• १९ असोज २०८१, शनिबार

अपर तामाकोशीको हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन

blog

अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड

काठमाडौं, असोज १८ गते । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरुबाट हकप्रद शेयरबापतको ७८ प्रतिशत रकम सङ्कलन भएको छ ।

दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीले गत भदौ १८ गतेदेखि शेयरधनीहरुलाई १ कित्ता शेयर बराबर १ कित्ताको प्रति शेयर १०० रूपियाँ अङ्कित दरको हकप्रद शेयर निश्कासन गरिरहेको छ ।

कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि.(नेपाल टेलिकम), नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद शेयर बापतको रकम शतप्रतिशत चुक्ता गरिसकेका छन् । संस्थापकहरुले ५ अर्ब ४० करोड नौ लाख रुपियाँ चुक्ता गरेका हुन् ।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणहरुबाट पाँच अर्ब १९ करोड ९१ लाख रुपियाँ चुक्ता हुनुपर्नेछ । मङ्गलबारसम्ममा सर्वसाधारण शेयरधनीबाट दुई अर्ब ८३ करोड अर्थात् ५५ प्रतिशत रकम सङ्कलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले बताउनुभयो ।

गौतमले भन्नुभयो, ‘‘संस्थापकबाट शतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम सङ्कलन भइरहेको छ, शेयर भर्ने स्थानहरुमा व्यापक भीडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रुपमै रकम सङ्कलन हुने देखिएको छ ।’’ हकप्रद शेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म छ ।

१० अर्ब ५९ करोड रुपियाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २÷२ प्रतिशत संस्थापक शेयर छ । सेयर स्वामित्वअनुसार, प्राधिकरणले चार अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख÷२१ करोड १८ लाख रुपियाँ हकप्रद शेयर बापतको रकम चुक्ता गरिसकेका छन् ।

कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण शेयर स्वामित्व छ । सर्वसाधारणतर्फबाट पाँच अर्ब १९ करोड ९१ लाख रुपियाँ चुक्ता हुनुपर्नेछ ।

यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले एक अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले एक अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले एक अर्ब पाँच करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुले ३० करोड ४९ लाख ९२ हजार रुपियाँ हकप्रद शेयरबापत चुक्ता गर्नुपर्नेछ । हकप्रद शेयरबापतको रकम सङ्कलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपियाँ पुग्नेछ ।