णय गरेका थियौँ । यो वर्ष न्युन आय भएका दुई सय घर परिवारका लागि बिमा कार्यक्रमको नीति लिएका छौँ । नगरप्रमुखसँग चिकित्सक कार्यक्रमका लागि बजेट बिनियोजन गरिसकेका छौँ । जिल्ला अस्पतालसँग समन्वय गरेर न्युन आय भएकालाई निःशुल्क उपचार सेवा र दीर्घरोगीलाई घरघरमै स्वास्थ्य सेवा प्रवाह गरिरहेका छौँ । 

यो अवधीमा शिक्षा क्षेत्रमा के कस्ता कामहरु भएका छन् ?

बडीमालिका नगरपालिका अन्यभन्दा शिक्षामा बढी पहुँच भएको पालिका हो । यसलाई व्यवस्थित गर्न र गुणस्तरिय बनाउन हामीले विषयगत शिक्षक तयार गर्नेदेखि, शैक्षिक गुरुयोजनाका आधारमा विद्यालय समायोजनका कार्यक्रम गरेका छौँ । आगामी वर्षबाट आवासीय विद्यालय बनाउनका लागि प्रदेश र सङ्घ सरकारसँग समन्वय गरिरहेका छौँ । शिक्षकलाई क्षमता विकास तालिम प्रदान गरेका छौँ । मालिका माध्यामिक विद्यालय र सत्यवादी माध्यामिक विद्यालयलाई प्रविधिमैत्री बनाएका छौँ । विद्यालयमा इ –हाजिरीको व्यवस्था गरेका छौँ । 

सरसफाईको क्षेत्रमा के के काम गर्नुभयो ? स्वास्थ्य सरसफाईमा आगामी योजना के–के छन् ?

बजारक्षेत्रको नाला नियमिततरुपमा सरसफाई गर्न दुई जना कर्मचारी नियुक्त गरेका छौँ । पछिल्लो अवस्थामा बजार सरसफाई, ट्राफिक व्यवस्थापन, बसपार्कको व्यवस्थापन लगायतका विषयमा उद्योग वाणिज्य सङ्घ, हाटबजार व्यवस्थापन, निर्माण व्यवसायीसँग छलफल गरेर नियमित कार्यक्रम गरिरहेका छौँ । 

यो नगरपालिका कृषि उत्पादनका लागि उपयुक्त पालिका हो, यहाँ सबै किसिमका बालीहरु उत्पादन हुन्छन्, यसलाई बढवा दिन नगरपालिकाले कसरी सब्वोधन गरिरहेको छ ?

कृषिलाई प्रमुख मुद्दा बनाउनका लागि कृषकलाई वर्गिकरण गरेका छौँ । जसले गर्दा व्यवसायिक कृषकलाई पहिचान गर्न सहज भएको छ । किसानले उत्पादन गरेका बस्तुहरु बजारमा बिक्री नहुने अवस्था भएकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएका छौँ । प्रत्येक वडामा कृषि उपज सङ्कलन केन्द्र र कृषि एम्बुलेन्स मार्फत उत्पादन बजार पुर्याउने योजना ल्याएका छौ । सदरमुकाममा कोल्ड चेम्बर निर्माण गर्ने योजना अनुरुप ठेक्कमा प्रक्रिया अगाडि बढीसकेको छ । स्थानीय कोदोको बिस्कुट बनाउने योजना बनाएर २० लाख रुपियाँ बजेट बिनियोजन गरेका छौँ । अमिला जातका फलफुलहरु लगाउने अभियान सुरु गरेका छौँ । कृषि उत्पादन र प्रशोधनलाई प्राथमितामा राखेर कार्यक्रम अगाडि बढाएका छौँ । 

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न नगरपालिकाले के कस्ता कार्यक्रमहरु ल्याएको छ ?

धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकाको संरक्षणका लागि ‘बडीमालिका यात्रा वर्ष’ भनेर सुरु गरेको कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएका छौँ । बडीमालिका र त्रिवेणी नगरपालिकाको सक्रियतामा बडिमालिका विकास समिति बनाउने योजनामा छौँ । बडीमालिकाक्षेत्रमा पदमार्ग, खानेपानीका संरचना, शौचालय, विश्रामस्थल बनाउने तयारी भइरहेको छ । पर्यटन दूत नियुक्त गरेर आवश्यक सल्लाह अनुसार अगाडि बढेका छौँ । हिउँमा स्कि खेल्ने, साइकलिङको सम्भाव्यतालाई अध्ययन गरेर जीविकोपार्जनसँग जोड्ने योजना अघि सारेका छौँ । होमस्टे निर्माण गर्ने तथा कृषि र पर्यटन विकासका लासग सम्भाव्यता अध्ययन गरेर बजेट र नीति निर्माण गर्ने काम भइरहेको छ । 

भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा नगरपालिकाले के–के काम गरेको छ ?

नगरपालिकाले पालिकाको भवनमा तला थपेको छ । वडाका संरचनाहरु निर्माण गरेको छ । सहरी स्वास्थ्य केन्द्र बन्न बाँकी रहेका वडामा सहरी स्वास्थ्य केन्द्रका भवनहरु निर्माण भइरहेका छन् । सडक सञ्जाल नपुगेका वडाहरुमा सडकको पहुँच पुरयाउने काम तिव्र गतिमा अगाडि बढीरहेको छ । 

विकासका कार्यक्रमहरु गर्दा मुख्यरुपमा आउने चुनौतीहरु के के हुन् ?

तीनवटा सरकारका रुपमा रहेका तीनवटा सरकारबीच समन्वयको पाटो नीतिगत हिसाबले मुख्य चुनौतीको रुपमा छ । अहिले सङ्घ र प्रदेश सरकारले स्थानीय तहलाई जुन दृष्टिकोणबाट हेरिरहेको छ, त्यसले गर्दा आमरुपमा साझा अधिकार र एकल अधिकारको बीच हामीलाई असहज भइरहेको छ । अन्य पालिकाभन्दा सदरमुकामको नगरपालिकाले भौतिक संरचना, पूर्वाधार विकासमा तिव्ररुपमा अगाडि बढाउनुपर्ने हुन्छ । तर बजेटको सीमितता र सङ्घ तथा प्रदेश सरकारले समन्वय नगरिदिने भएकाले काम गर्न असहज भएको छ ।