• २५ भदौ २०८१, मङ्गलबार

‘मास प्रिन्टर’ खरिदका लागि बोलपत्र आह्वान

blog

फाइल तस्बिर ।

काठमाडौँ, असोज २५ गते । यातायात व्यवस्था विभागले स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने ठुलो क्षमताको मेसिन (मास प्रिन्टर) खरिदका लागि चौँथो पटक बोलपत्र आह्वान गर्न लागेको छ । 

तीन पटकसम्म बोलपत्र आह्वान गरिए पनि उपयुक्त आवेदन नपरेपछि पुनः आह्वान गर्न लागिएको विभागले जनाएको छ । तेस्रो पटकमा आवेदन परे पनि प्राविधिक रूपमा सफल नभएकाले पुनः बोलपत्र आह्वान गरिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताउनुभयो । उहाँका अनुसार यस वर्ष बजेट विनियोजन भएकाले पुनः आह्वान हुनेछ ।

“विभागले आह्वान गर्दा उपयुक्त आवेदन नआएको र आमुख कम्पनी वा व्यक्तिका लागि मिल्ने गरी गर्ने नभएकाले पुनः बोलपत्र खुलाउन लागिएको हो”, पनेरुले भन्नुभयो, “हाम्रो मेसिन स्पेसिफिकेसन अनुसारको हुनुपर्छ । फेरी चौँथो पटक पनि परेन भने पुनः आह्वान गर्ने हो ।” हाल सञ्चालनमा रहेको प्रिन्टर जस्तै नयाँ प्रिन्टर खरिद गर्न लागिएको भन्दै उहाँले दुई प्रिन्टर फरक भएमा कार्डको गुणस्तरमा पनि फरक पर्ने भएकाले एकै किसिमको खरिदका लागि बोलपत्र आह्वान गरिएको बताउनुभयो ।

पनेरुले भन्नुभयो, “कार्डको गुणस्तर उस्तै बनाउन पनि समान किसिमको उपकरण आवश्यक हुन्छ ।” उहाँका अनुसार हाल विभागमा एउटा ‘मास प्रिन्टर’ सञ्चालनमा छ । उक्त प्रिन्टरको क्षमता दैनिक चार हजार पाँच सय छपाइ गर्ने रहेको छ । बागमती प्रदेशले अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू गरेसँगै लाइसेन्स धेरै छाप्नुपर्ने भएपछि नयाँ प्रिन्टर खरिद प्रक्रिया अघि बढाइएको उहाँको भनाइ थियो ।

आव २०७३/७४ मा बोलपत्रमार्फत सात लाख ५० हजार अनुमतिपत्र छाप्नका लागि चार थान छपाइ मेसिन खरिद गरिएको थियो । उक्त मेसिनको क्षमता प्रतिघण्टा ६० अनुमतिपत्र छाप्न सक्ने थियो । विभागले वि.सं.२०७६ मा धेरै सङ्ख्यामा एकै पटक छाप्न सक्ने मास प्रिन्टर खरिद गरेको थियो । उक्त मेसिन अहिले विभागमा सञ्चालनमा छ । 

यातायात कार्यालय प्रदेश सरकारअन्तर्गत भए पनि चालक अनुमतिपत्र छपाइएको काम हालसम्म विभागले गरिरहेको छ । चालु आवमा भने केही प्रदेशले पनि छपाइ उपकरण खरिदको योजना बनाएका छन् । “देशभरमा एकरुपता कायम गर्न विभागमा भएको जस्तै अनुमतिपत्र छाप्ने प्रिन्टर खरिद गर्न सबै प्रदेश कार्यालयलाई भनेका छौँ”, विभागका प्रवक्ता पनेरुले भन्नुभयो । रासस